रजत र कास्य पदक प्राप्त गर्नेलाई पनि सम्मान गर्छौंः खेलकूद विभाग प्रमुख बस्नेत « Nagarik Khabar

रजत र कास्य पदक प्राप्त गर्नेलाई पनि सम्मान गर्छौंः खेलकूद विभाग प्रमुख बस्नेत



काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पार्टीको केन्द्रीय खेलकूद विभाग प्रमुख मोहनबहादुर बस्नेतले १३औं सागमा स्वर्ण जित्ने खेलाडीलाई मात्र नभई रजत र कास्य प्राप्त गर्ने खेलाडीलाई पनि विभागले सम्मान गर्ने बताएका छन् । कोरोना भाइरसको सङ्क्रमणलाई ध्यानमा राख्दै शुक्रबार स्वर्ण जित्नेलाई मात्र सम्मान गरिएको उनको भनाइ थियो ।

आत्मसम्मान र प्रोत्साहनका लागि खेलाडीलाई सम्मानित गरिएको बस्नेतले बताए । विभागले टोकियो ओलम्पिक छनोटको तयारीमा रहेका खेलाडी र प्रशिक्षकको कोरोना बीमा गर्ने शुक्रबार आयोजित सम्मान कार्यक्रममा उनले घोषणा गरे । उनले अहिलेको राखेपको नेतृत्वबाट खेलकूदले ठूलो आशा राखेको बताउँदै खेल र खेलाडीको हकहितका लागि कांग्रेसले सधैँ वर्तमान नेतृत्वलाई सघाउने प्रतिबद्धता व्यक्त गरे । सो अवसरमा उनले नेपाल ओलम्पिक कमिटीलाई प्राप्त हुँदै आएको वैदेशिक आर्थिक सहयोगबारे सरकारलाई जानकारी गराउनुपर्ने तथा सहयोग लिनु अघि सरकारको स्वीकृति लिनुपर्ने माग गरे ।

हाल जारी ऐनमा उक्त सहयोग लिँदा सरकारको स्वीकृति आवश्यक नभएको प्रसङ्ग उल्लेख गर्दै बस्नेतले सो व्यवस्थाले खेलकूद ऐनमा गम्भीर त्रुटि भएको बताए । कोरोना भाइरसको सङ्क्रमणका कारण आजको कार्यक्रममा स्वर्ण पदक विजेता २३ खेलाडी अनुपस्थित थिए । उनीहरुलाई सम्बन्धित जिल्लामै सम्मान गरिने प्रमुख बस्नेतले बताए ।

सम्मान कार्यक्रममा कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री डा प्रकाशशरण महत, पूर्वमन्त्री एवं नेता गोपालमान श्रेष्ठ, कांग्रेस केन्द्रीय खेलकूद विभागका उपप्रमुख मोहनकुमार राई, विभागका सचिव मीनकृष्ण महर्जन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका संस्थापक अध्यक्ष एवं ओलम्पियन दीपक विष्ट, संघका अध्यक्ष दीपक श्रेष्ठ, पूर्वसांसद राजीवविक्रम शाह, विभिन्न खेल संघका अध्यक्ष तथा पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: