वन अतिक्रमण गरी भौतिक संरचना निर्माण गर्ने क्रम बढ्दो



कैलाली । सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरी नगरपालिका आसपासका वन अतिक्रमण गरी भौतिक संरचना निर्माण गर्ने क्रम बढ्दै गएको छ ।

कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउन अवधिदेखि हालसम्म गोदावरी नगरपालिका आसपासका वन अतिक्रमण गरी भौतिक संरचना निर्माण गर्ने क्रम बढ्दै गएको हो । डिभिजन वन कार्यालय धनगढीले चार महिनाअघि वन क्षेत्रमा निर्माण गरिएका घरटहरा हटाइएका स्थानमा पुनः अतिक्रमण गरी भौतिक संरचना निर्माण गर्ने क्रम बढेको जनाएको छ ।

गोदावरी नगरपालिकाका गाइमारा डाँडा, फुलबस्ती, बूढीतोला, गोदावरी आर्यघाट जाने क्षेत्र, चुनेपानी, समाधीगडा, भ्यागुत्तेपानी, बासपानी, भीमदत्त राजमार्गमा पर्ने वन क्षेत्रमा अहिले धमाधम भौतिक संरचना निर्माण भइरहेको स्थानीयवासीको गुनासो छ । सरकारले कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि गत वर्ष चैत ११ गते देशभरि नै लकडाउन जारी गरेको थियो ।

लकडाउन जारी गरेपछि कैलालीमा काठ तस्करीसँगै वन अतिक्रमण बढेको डिभिजन वन कार्यालय धनगढीले जनाएको छ । कार्यालय प्रमुख रामचन्द्र कँडेलले गोदावरी क्षेत्रमा वन अतिक्रमणसँगै काठ तस्करी ह्वात्तै बढेको स्वीकार गरे । उनले अतिक्रमित वन क्षेत्र पटक–पटक हटाइरहेको भए पनि पुनः सोही ठाउँमा गई भौतिक संरचना बनाएर बस्ने गरेको पाइएको बताए ।

स्थानीय प्रशासनसँगको समन्वयमा वन अतिक्रमण कार्यमा संलग्न व्यक्तिलाई पक्राउ गरी आवश्यक कारवाही अघि बढाइने उनको भनाइ छ । पहाडदेखि यात्रा गर्ने यात्रुले शौचका लागि प्रयोग गर्ने ‘गाइमारा डाँडामा’ घर टहरा बनाउने क्रम पनि बढ्दै गएको छ । टहरा थपिने क्रम बढ्दै गएपछि वन कार्यालयले सो क्षेत्रमा निर्माण गरिएका टहरा हटाएको थियो ।

पछिल्लो समयमा सडक किनारमा बसेका व्यक्तिले सामुदायिक वनको सिमाना मिच्दै अगाडि बढिरहेको स्थानीय यज्ञबहादुर रावलले बताए । उनले सामुदायिक वन र राष्ट्रिय वनभित्र वन अतिक्रमण गरी रातारात घर टहरा बनिरहेको बताए । धनगढी–डडेल्धुरा सडकखण्डको गाईमारा क्षेत्रमा व्यापक वन फँडानी गरी सडक किनारमा टहरा राखेर बसेका केही व्यक्तिले खोरिया भन्ने स्थानमा वन फँडानी गरेको स्थानीयवासीको भनाइ छ । खोरिया फँडानी भएसँगै यहाँ बस्ती बसाउने चलखेल भइरहेको जनाइएको छ । जङ्गल किनारमा बसेकाले आफूसँगै आफना नजिकका नातेदारलाई ल्याएर वनको सिमाना मिच्दै जमिन बढाउने काम भइरहेको छ ।

धनगढी–डडेल्धुरा (भीमदत्त) राजमार्गको छेउछाउमा अहिले डाँडा काटेर टहरा तथा खोका (पसल) निर्माण गर्ने क्रम बढेको छ । सुदूरपश्चिम प्रदेश सरकारले २०७५ साल असोज १२ गते तेघरी गोदावरीको जङ्गलमा प्रदेशको राजधानी तोकेपछि वनमाफियाले वरपरको सामुदायिक तथा राष्ट्रिय वन क्षेत्रमा अतिक्रमण गर्ने क्रम बढेको बताइएको छ ।

बाढी पीडित तथा सुकुम्बासीका नाममा जङ्गल छेउमा बस्दै आएका अधिकांश व्यक्तिले पछिल्लो समय सिमाना मिच्दै जमिन बढाउन थालेका छन् । सुदूरपश्चिम प्रदेश सरकारले गोदावरी नगरपालिकाको तेघरी जङ्गलमा राजधानी बनाउने घोषणा गरेसँगै जङ्गल किनारमा बस्दै आएका अधिकांश व्यक्तिले सामुदायिक तथा राष्ट्रिय वनको सिमाना मिच्दै जमिन बढाउन थालेका हुन् ।

डिभिजन वन कार्यालय धनगढीका अनुसार कैलालीमा अहिलेसम्म २१ हजार १५४ हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको छ । देशभरमा एक लाख हेक्टर वनको क्षेत्रफल अतिक्रमणको चपेटामा परेकामा २१ प्रतिशत वन क्षेत्र कैलालीमा मात्रै अतिक्रमण भएको तथ्याङ्कले देखाएको छ । रासस

 




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन २ गते, शुक्रबार

menu LIVE TV