छुवाछुतविरुद्ध जनचेतना जगाउने तीज गीत 'वर्षदिन बितेको...' (भिडियोसहित)



  • नारायण शर्मा

दलितलाई हेर्ने नजर गर्ने व्यवहार

कहिल्यै पनि सुध्रिएन यो समस्या

कोही भलादमी भन्दै हिँड्छ्न पढियो लेखियो

तिनमा पनि कूरीतिको जरा भेटियो....

जसको श्रमबिना मान्छे बाच्नै सक्दैन, उसको श्रम चल्छ, सीप चल्छ तर कस्तो बिडम्बना उसले छोएको पानी चलाउँदैन मान्छे !

२१औँ सताब्दीको यो वैज्ञानिक युगमा पनि नेपाली समाज भने १६औँ सताब्दीको मध्ययुगीन कालको झल्को दिने छुवाछुत र जातिय विभेद जस्तो कूप्रथा बोकेर बाचिरहेको छ ।

युग फेरियो, ब्यवस्था फेरियो, देशमा गणतन्त्रको स्थापना भैसक्यो तर जातिपाती छुट्टाएर छुत-अछुत बनाउने घिनलाग्दो चलन अझै फेरिन सकेको छैन हाम्रो समाजमा । अरु त अरु, आफूलाई पढे लेखेका शिक्षित भनेर चिनाउन रुचाउनेहरुकै दिल दिमाग भित्र समेत छुवाछुतको कूप्रथाले जरा गाडेर बसेको देखिन्छ ।

डिग्री हासिल गरेर शिक्षित देखिनु र वास्तविक ज्ञान हासिल हुनु यी दुई फरक कुरा रहेछ्न । डिग्री बोक्दैमा कोही मान्छे सचेत नहुँदो रहेछ । डिग्रीको सर्टिफिकेट बोकेका आफूलाई शिक्षित बताउने ब्यक्तीहरुमै पनि छुवाछुत र जातिय विभेदको व्यवहार देखिन्छ भने त्यस्तालाइ कसरी शिक्षित मान्नु ? उनहरुले किताबी ज्ञान त हासिल गरे तर आफ्नो दिमाग भित्र डेरा जमाएर बसेको कुरिती र कूसंस्कारलाई बदल्न सकेनन् ।

त्यसैले नै छुवाछूत जस्तो कूप्रथा हाम्रो समाजमा अहिलेसम्म जिवितै रहेको छ । सामाजिक कलङ्कको रुपमा रहेको छुवाछुतको कूप्रथाकाविरुद्ध केन्द्रित भएर 'बर्ष दिन बितेको' बोलको नयाँ तीज गीत बजारमा आएको रहेछ ।

गीतमा जातकै कारण ज्यानै गमाउनु पर्ने, अपहेलित, अपमानित र तिरष्कृत हुनु पर्ने अवस्थाको अन्त्य गर्न सशक्त आवाज उठाउन आव्हान गरिएको छ ।

जातकै कारण कतिको ज्यानै समेत गैसक्यो

केही त गरौँ अब त अति भैसक्यो

कति गरौँ भर्त्सना कति विरोध गर्ने हो

कानुनलार्इ व्यवहारमा ल्याउनै पर्ने भो....

हाम्रो संविधान र कानुनले छुवाछुत र जातिय विभेदलाइ दण्डनिय अपराध मानेको छ । तर कानुनमा उल्लेखित उक्त कुरा अझै व्यवहारिक कार्यान्वयनमा आउन सकेको छैन । जातकै कारण ज्यान गुमाउनु परेका धेरै दृष्तान्तहरु हाम्रा अगाडि छन ।

जेठ महिनामा रुकुमको चौरजहारीमा नरसंहारको जुन घटना घट्यो त्यसको आन्तरिक कारण जातिय विभेद र छुवाछुतको कूप्रथा नै थियो । नवराज बिक दलित समुदायका युवक भएकै कारण उनको पवित्र प्रेमलाई त्यहाँको आफूलाइ कथित उच्च जात सम्झनेहरुले स्वीकार गर्न नसकेका हुन ।

आफूलाई कथित उच्च जात सम्झँनेहरुको मन भित्र रहेको जातिय अहंकारी भावनाले नै त्यो नरसंहारकारी जघन्य हत्याकाण्ड निम्त्याएको हो । बिडम्बना पनि कस्तो भने आफूलाई कम्युनिस्ट भन्न रुचाउनेहरुको आधार इलाकामै जातियताका आधारमा त्यस्तो अमानवीय आततायी घटना घट्यो ।

कम्युनिस्टहरु त्यस्ता कदापी हुदैनन । त्यो ठाउँमा कम्युनिस्ट संस्कार र संस्कृतिको विकास हुन नसकेको प्रस्ट देखियो । जननिर्वाचित वडाध्यक्ष नै त्यो जघन्य हत्याकाण्डका मुख्य योजनाकार देखिए ।

सुनिदैछ अहिले त्यो घटनामा सङ्लग्न भएकाविरुद्धको मुद्दालाई कमजोर बनाउन राजैतिक उच्च तहबाटै ठूलो चलखेल चलिरहेको छ । त्यस्ता चलखेललाई निस्तेज पार्न सशक्त खबरदारीपूर्ण आन्दोलन अत्यावश्यक देखिएको छ ।

संयुक्त राजनैतिक दलित संघर्ष समितिले त्यो आन्दोलन उठानको प्रयत्न पनि गरिरहेको छ । छुवाछुत जस्तो कुप्रथाकाविरुद्ध चल्ने आन्दोलनलाई ऊर्जा प्रदान गर्ने खालको गीत छ 'वर्षदिन बितेको ।'

गीतमा छुवाछुत जस्तो कूप्रथा र भेदभावविरुद्धमा एकताबद्ध भएर संघर्षको मार्गमा अघि बढ्न अपिल गरिएको छ ।

कति बस्नु हेपिएर थिचोमिचो सहेर

लडौँ अब सबै दलित एकजुट भएर

चाहे दलित पाहाडीहोस चाहे दलित,मधेसी

पछि कहिल्यै हट्नु हुन्न अघि बढेसी.....

हेपिएका, च्यापिएका , थिचिएका , मिचिएका र उत्पीडनमा पारिएका सबै दलितहरु एकजुट भएर अघि नबढ्दासम्म समाजको भित्री तहसम्म जरा गाडेर बसेको यो छुवाछुतको कूप्रथा हट्ने छैन ।

शोषित पिडीतजनहरु एकजुट हुन नसकुन भनेर नै सामन्ती सत्ता सञ्चालकहरुले समाजमा जातियताको पर्खाल, क्षेत्रीयताको पर्खाल खडा गरेका हुन् । जनता म ठूलो जात त सानो जात भनेर एक आपसमा लडिरहुन, आफूले सत्तामा बसेर तर मारिरहन पाइयोस भन्ने कुनियतका साथ नै पहिलेका सामन्ती शासकले यो जातिय भावनाको समाजमा बिजारोपण गरेका हुन ।

समानता र समतामुलक समाज स्थापना गर्न चाहने हरेक सचेतजनले सामन्ती प्रणाली सिर्जना गरेको उक्त जातियताको पर्खाल भत्काएर अगाडि बढ्नु पर्छ । त्यो ब्राह्मणवादी सोच, त्यो सामन्ती संस्कार, केवल बाहुन र क्षेत्री-ठकुरी लगायतका आफूलाई उच्च सम्झने जात भित्र मात्र निहित छ भन्ने होइन ।

त्यो त पहिलेका शासकहरुले आफ्नो सत्ताको आयु लम्ब्याउन शोषित पिडीत जनता एकजुट भएर आफ्नाविरुद्धमा आउन नसकुन, एक आपसमा लड्दै अल्झिरहुन भनेर बनाएको बेतुकको कुनियम मात्र हो ।

त्यो कुनियम हरेक जातभित्र रहेको हुन सक्छ । हामी देख्छौँ दलित समुदायभित्रै पनि छुवाछुत प्रथा कायम छ । दलित समुदायलाई एकजुट हुन नदिन पहिलेका शासकहरुले उनीहरुको मस्तिष्कमा घुसाइदिएको ब्राह्मणवादी सोचका कारण नै दलित समुदायभित्र पनि एकले अर्को थरलाइ सानो र आफूलाइ ठूलो ठानेर व्यवहार गर्ने परिपाटी विकास भएको हो ।

दलित समुदायले पहिले त आफूभित्रको एकतालाई दरिलो पार्नु पर्दछ । आफूलाई कमजोर पार्न, एकजुट हुन नदिन शासकहरुले सिर्जना गरिदिएको कथित ठूलो जात र सानो जातको भ्रमको पर्खाल तोडेर उनीहरुको अगाडि आउनु पर्दछ । के मधेसी, के पहाडी हरेक ठाउँमा बस्ने दलित समुदायका पीडा र ब्यथा उस्तै हुन ।

सबै स्थानमा बस्ने दलितहरु एकजुट भएर संघर्षको मैदानमा निरन्तर उत्रिरहनु पर्दछ । सहनुको पनि सिमा हुन्छ भन्छ्न, दलित समुदाय माथी जे जसरी थिचोमिचो र अत्याचार बढ्दै गैरहेको छ अब यो कदापी सहेर बस्नु हुन्न । जति सहियो अत्याचार उति बढ्दै जानेछ ।

दलित समुदाय भित्र मात्र होइन अन्य जात जाती भित्र पनि त्यसरी शोषित-पिडित भएका, अन्याय अत्याचारमा परेकाहरुको सङ्ख्या ठूलो छ । शोषित पिडीत हरेक जात भित्रका मानिसहरु एकजुट हुनु पर्दछ ।

त्यसरी एकजुट भएर आन्दोलनमा निरन्तर अघि बढियो भने मात्र हामीले आफ्ना हक र अधिकारहरु व्यवहारमै उपभोग गर्न पाउने दिन आउनेछ्न । तिज गीत 'वर्ष दिन बितेको'ले मुलतः त्यहीँ भाव र सन्देश बोकेको देखिन्छ ।

गीतमा शब्द र सङ्गीत चर्चित सङ्गीत संयोजक बिबि अनुरागीको रहेको छ । विविध नेपाली मिडिया युटुब च्यानलबाट २०७७ साउन ६ मा सार्वजनिक भएको यो गीतमा स्वर सीता रसाइली बिश्वकर्माले दिएकी छिन ।

गीतको भिडियो निर्देशन शङ्कर बिसीले र सम्पादन नवीन घर्ती मगरले गरेका छ्न । हाल रोजगारीको सिलसिलामा अस्ट्रेलियामा रहेकी गायिका सीता रसाइलीको रिकर्डेड सम्भवत यो नै पहिलो गीत होला । यस भन्दा अघि उनको स्वरमा कुनै गीत सुनिएको थिएन ।

तर, यो गीत सुन्दा उनको गायनमा पहिलोपन भने कतै झल्किदैन । पाकोपन छ स्वरमा । नेपालको बागलुङ जन्म घर रहेकी गायिका सीता रसाइली प्रगतिशील गीत संगीतको वातावरणमा हुर्किइन् ।

आफ्नै स्वरमा चेतनामुलक गीत रिकर्ड गर्ने धोको भने उनले अहिले मात्र पूरा गर्न सकिन तीज गीत 'वर्ष दिन....' मार्फत । यो उनकै लगानीमा निर्माण भएको गीत हो ।

नवगायिका सीता भन्छिन्,'बिबी अनुरागी दाइले मेरो व्यक्तित्व र भावना, रुकुम नरसंहार लगाएतका जातिय विभेदका घटनामाथि केन्द्रित भएर गीतका हृदयस्पर्शी शब्द, सिर्जना गर्नु भयो । अनि उस्तै मीठो सङ्गीत भरिदिनु भयो । शङ्कर बिसीजीले पनि उस्तै मेहेनत गरेर भिडियोको निर्देशन गरिदिनु भयो । अन्जली अधिकारी, बन्दना नेपाली, उत्साह घिमिरे लगायतका कलाकारले सहयोग गरेकाले यो गीत दर्शकसामू ल्याएको छु ।'

विदेशमा बसेर पनि गीत ल्याउन सकेकोमा हर्षित भएको उनले बताइन्, 'आफ्नो जन्मभूमिदेखि सात समुन्द्र पारी बिरानो ठाउँमा रहेर पनि छुवाछुत जस्तो कुप्रथाकाविरुद्ध एउटा जनचेतनामुलक गीत दर्शक श्रोता समक्ष ल्याउन पाएकोमा म अत्यन्तै हर्षित छु । जातिय विभेद र छुवाछुतविरुद्धको अभियानलाई उत्साह थप्न सात समुन्द्र पारीबाट मैले गरेको सानो प्रयत्नमात्र हो यो गीत ।'

गायिका सीता रसाइलीले आफूलाई यो गीत निर्माणमा अष्ट्रेलियामै समीर सुनार र अन्य बहिनीहरुको अमूल्य सहयोग रहेकोसमेत उनले बताइन् ।

यस गीतले समतामुलक समाज निर्माणको अभियानमा ऊर्जा भर्ने अपेक्षा राख्न सकिन्छ । पूँजीवादी बजारमा यस्ता सन्देश र चेतनामुलक गीतहरुको चर्चा कम हुन सक्ला तर यो तीज गीतले दीर्घकालसम्म महत्व राखिरहने छ ।

यस्ता खालका चेतनामुलक गितहरु कहिल्यै पुरानो हुदैनन । यो गित मुलतः छुवाछूत र जातिय विभेदविद्धमा रहेको छ । देशमा पछिल्लो समयमा जातिय विभेदका कैयौँ घटनाहरु घटेका छन । ती घटनाका दोषीलाई कारबाहीको मागगर्दै ठूला ठूला आन्दोलनहरु पनि भएका छ्न ।

यो गीतको भावले दृष्याङ्कन गर्दा ती घटना र आन्दोलनका फुटेजहरु माग गरेको देखिन्छ । तर भिडियोमा त्यस्ता फुटेज देखिदैनन्, विशुद्ध नृत्य मात्र देखिन्छ । नृत्यमा कुनै खोट दिने ठाउँ छैन ।

तर ती घटना र आन्दोलनका फुटेजहरु राखेको भए अझ सुनमा सुगन्ध हुन्थ्यो भन्ने मलाइ लाग्छ । झट्ट शीर्षक हेर्दा यस्तो गम्भीर विषयबस्तु बोकेको गीत होला भनेर सोच्न सकिँदैन ।

गीतको भाव अनुसारको शीर्षक राखेको भए अझ राम्रो हुन्थ्यो । समग्रमा गायिका सीता रसाइली बिश्वकर्माको यो पहिलो गीत जातिय विभेदकाविरुद्धमा चेतनामूलक गीतको रुपमा आएको छ ।

गीत निकै राम्रो बनेको छ । आगामी दिनमा पनि यस्तै चेतनामुलक, सन्देशमुलक गीतहरुले निरन्तरता पाउन । यो गीत सफलताको हार्दिक शुभकामना ।

(लेखक : रक्तिम सांस्कृतिक आन्दोलनमा आवद्ध कलाकार तथा पत्रकार हुन्)

 




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन २ गते, शुक्रबार

menu LIVE TV