एकै घरका १४ जान काेराेन संक्रमित



विराटनगर । मोरङको रंगेली नगरपालिका– ७ मा एक व्यापारिक परिवारका १४ जनामा कोरोना संक्रमण भएको छ ।

स्थानीय ७३ वर्षीय वृद्धको मृत्युपछि उनको अन्त्येष्टि प्रक्रियामा सहभागी परिवारजन संक्रमित पाइएको नगरपालिकाका स्वास्थ्य संयोजक भूपेन्द्रप्रसाद मण्डलले बताए । उनीहरूमा कोरोनासँग मिल्दो लक्षण देखिएपछि नगरपालिकाले पीसीआर परीक्षण गरेको थियो । त्यस क्रममा सोमबार सात महिला र सात पुरुष संक्रमित फेला परेका हुन् । उनीहरूमध्ये ५८, ५३, ४५, ४४, ४२, ३९, २४ वर्षका महिला र ६४, ५६, ४८, ३१, ३०, २७, १९ वर्षका पुरुष छन् ।

घटनाक्रमअनुसार ब्रेनहेमरेजबाट पीडित ती वृद्धको दुई साताअघि विराटनगरस्थित न्युरो अस्पतालमा मृत्यु भएको थियो । परिवारकै सदस्यमा संक्रमण देखिएपछि मृतकको घर पुग्ने, मृत्युपछिको संस्कारमा सहभागी बन्ने आफन्तलगायतको स्वाब संकलनको काम भइरहेको छ ।

मृत्यु संस्कारमा सहभागी र अन्य गरी मंगलबार दिउँसो ४ सय ५० जनाको स्वाब संकलन गरिएको मण्डलले बताए । ‘वृद्धको मृत्यु भएपछि परिवारका सदस्यको पीसीआर परीक्षण गरिएको हो’, उनले भने, ‘उनीहरूको रिपोर्ट पोजिटिभ आएपछि अहिले मृत्यु संस्कारमा सहभागी भएका आफन्त र छिमेकीको स्वाब संकलन गर्ने काम भइरहेको छ ।’ उक्त समाचार आजको अन्नपूर्ण पोस्टमा छापिएको छ ।




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन ८ गते, बिहीबार

menu LIVE TV