'जबजलाई देखाएर निरंकुश स्टालिनपथमा प्रधानमन्त्री ओली'

नेकपा विवाद



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको आन्तरिक विवाद उत्कर्षमा छ । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीच निरन्तर छलफल जारी छ । तर समाधान निस्कन सकेको छैन ।

देश कोरोना संकटसँग जुधिरहेका बेला सत्तारुढ दलभित्रको यो विवादलाई विभिन्न रुपमा व्याख्या, विश्लेषण गर्नेक्रम जारी छ । नेकपा फुटतर्फ अग्रसर बन्ने चिन्तापनि धेरैलाई छ । तर पार्टीका शिर्षतहका नेताहरु गुटगत छलफलमै अल्झिरहेको अवस्था छ ।

संकटका बेला सत्तारुढ दलभित्रको विवाद किन ? समाधान होला की नहोला ? आधार के छन ? नेतृत्वको यो अन्तरसंघर्ष पार्टीका नेता कार्यकर्ताले कसरी लिइरहेका छन भन्ने विषयमा नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य हेमराज भण्डारीसँग नागरिकखबरका लागि निम्लेकी शेर्पाले कुराकानी गरेकी छन् ।

नागरिक पीडामा छन्, कोरोना संकटमा नेकपा विवाद, नेताहरुले कसरी हेरिरहनु भएको छ ?

यतिबेला पार्टी भित्र विवाद हुनुहुने थिएन । जनताको मुद्दामा, देशको मुद्दामा देशलाई समृद्ध बनाउने मुद्दामा, समृद्ध नेपाल बनाउने योजनामा त्यो समृद्धि कसरी आउँछ, जनताको समृद्धि, गाउँ वस्तीको झुपडीको समृद्धि कसरी ल्याउन सकिन्छ, देशलाई समाजवादमा लैजाने भनेका छौं, कुन–कुन दृष्टिकोणले हामी समाजवादमा पुग्छौं ? यस्ता व्यवहारिक पक्षमा बहस हुनुपथ्र्यो । तर अहिले बहस त्यो भन्दा भिन्न जस्तो देखिएको छ ।

अघिल्लो केन्द्रीय समितिमा जनताका केही मुद्दाहरु छलफल गरेका थियौं । सरकारलाई निर्देशन पनि गर्यौं । केही कामहरु सरकारले राम्रो पनि गरेको छ । तर आगामी बजेटबाट सरकारले जनताका सम्बोधन गर्नैपर्ने मुद्दाहरुलाई हल गर्नुपर्छ भन्यौं । त्यसमा आधारभूत वर्गका मुद्दाहरुलाई बजेटमा सम्बोधन हुनुपर्छ ।

नेपाललाई समृद्ध नेपाल सुखी नेपाली भनेर नारा दिएका छौं । समृद्धिको हाम्रो मोडल के हो ? के गर्दा समृद्धि आउँछ । स्थानीय सरकारले के गर्दा, प्रदेश सरकारले के गर्दा, संघीय सरकारले के गर्दा समृद्धि आउँछ र त्यो समृद्धिले समाजवादमा पुर्याउँछ ? त्यो स्पष्ट मार्गचित्र चाहिएको छ । आज हामीसँग त्यो मार्गचित्र नहुँदा सबै गोलमालमा फसेको छ ।

यदि सरकारले आफ्नो स्पष्ट दिशानिर्देश गरेन भने यस्तै हुन्छ । के गर्ने भन्ने प्राथामिकता छुट्याउन सक्दैन र गोलचक्करमा फस्छ । हामी करिब दुई वर्ष गोलचक्करमा पो फस्यौं की ? यसलाई समिक्षा गरौं र सच्याउने बाटोमा जाउँ भनेर केन्द्रीय समितिले निर्देशन दियो । तर विडम्वना अस्तिको बजेटबाट त्यसलाई सम्बोधन गर्ने प्रयत्न भएन ।

यो अहिलेको अन्तरसंघर्षको चुरो त्यहाँबाट सुरु भएको हो । त्यसपछि स्थायी कमिटीको बैठक बस्ने भनेर माग भयो । सचिवालय बैठकपनि बसेन । सरकारको नीति तथा कार्यक्रम ल्याउने बेला पार्टीमा छलफल गरिएन । के यो पार्टीविना आफै निर्वाचित भएको स्वतन्त्र सरकार हो ? पार्टीमार्फत निर्वाचित भएको हो । पार्टीको घोषणापत्र लिएर । लाखौं कार्यकर्ताको बलमा अहिले ओलीजी प्रधानमन्त्री हुनुहुन्छ ।

सरकारमा गईसकेपछि सरकार बेग्लै र पार्टी बेग्लै भन्ने नजिरलाई उहाँले स्थापित गर्न खोज्नु भयो । त्यसैबाट समस्या सुरुवात भयो । र स्थायी समितीमा आउँदा मूर्त रुप लियो । पार्टी र सरकारको नेतृत्वका बारेमा प्रश्न उठ्यो । छलफल हुँदै थियो । एजेन्डा थिएन, प्रधानमन्त्री आफैले मदन भण्डारी फाउन्डेशनकाे कार्यक्रममा विषयलाई उत्तेजित बनाउनु भयो ।

सरकार ढाल्न विदेशी शक्ति लागेकाे छ र पार्टीको केही नेतापनि लागेका छन्, भनेपछि भोलिपल्टको बैठकमा ती नेताहरुको बारेमा स्पष्ट भन्नुपर्छ, कारवाही गर्नुपर्छ भनेपछि उहाँ त्यसबाट भाग्नु भयो । के उहाँले अध्यारोमा झट्टी मात्र हान्न खोज्नु भएको थियो ? या सच्चाई थियो ।

पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट ओलीको राजिनामा माग भयो । उहाँ आफैले यो विषय स्थायी समितीमा प्रवेश गराउनु भयो । त्यसपछि बैठकमा बस्न, छलफल गर्न इच्छुक हुनुभएन । आजपनि विषय धेरै छैन, स्थायी समिती बैठकलाई निरन्तरता दिउँ । जे एजेन्डा पहिलो स्थायी समितीले पास गरेको थियो त्यो एजेन्डामा पुनः विषय प्रवेश गरौं । स्थायी समितीले टुङगाएन भने केन्द्रीय समितिमा लैजाउँ । केन्द्रीय समितीले पनि यो विषय हल गरेन भने महाधिवेशनको मिति तोकेको छ ।

केन्द्रीय समितिले महाधिवेशनको कार्यतालिका बनाएर अगाडि जाउँ भन्ने हाम्रो राजनीतिक बहस हो । यो राजनीतिक वहसलाई पार्टीभित्र मात्र सीमित गरेको भए राम्रो हुन्थ्यो । कमिटीभित्र मात्र सीमित गरेका भए राम्रो हुन्थ्यो । पार्टी भित्रको कमिटीभित्र यो बहस छताछुल्ल भएर आयो । नेताहरु एकले अर्कालाई नङग्याउने तहसम्म आयो । यसले नागरिकमा ठुलो निराशा पैदा गर्यो ।

कोरोना संकट छ । विदेशबाट रोजगारी गुमाएर हजारौं युवाहरु आएका छन । यहीभित्र रोजगारी खोसिएको छ । गरिबी छ, अभाव छ, महंगी छ, भ्रष्टाचार यत्रतत्र छ । यी मुद्दाहरु मुद्दा बनेनन्, आज हामी अन्तै रुमलियौं । हाम्रो सरोकार केन्द्रीय समितिको बैठक बोलाएर यी मुद्दाहरुलाई प्रवेश गराउन चाहान्छौं ।

अघिल्लो केन्द्रीय समितिमा हामीले सुरुवात पनि गर्यौं । नेपालको सन्दर्भमा हामीले स्थापना गर्ने समाजवादको मोडल कस्तो हो भन्ने स्पष्ट धारणाको जरुरी छ । स्थानिय तहको सरकारलाई पनि गाइडिङ चाहिएको छ । प्रदेश सरकार र संघीय सरकारलाई पनि चाहिएको छ । तर, माथी म एक्लै सरकार हुँ, म एक्लै पार्टी हु भने जस्तो मनोविज्ञान प्रधानमन्त्रीले देखाउन थाल्नुभयो ।

पार्टी कार्यकर्ताबाट अझ दवाव नपुगेर हो की ?

पार्टीभित्र पर्याप्त दवाव छ । अघिल्लो केन्द्रीय समितिले यो सरकारका दुई, चारवटा संकट टारीदिएको थियो । एमसिसीको ठुलो विवाद थियो, के गर्ने भन्ने वहस थियो । हामीले भन्यौं, एउटा कार्यदल बनाउँ, तीन जनाको कार्यदल बन्यो । आज त्यो कार्यदलको निष्कर्षको आधारमा एमसिसीको विवाद एउटा किनारामा पुगेको छ ।

भ्रष्टाचारको सम्बन्धमा हामीले एउटा दिशानिर्देश गरेका थियौं । यो सरकार, यो पार्टी कुन वर्गको जगमा उभिएको छ । यो सरकारले कसको हित गर्ने त ? आधारभुत वर्गका जनताको हित गर्ने की ? मध्यम वर्गका जनतालाई हेर्ने वा सम्भ्रान्त वर्गको हित गर्ने आज समिक्षा गर्दा, आधारभुत वर्ग पनि खुशी छैन, सम्भ्रान्त वर्ग त्यसै खुशी छैन, मध्यम वर्ग पनि विच्किएका छन ।

यी कुनैपनि समूह खुशी छैन । कुन वर्गको जगमा हामी उभिएको छौं त ? या केही दलाल पूँजीपति ले चलाए । हामीलाई केही ठूला व्यापारीक घरानाहरुले चलाए । यति, ओम्नी जस्ता अरु थुप्रैले चलाए हामीलाई । यी त दलाल पूँजीवादका प्रतिकहरु हुन् ।

पार्टी भित्रपनि गुटहरु छ्यालब्याल देखा परे । पार्टीभित्रका यी गुट उपगुट भने दलाल पूँजीवादका राजनीतिक प्रतिनीधि हुन । बाहिरको पूँजीपतिको प्रतिनीधिका रुपमा राजनीति गरीरहेका छन । एउटा नेतालाई प्रभोक गर्छ, अर्को नेतालाई प्रभोक गर्छ । नेताहरुलाई मिल्न दिँदैन । नमिलेको स्थितीमा सरकार कमजोर हुन्छ । पार्टी कमजोर हुन्छ । त्यो बेलामा यस्ता स्वार्थ समूह बलिया भएर आउँछन । अनि विभिन्न निर्णयहरु गर्छन ।

भर्खरै सरकारले रेलवेको टेन्डर खोल्यो । त्यो रेलवेमा अर्बैँ भ्रष्टचार भएको रिपोर्ट आयो । हामी खोज्दैछौं । हो त ? के नेकपाको सरकारमा यस्तो भ्रष्टाचार सही हुन्छन् ? जनताले यसका लागि हामीलाई भोट दिएका हुन् ? हामीले बहस गर्न पाउने की नपाउने ? स्थायी समितीमा, केन्द्रीय समितीमा बहस गर्न पाउने की नपाउने ?

अहिलेको स्थायी समितिको मुद्दा यही हो । कमिटीमा बसेर छलफल गरौं । कमजोरी भएको हामी सच्याउने उदेश्यसहित छलफल गर्न खोजिरहेका छौं । स्थायी समितिमा पनि यही उदेश्यसहित छलफल गरिरहेका छौं । अहिले प्रधानमन्त्रीले तत्काल राजिनामा दिनुपर्ने त स्थायी समितिको एजेन्डा होइन । उहाँ आफै प्रभोक गर्दै विदेशीका एजेन्ट भन्न थालेपछि स्वाभाविक क्रियाको प्रतिक्रिया हुन्छ ।

घरमुली नै घमन्डी भो भने कसले सम्झाउने ? जे सुकै गर म बैठकमा पनि आउँदिन, बस्दिन, तिमीहरुले निर्णय गरेपनि मान्दिन भन्यो भने के हुन्छ ? आज नेकपाभित्रको समस्याको चुरो त्यही छ । आजको नेकपा समस्याको मुल कारण अघिल्लो पुस्ताको नेतृत्व खास गरेर के.पि ओलीमा रहेको व्यक्तिवाद र उहाँको वरिपरी रहेको स्वार्थ समूह जसले उहाँलाई चलाए ।

ओलीजी आफै वेठिक हुनुहुन्न, गलत हुनुहुन्न । ठुला–ठुला इतिहास निर्माण गरेर आउनु भएको नेताहरु हुनुहुन्छ, प्रचण्डजी, ओलीजीहरु । तर आज किन यस्तो ठाउँमा पुग्दैछ, नेताहरुभन्दा नेताहरुको वरिपरी रहेको गुट, स्वार्थसहितका समूहले नेताहरुलाई बिगारी राखेका छन् । हामी यसलाई तोड्न चाहन्छौँ । र त्यसलाई तोड्ने थलो महाधिवेशन हो ।

अघिल्लो केन्द्रीय समिति बैठकमा हामीले महाधिवेशनको मिति नै तोक्यौं । आगामी ७७ साल चैत्रको २५ देखि मसान्तसम्ममा महाधिवेशन सक्छौं भनेर हामीले नै मिति तोकेका हौं । हामी छिटोभन्दा छिटो यो पार्टीलाई महाधिवेशनमा लैजान चाहान्छौं । परम्परागत गुटहरु भंग गर्न चाहान्छौं । र, जनताका मुद्दामा पार्टीलाई केन्द्रित गर्न चाहन्छौं ।

जनताको मुद्दामा उहाँहरु केन्द्रित हुन सक्नु भएन भने नेतृत्वको बहस पनि आउँछ, पुस्तान्तरणका वहस पनि आउँछ । अहिले नै त्यो पुस्तालाई हटाउन नसकौंला तर तीनवटा पुस्ताको संयोजनसहितको नेतृत्व हामी बनाउन सक्छौं । युवा, प्रौढ र वृद्ध । तीनवटा पुस्ताको सन्तुलित नेतृत्वको टिम बनाउँछौं ।


यही वहस बढी पेचिलो बनेर प्रधानमन्त्रीले विषय विषयान्तर गरेको हो ? तपाईको बुझाई के छ ?

हुनसक्छ । अघिल्लो केन्द्रीय समितिको बैठकबाट ओलीजी केही झस्किनु भयो । डराउनु भयो । हाम्रो पुस्तालाई संगठित रुपमा च्यालेन्ज गर्ने अर्को पुस्ता आउँदै रहेछ भन्ने म्यासेज उहाँहरुले पाउनुभयो । त्यसले उहाँहरु रुपान्तरण हुनपथ्र्यो, पछिल्लो पुस्ताको नेतृत्व गर्न लायक बन्नुपथ्र्यो । अपडेट हुनुपथ्र्यो नि, हाम्रो चाहना त्यो हो ।

इतिहासका ठूल्ठूला कालखण्ड पार गरेर आउनु भएको उहाँहरुले नै नेतृत्व गरिदिए हुन्थ्यो भन्ने हाम्रो चाहना छ । तर, उहाँहरु रुपान्तरण हुनुपर्यो, यो पहिलो सर्त छ । रुपान्तरण नहुने, देश डुबाउने, देश बर्बाद भइराख्ने, भड्खालोमा गइराख्ने, हामी त्यसको मलामी त हुन सक्दैनौं । आफैलाई जन्मदिने बाउ पनि प्राण गएपछि मायाले रुँदै भएपनि लगेर जलाउँनु पर्छ ।

त्यसैले, अहिलेको नेकपाभित्रको संघर्ष उहाँहरुलाई रुपान्तरण गर्ने संघर्ष हो । र, हामी कामना गर्छौं, हामीले रुँदै गएर उहाँहरुलाई जलाउन नपरोस् । उहाँहरुलाई त्याग्न नपरोस् । उहाँहरुमा प्राण भर्न खोजिरहेका छौं । त्यो प्राण भनेको जनताको शक्ति हो । हिजो हामीले नागरिकसँग गरको कमिटमेन्ट हो । कम्युनिष्ट ओन्दोलनमा त्यत्रो बलिदान गरेर ल्याएको उपलब्धि बचाउने कुरा हो । र, हाम्रो संविधानले भनेको समाजवाद हो ।

सहमतिका लागि कुन पक्ष कति लचिलो बन्नुपर्छ अब ?

मुख्य जिम्मेवारी जसको छ, उ लचिलो बन्नुपर्छ । अहिलेको नेकपा संघर्षमा प्रधानमन्त्री आवश्यकताभन्दा बढी कठोर र कडा बनिराख्नु भएको छ । कतिपय अवस्थामा प्रचण्डजी आवश्यकताभन्दा धेरै लचक भइराख्नु भएको छ । पार्टी एकता गर्दाको सहमतिमा आलोपालो गर्ने भन्नुभएको रहेछ । हामीलाई सोधेर गर्नुभएको होइन । आफैले गर्नुभएको हो । पछि फेरि पाँचै वर्ष तपाई नै चलाउनुस भन्नुभयो ।

मंसिरमा फेरी अर्को सहमति गर्नुभयो, ओलीजी ले त्योपनि कार्यन्वयन गर्नुभएन भन्नुभयो । चैत/वैशाखमा फेरी अर्को सहमति गर्नुभयो । त्यो पनि कार्यन्वयन गर्नुभएन । अविश्वासको दुरी बढेर गयोे । अहिलेपनि उहाँहरुकै बीचमा समझदारी बनाउने प्रयत्न भइराखेको छ । कम्युनिष्टहरु त स्पष्ट हुन्छन् नी, पारदर्शी हुनुपर्यो नी ।

हामीले अहिले ओलीजीलाई प्रधानमन्त्री तपाई चलाउनुस्, पार्टीलाई गतिशील बनाउन अर्को अध्यक्षलाई पार्टी चलाउन दिनुस भनेका हौं । उहाँ त्योपनि गर्न तयार हुनुहुन्न । पार्टीपनि छोडदिन, सरकारपनि छोड्दिन, बैठकमा पनि आउँदिन भनेपछि के गर्ने त अब ? यस्तो नजिर लोकतन्त्रमा हुँदैन ।

रसियामा लेलिन हुँदासम्म ठिकै थियो । स्टालिन प्रमुख भएपछि उहाँले पार्टीभित्र भिन्न मत राख्नेलाई विदेशीका एजेन्ट भन्न थाल्नुभयो । पहिलो चरणमा, दोस्रो चरणमा छलफल भेटघाट गर्ने चलनलाई बन्द गर्नुभयो र अन्तिममा आफ्नै पार्टीका ९७ जना सदस्यलाई मार्नुभयो । आज अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा हामी त्यसको मार भोगिराखेका छौं । त्यसलाई सच्याउन मदन भण्डारीले 'जनताको बहुदलीय जनवाद' भन्ने कार्यक्रम ल्याउनुभएको हो । आज जबजको नाम बेचेर स्टालिन बन्न पाइन्छ ?

त्यो छुट दिँदैनौं नी हामी त । हामी जीवित छौं । विद्रोह गर्छौँ, बोल्छौं । अहिले भित्र बोलिरहेका छौं । बाहिर बोल्छाैँ, जनतालाई भनिराखेका छौं । नेतृत्वलाई भनिराखेका छौं, मिल्नुस है, तपाईहरुको कालो इतिहास नलेखियोस् । अहिलेको पुस्ताको इतिहास हामीले लेख्ने हो । हाम्रो इतिहास लेख्ने अर्को पुस्ता आउँछ । उहाँहरुको इतिहास हामीले लेख्ने हो । अहिलेसम्मका सकरात्मक इतिहास हामीले लेखिरहेका छौं । तर, उत्कर्षमा कालो इतिहास लेख्न नपरोस् ।

परिस्थीति अझ जटिल बन्दै गएको छ नी ?

नेतृत्वको बीचमा केही समिक्षा होस् भन्ने छ हाम्रो । तितोमिठो भनाभन होस् तर त्यो समिक्षाबाट रिजल्ट पोजेटिभ आओस् भन्ने हो । हाम्रो कामना त्यति हो । बस्दै नबस्ने, छलफल नै नगर्ने, संवाद नै नगर्ने भन्दा त माझामाझ होस न, पाखलियोस् न ।

उहाँहरुको पिडा के छन, कुण्ठा के छन्, त्यो ल्याउनुस् न । संवादमा बस्नु राम्रो पक्ष हो । त्यहीँबाट निकास निस्कन्छ । एकपटक उत्कर्षमा संघर्ष भएपछि त्यसले मिलाउँछ । हामी पनि देख्छौं नी उहाँहरुको सीमाहरु, हामीले देख्ने गरी आउनु पर्यो । हामीले उहाँहरुको कतिपय सीमाहरु देखेनौं । अगाडि नै उहाँहरुको सीमा देखेको भए अलग ढंगले ट्रिट गरिन्थ्यो हो । अहिले कसरी ट्रिट गर्ने भन्ने नै थाहा भएन । अहिलेका संवादले एउटा निकास निकाल्नै पर्छ । अर्को विकल्पै छैन ।

दुबै आ–आफ्नो अडानमा रहँदा निकास कसरी निस्कन्छ ? आधार देख्नुहुन्छ ?

निकास निस्कन्छ भन्ने आधार दुईवटा हो । पार्टी एकता गर्दा उहाँहरुले जनतासँग र पार्टीका आठ/दश लाख कार्यकर्तासँग प्रतिवद्धता, ती कार्यकर्ताका अगाडि के भन्दै जानुहुन्छ ? कसरी जान्छ ? या त अब जाँदैनौं भन्नु पर्यो । त्यो बाटो त पक्कै जानुहुन्न होला ।

दोस्रो, आम जनतासँग निर्वाचन ताका हामीले गरेको प्रतिवद्धता । अझ जनताको दवावसम्म पुगको छैन । नेकपाको झगडा अब हेर्नुहोला, यो लम्बिदै जाँदा जनताको तहबाट दवाव आउँछ । अहिले पार्टीभित्र सीमित छ । हामीले संयमित ढंगले दवाव दिइराखेका छौं ।

व्यक्तिगत रुपमा, समूहमा गएर भेट्न, अब तपाईहरुको पुस्ताको सकिएको हो त ? हामीले हस्तक्षेप गर्नुपर्ने हो नेतृत्वमा ? हामी नसक्ने तहमा छैनौं है । यो देश तपाईहरुले भन्दा अझ गुणात्मक ढंगले चलाउन सक्ने पुस्ता आइसकेको छ । विज्ञान, प्रविधि, चेतनामा पछिल्लो पुस्ता अघिल्लो पुस्ता भन्दा धेरै व्रिलियन्ट छ ।

विज्ञानलाई स्थापित गर्ने की शतिmलाई स्थापित गर्ने ? कम्युनिष्ट पार्टी विचारको संगठन हो । अहिले विचार भन्दा शक्ति हावी भयो । हामी विचारले शक्तिको नेतृत्व गरोस्, पार्टीमा छलफल होस्, पार्टीको मातहतमा सरकार होस् भन्ने चाहन्छौँ । पार्टीको गाइडलाइनमा सरकार चल्छ तर सरकारको गाइडलाइनमा पार्टी चल्दैन ।

कार्यकर्तामाझ कस्तो बहस चलिरहेको छ ?

हामी माथी टुप्पोका बहस र तल फेदको जनताको बहस हेरिरहेका छौं । दुइवटै बहसबारे अपडेट छौं । पार्टी नेतृत्व चित्तवुझ्दो ढंगले बहस गरिरहेको छैन । मूर्त ढंगले बहस गर्नुपर्यो । आजको समस्या के हो, कहाँ चुक्यो ? सरकार बनेको आधा समय गइसक्यो, रिजल्ट के दियौं ? हामीले प्रतिवद्धता गरेको कुरामा कहाँ चुक्यो ?

नक्सा निकाल्यौँ, नक्सा प्रकाशित गरेर एउटा अडान लियौँ । जुन राम्रो पक्ष हो । तर आम जनता झुपडीमा बस्ने गरिब जनतालाई, मजदुरलाई, रोजगारी गुमाएका लाखौं युवालाई र भोलीपनि रोजगारी गुमाएर आउने चालिसौं लाख युवाको व्यवस्थापन कसरी गर्छौँ हामी ? त्यहाँ जन्मिन्छ सबभन्दा ठुलो विद्रोह र असन्तुष्टि, त्यहाँ केन्द्रित हुनुपर्यो ।

कोरोना संकटको कारणले अर्थतन्त्र डामाडोल हुनेवाला छ । अन्तरदेशीय निकासी ठप्प हुनेवाला छ । हामी कसरी कृषिमा आत्मनिर्भर हुने ? कसरी हाम्रो उत्पादनलाई बढाउने ? खै त नेकपाको अभियान ? ८/१० लाख कार्यकर्तालाई तपाईहरुले नमुना उत्पादन गर्नुस है, स्थानीय तहले आत्मनिर्भर हुने आदेश खै त ? कसैलेपनि खोजेको कुरामाथि बहस भइरहेको छैन ।

यो छलफलमार्फत नेताहरुको यो झगडालाई छाडर वैचारिक संघर्षमा, वैचारिक बहसमा र देश कसरी बनाउने भन्ने बहसमा ल्याउन चाहान्छौं । केन्द्रीय समितिसम्म यो बहसलाई लैजान सक्यौं भने, यो पार्टीलाई त्यो वहसमा ढालेरै छाड्छौं ।

अघिल्लो बैठकमा हाम्रो एजेन्डामा बहस भएको छ, नेताहरुले ल्याएको एजेन्डामा बहस भएको होइन । हामीले ल्याएको हो त्यो मुद्दाहरु र भोलीपनि हामी अबको केन्द्रीय समिति बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा क्लियर छौं । हामी स्पष्ट छौं । अहिले नेकपाले हल गर्नुपर्ने समस्या के हो ? अहिलेको नेकपाको प्राथामिकता के हो ? सरकारको प्रथामिकता के हा ? तर प्रधानमन्त्री क्लियर भइदिनपर्यो नि त ।

समस्या प्रधानमन्त्रीमा धेरै देखियो । उहाँको समस्या पार्टीलाई पनि केही नभन्ने, छलफलपनि नगर्ने, हेर्दा त उहाँले दुइटै पदबाट छोड्नुपर्छ जस्तो लाग्छ । तर फेरि के हो भने अहिले उहाँलाई पुरै पराजित भए जस्तो स्थानमा पुर्याउनु पनि वेठिक हुन्छ । त्यसो गर्दा कमसेकम अहिले उहाँले बुझेर एउटा पद छोडिदिएत भो नि । पार्टी छाड्दिन प्रधानमन्त्री छाड्छु भन्ने हो भनेपनि एउटा विधि स्थापित गरौं । उहाँकै विधिमा रहेर पार्टीले सरकारलाई गाइड गरोस् निर्देशित गरोस् ।

कामको प्राथमिकता सूची देओस् । होइन, उहाँ प्रधानमन्त्री रहनुहुन्छ भनेपनि पार्टीको निर्देशन अनुसार कमाण्डमा चल्ने कमिटमेन्ट गर्नुपर्छ । त्यो रुपान्तरण त हुनैपर्छ । रुपान्तरणविना पद मात्र बाँडेर फेरी यो समस्या समधान हुनेवाला छैन । रुपान्तरण सहितको एकता हामीले खोजेको हो । चोचोमोचोको एकता होइन ।

यो दुई वर्ष चोचोमोचो दुइटा नेता मिलेर हामीले छाड्यौँ, खुसुक्क सम्झौता गरेर दुबै नेताले हामी मिल्यौं भनेपनि मानिन्न । देशलाई परिणामसहितको एकता चाहिएको छ । त्यतातिर हामी नेकपालाई लैजान चाहान्छौं । अहिलेको केन्द्रीय सदस्यहरुको चिन्ता र बहाव त्यहाँ छ । आम जनताको बहस नेकपा नफुटे हुन्थ्यो भन्ने छ ।

नेकपाको एकताको निरन्तरताको चाहना कति छ तपाईहरुमा ?

फुट हुनुहुँदैन, नागरिक र हाम्रो सोच एउटै छ । हामीले प्रधानमन्त्रीलाई पनि त्यही भनेका छौं । अर्का अध्यक्षलाई भेट्दापनि त्यही भनेका छौं । स्थायी समितिको छलफलमा पनि त्यही भनेका छौं । तर नेतृत्वकाे अहंकारको कारणले फुटमा पो पुर्याउँछ कि भन्ने डर चाँही छ । त्यो डर कायमै छ ।

अलिकति पनि लचक नहुने, अलिकति पनि विनम्र नहुने, अलिकति पनि जिम्मेवार नहुने, पार्टी केहीपनि होइन, म नै सर्वेसर्वा हो, जनता केहीपनि होइन, जनताले दिएको भोट केहीपनि होइन, म नै सर्वेसर्वा हो भन्ने मानसिकताले पतनतर्फ लैजान्छ । त्यसैले हामी रुपान्तरणका कुरा गरिराखेका छौं । नेकपालाई फुटबाट बचाउँदै आगामी महाधिवेशनमा तीनवटा पुस्तासहितको नेतृत्व बनाउँछौं हामी । एउटै मात्र पुस्तालाई दियौं भने अहिलेको जस्तो हुने रहेछ ।

सकरात्मक ढंगले उहाँहरुको इतिहास लेख्न पाईयोस् । उहाँहरुलाई अविभावक मानेर अर्को पुस्ताले देश सम्हाल्न पाओस् । समाजवादमा, समृद्धिमा लैजान पाओस् । जनताको सपनालाई बोकेर हिड्न सक्ने नेतृत्व पैदा गर्न पाउँ भन्ने हाम्रो कामना हो । हाम्रो अहिलेको छलफलपनि त्यसैमा केन्द्रित छ ।

अन्त्यमा अब आम नागरिकले नेकपाबाट के आशा राख्ने ?

निराश नबनौं । यो सरकारले केही गरेन भन्नेपनि होइन । संविधान कार्यन्वयनको पहिलो फेज थियो । संघीयता कार्यन्वयनको पहिलो अभ्यासमा छौं । ऐन, कानुन बनाउने थुप्रै काममा राम्रोपनि गर्यो । तर, त्यो बनाइसकेपछि जनताको मुद्दामा केन्द्रित हुनुपर्थ्याे, अलिकति डाइभर्ट भयो भन्ने हो । हाम्रो गुनासो त्यहाँ हो । गर्दै नगरेको होइन ।

राम्रो कामपनि गरेको छ । अझ नयाँ याेजनासहित नेकपाभित्रकै अर्को पुस्ता तयार छ । सरकारले गर्नुपर्ने कुराको सूचीपनि तयार छ । समृद्धिको मोडलपनि तयार छ । नेपालमा समाजवादको आफ्नै मौलिकतासहितको मोडल के हुन्छ ? त्यो हामी हाम्रो महाधिवेशनबाट देखाउन चाहान्छौं । त्यसैले तपाईहरु आशावादी हुनुपर्छ । नेकपाभित्रको ज्योती बलिराखेको छ । अन्धकारभित्र अर्को पाटोपनि छ ।




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन १२ गते, सोमबार

menu LIVE TV