सरकारी कर्मचारीहरुलाई निःशुल्क कोरोना बीमा



काठमाडौं । बीमा समितिले सरकारी कर्मचारीहरुलाई निःशुल्क कोरोना बीमा गर्ने कार्यक्रमको औपचारिक सुरुवात गरेको छ । आर्थिक वर्ष २०७७/०७८ को बजेटको बुँदा नं. ५५ र २८५ को कोरोना बीमा सम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्दै बीमा समितिले सरकारी कर्मचारीहरुको निःशुल्क बीमा गर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको हो ।

समितिले बुधबार पत्रकार सम्मेलन गरी सरकारी कर्मचारीहरुको सामूहिक कोरोना बीमा गर्दा नेपाल सरकारले शत प्रतिशत अनुदान उपलब्ध गराउने बताएको हो । समितिका अध्यक्ष चिरन्जीबी चापागाईंले सरकारी कर्मचारीको निःशुल्क सामूहिक बीमा गर्ने सम्बन्धमा बजेटले व्यवस्था गरेको कार्यक्रमलाई कार्यान्वयनमा ल्याइएको बताए ।

उनले नागरिकले आफ्नो परिवारको सामूहिक बीमा गर्दा ५० प्रतिशत अनुदान पाउने व्यवस्थालाई पनि कार्यान्वयनमा ल्याइएको बताए । परिवारका सबै सदस्यको सामूहिक बीमा गरे मात्रै उक्त अनुदान पाउने अध्यक्ष चापागाईंले बताए । यस्तो बीमालेखको अवधि २०७८ असार मसान्तसम्म मात्र हुने छ ।

बीमालेख खरिद गर्नका लागि नेपाली नागरिक हुनुपर्ने, भारत वा तेस्रो मुलुकबाट नेपाल फर्केको भएमा १५ दिन अनिवार्य क्वारेन्टाइनमा बसेको र थप १५ दिन आफ्नो परिवारसँग गरी कुल ३० दिन बसेको सम्बन्धित स्थानीय तहले प्रमाणित गरेको हुनुपर्ने छ ।

त्यस्तै सामूहिक कोरोना बीमाका लागि एकाघर परिवारका सदस्यहरु उल्लेख गरिएको स्वघोषणासहित सम्बन्धित स्थानीय तहले प्रमाणित गरेको कागजात पेश गर्नुपर्ने व्यवस्थासमेत गरेको छ । बीमा लेख अन्तर्गत एक लाख र ५० हजार गरी दुई प्रकारको बीमाङ्क कायम गरिएको छ ।

एक लाख बीमाङ्क कायम भएको बीमालेखका लागि प्रतिव्यक्ति एक हजार र ५० हजारको बीमाङ्कका लागि प्रतिव्यक्ति ५ सय बीमा शुल्क कायम गरिएको छ । परिवारका सम्पूर्ण सदस्यहरुको सामूहिक बीमा गरिएको खण्डमा १ लाखको बीमाङ्कका लागि प्रतिव्यक्ति ६ सय र ५० हजारको बीमाङ्कका लागि प्रतिव्यक्ति ३ सय बीमा शुल्क लाग्ने छ ।

कोरोना बीमालेख खरिद गरेको १५ दिन पछि नेपाल सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गतका निकायबाट पीसीआर परीक्षण गर्दा कोरोना भाइरस संक्रमण भएको पाइएमा बीमालेख बमोजिमको रकम भुक्तानी हुने बीमा समितिले जनाएको छ । त्यसको लागि बीमालेख दाबी गरेको ७ दिनभित्र बीमितलाई दाबी भुक्तानी हुने व्यवस्था पनि समितिले गरेको छ ।




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन १५ गते, बिहीबार

menu LIVE TV