काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढेसँगै नाकाहरुमा कडाई « Nagarik Khabar

काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढेसँगै नाकाहरुमा कडाई



काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढेसँगै उपत्यका भित्रिने नाकाहरुमा चेकजाँचमा कडाई गरिएको छ ।

सरकारले लक डाउन केही खुकुलो गरेसँगै विभिन्न नाका हुँदै काठमाडौं छिर्नेहरुको संख्या बढ्दै गएपछि केही दिन नाकामै स्वाव संकलन गरेको सरकारले अहिले भने सवारी पास जाँचमा पनि कडाई गरेको हो । उपत्यका प्रवेश पास नभएका सवारी साधनलाई प्रहरीले नाकाबाटै फिर्ता पठाएको छ ।

यसअघि नाकासम्म एउटा सवारी सधानमा आएर पैदल हुँदै उपत्यका प्रवेश गर्ने उपत्यका छिरेपछि अर्को गाडीमा आउने गरेका यात्रुहरुलाई पनि रोक लगाइएको छ । प्रहरीले आज पैदल हिडेर प्रवेश गर्न खोज्ने विना पासका यात्रुहरु सबैलाई फर्काएको छ । उपत्यका छिर्ने साँगा नाकामा बुधबार अपरान्हसम्म मास्क नलगाका २५ जनालाई प्रहरीले कारवाही गरेको छ । पास नभएका गाडीहरुलाई फिर्ता पठाइएको छ ।

उपत्यका छिर्ने नाका साँगा हुँदै काठमाडौं छिर्ने पास विनाका गाडीहरुलाई फिर्ता गरिएको छ । भने, मास्क नलगाई यात्रा गर्ने यात्रु र पैदल यात्रुहरु प्रहरी कारवाही समेत गरिरहेको छ ।

नागढंगा नाका हुँदै दैनिक ४ देखि ६ सयसम्म सवारीहरु भित्रिने गरेका छन । बुधबार दिउँसो नागढुंगा नाकामा उपत्यका प्रवेश गर्ने सवारी र प्रहरी चेकिङको दृश्य यस्तो देखिन्थ्यो ।

उपत्यका बाहिरबाट आउनेमा संक्रमण देखिन थालेपछि सरकारले प्रवेशमा कडाई गरेको हो । मंगलबारमात्रै उपत्यकामा ६२ जना संक्रमित थपिएका थिए । नागढुंगा, साँगा र फर्पिङहुँदै हजारौँ नागरिक उपत्यका प्रवेश गरिरहँदा जोखिम बढेको निष्कर्ष सहित सरकारले प्रवेशमा कडाई गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार दिएको जानकारी अनुसार उपत्यका भित्रिने नाकाहरुमा गरिएको परीक्षणमा ४० जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको थियो । नाकाहरुमा गरीएका १० हजार ८ सय ५३ वटा पीसीआर परीक्षणमा ४० जनामा संक्रमण पोजेटिभ देखिएको हो ।

 

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: