प्रस्तावित निजगढ विमानस्थल निर्माण प्रस्ताव पेस गर्ने म्याद थप



काठमाडौं । लगानी बोर्डले बाराको निजगढमा प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रस्ताव पेस गर्न स्विजरल्यान्डको जुरिच इन्टरनेसनलसँग असोज दोस्रो सातासम्मको म्याद थप गरेको छ ।

बोर्ड बैठकले विमानस्थल निर्माणका लागि प्रस्ताव पेस गर्न असोज १४ गते (सेप्टेम्बर अन्तिम) सम्मको म्याद थप गर्ने निर्णय गरेको लगानी बोर्डको कार्यालयले जनाएको छ । उक्त कम्पनीसँग आर्थिक र प्राविधिक प्रस्ताव माग गरिएको हो । निजगढ विमानस्थल आयोजना हेर्ने लगानी बोर्ड कार्यालयका अधिकृत रत्नेश शशीले प्रस्ताव पेस गर्न जुरिच इन्टरनेसनललाई अन्तिम मौका दिइएको जानकारी दिए । उनले दिएको समयभित्र सो कम्पनीले प्रस्ताव पेस गर्न नसकेमा अर्को विकल्प खोजिने छ भने ।

लगानी बोर्डको बैठकले यो निर्णय गरेको जोशीको भनाइ छ । उनका अनुसार यसअघि प्रस्ताव पेस गर्न चैतसम्मको म्याद दिइएको थियो तर रुख काट्नेबारे सर्वोच्च अदालतबाट जारी भएको अन्तरिम आदेश र विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीका कारण जनाउँदै सो कम्पनीले अहिलेसम्म प्रस्ताव पेस गर्न सकेको थिएन ।

यसअघि वैशाख २८ गते बसेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि अन्तरनिकाय समन्वय, सहजीकरण एवं आइपरेका समस्या समाधान गर्न गठित उच्चस्तरीय सहजीकरण समितिको बैठकले विमानस्थल निर्माण गर्न निश्चित समयसीमा तोकी जुरिच इन्टरनेसनलसँग सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडेलको प्रस्ताव माग गर्न र सम्झौता प्रक्रिया पूरा गर्न लगानी बोर्डलाई निर्देशन दिने निर्णय गरेको थियो ।

समितिको सो निर्देशनपछि बोर्डले समयसीमा तोकी जुरिच इन्टरनेसनलसँग प्रस्ताव माग गरेको हो । समितिका संयोजक संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईको अध्यक्षतामा बसेको बैठकले विमानस्थल निर्माण क्षेत्रको चार किल्ला वरपर सडक निर्माण, पहुँच मार्ग निर्माण तथा सो क्षेत्रमा पर्ने वन क्षेत्रका रुख कटानी गर्ने सम्बन्धमा नेपाली सेना र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच भएको समझदारी पत्रमा उल्लिखित म्याद थप गरी सम्झौतामा उल्लिखित कार्य अगाडि बढाउने निर्णय गरिएको थियो ।

उक्त विमानस्थल निर्माणका लागि माग गरिएको आशयपत्रमा उक्त कम्पनीले सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडेलमा विमानस्थल निर्माण गर्न इच्छा देखाउँदै प्रस्ताव पेस गरेको थियो । सो कम्पनीले स्विजरल्यान्डका जुरिच एयरपोर्टसहित दक्षिण अफ्रिकालगायत विश्वका अन्य मुलुकको विमानस्थल निर्माण, सञ्चालन तथा व्यवस्थापनको काम गर्दै आएको छ ।

उक्त विमानस्थल निर्माणका लागि माग गरिएको प्रस्तावमा भारतको जीएमआर ग्रुप, चाइना एयरपोर्ट कन्स्ट्रक्सन ग्रुप कम्पनी लिमिटेड, चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनी लिमिटेड, दक्षिण कोरियाको कुन्वा कम्पनी लिमिटेड, जापान क्लब इन्टरनेसनल, म्याट्रिक्स इन्टरप्राइजेज प्रालिले प्रस्ताव पेस गरेका थिए ।

यी कम्पनीमध्ये आर्थिक, प्राविधिक क्षमता र अनुभवका आधारमा स्विजरल्यान्डको जुरिच छनोट भएको थियो । उक्त समाचार आजको गोरखापत्रमा छापिएको छ ।




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन ८ गते, बिहीबार

menu LIVE TV