खेलाडीको हकहितका लागि संसद्‌मा आवाज उठाउँछुः सभापति देउवा


SHARES

काठमाडाैं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले खेलाडीको हकहितका लागि संघीय संसद्‌मा आवाज उठाउने बताएका छन् । गत वर्ष नेपालमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकूद (साग) मा स्वर्ण पदक विजेता खेलाडीका लागि पार्टीको केन्द्रीय खेलकूद विभागले शुक्रबार सानेपामा आयोजना गरेको सम्मान कार्यक्रममा उनले खेलाडी देशको गहना र शान भएको उल्लेख गरे ।

सभापति देउवाले कांग्रेसको सरकार भएका बेला खेलाडीका लागि आवश्यक पहल गर्ने आश्वासन दिए । विगतमा पनि कांग्रेसले सरकारको नेतृत्व गरेको बेला खेलाडीको हितमा काम गरेको स्मरण गराउँदै उनले खेलाडीले नै विश्वमा नेपालको इज्जत र प्रतिष्ठा बढाएको बताए । आफ्नो संक्षिप्त मन्तव्यमा सभापति देउवाले १३औं सागमा नेपाली खेलाडीले उत्कृष्ट खेल प्रदर्शन गरेकामा उनीहरुको प्रशंसा गरे । खेलाडीले देशको गौरव बढाउन खेल्ने भन्दै उनले हरेक नागरिक स्वस्थ रहन खेलकूद आवश्यक भएको उल्लेख गरे । कांग्रेस सधैँ खेलाडीको पक्षमा रहेको बताउँदै उनले केही अप्ठेराहरु भए खेलाडीको पक्षमा लाग्न आफूले सरकारलाई दबाब दिने बताए ।

कोरोना भाइरसको सङ्क्रमणका बेला खेलाडी आफू स्वस्थ रही देशलाई नै स्वस्थ बनाउन भूमिका निर्वाह गर्न उनले सम्पूर्ण खेलाडीलाई आग्रह गरे । कोरोना सङ्क्रमण बढ्दै गएको तर्फ उपस्थित सबैको ध्यान केन्द्रित गर्दै सभापति देउवाले कार्यक्रम आयोजना गर्दा सामाजिक दूरी कायम गर्नुपर्ने बताए । पछिल्लो समय काठमाडौं उपत्यकामा पनि कोरोनाको सङ्क्रमण बढ्दै गएको भन्दै उनले त्यसप्रति सचेत रहन सबैलाई आग्रह गरे ।

सम्मान कार्यक्रममा राष्ट्रिय खेलकूद परिषद् (राखेप) का सदस्यसचिव रमेशकुमार सिलवालले देशको इतिहास बोकेको पार्टी कांग्रेसले खेलाडीलाई सम्झेकामा राखेपका तर्फबाट धन्यवाद दिए । रकम ठूलो होइन सम्मान ठूलो कुरा हो भन्दै उनले देश विदेशमा राष्ट्रिय धुन बजाउन खेलाडीको अहम् भूमिका रहेको उल्लेख गरे । सदस्यसचिव सिलवालले खेलकूद ऐन, २०७७ ल्याउनुअघि संसद्‌मा सांसदहरुले पर्याप्त ध्यान र समय नदिएकामा गुनासो गरे । खेलाडीको हकहितका लागि हाल जारी ऐनमा अझै धेरै कुरा गर्न बाँकी रहेको भन्दै उनले आगामी दिनमा सबैले थप छलफल गर्नुपर्नेमा जोड दिए ।

सम्मानित खेलाडीका तर्फबाट बोल्दै सागमा करातेमा दोहरो स्वर्ण पदक विजेता मण्डेकाजी श्रेष्ठले कोरोना कहरका बीचमा समेत सम्मान गरेकामा सम्पूर्ण खेलाडीका तर्फबाट आयोजकलाई धन्यवाद दिए । खेलाडी एक्लैले पदक प्राप्त गर्न नसक्ने भन्दै उनले आयोजकले खेलाडीसँगै प्रशिक्षकलाई पनि सम्मान गर्न सुझाव दिए । श्रेष्ठले प्रशिक्षक खेलाडीको आमाबुबा भएको आयोजकलाई स्मरण गराए । पछिल्लो समय सरकारले खेलाडीको भविष्यको सुनिश्चितता र विभूषण प्रदान गर्दा सागमा पदक प्राप्त गर्ने सबै खेलाडीलाई नसमेटेकामा गुनासो गरे । नवौं सागपछि विभूषण प्रदान गर्ने क्रममा तथा जागिर दिलाउनमा कन्जुस्याइँ गरिँदै आएको प्रति श्रेष्ठले असहमति प्रकट गरे । पदक जितेको केही महिनासम्म सम्मान गर्ने र पछि खेलाडीलाई सबैले बाई बाई गर्दै आएको परिपाटी चित्तबुझ्दो नभएको उनको भनाइ थियो ।

कांग्रेस खेलकूद विभागले चार स्वर्ण जित्नेलाई रु २५ हजार, दोहोरो स्वर्ण जित्नेलाई रु १५ हजार तथा एउटा स्वर्ण जित्नेलाई रु १० हजार नगद र प्रमाणपत्रसहित खेलाडीलाई सम्मान गरेको हो । सर्वाधिक चार स्वर्ण जित्ने पौडीकी गौरिका सिंहले रु २५ हजार तथा दुई दुई स्वर्ण जितेका करातेका मन्डेकाजी श्रेष्ठ, तेक्वान्दोकी आयशा शाक्य र गल्फ खेलाडी सुवास तामाङले जनही रु १५ हजार प्राप्त गरे ।

सागमा एकल र समूहगत रुपमा स्वर्ण जित्ने कूल ८० खेलाडीलाई सम्मान गरिएको हो । गत वर्ष मंसिर १५ देखि २४ गतेसम्म सञ्चालन भएको १३औं सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कास्यसहित २ सय ६ पदक प्राप्त जितेको थियो । नेपालले व्यक्तिगत र समूहगत गरी १३ खेलमा स्वर्ण पदक जितेको थियो ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल श्रावण २९ गते, बिहीबार

menu LIVE TV