पिसिआर मेसिन खरिद गर्ने निर्णय कागजमै सीमित



दमौली । तनहुँका स्थानीय तहका प्रमुखसहितको गत जेठ २८ गते बसेको बैठकले जिल्लामै कोरोना परीक्षणका लागि मेसिन खरिद गर्ने निर्णय गर्‍यो ।

त्यतिबेला जिल्लाका विभिन्न स्थानीय तहका क्वारेन्टिनमा भारतलगायतबाट आएर बसेका ६७८ नागरिक थिए । त्यसबेला जिल्लाबाट विभिन्न स्थानीय तहको क्वारेन्टिनमा रहेका ३५४ जनाको स्वाब परीक्षणका लागि पोखरा पठाइएको थियो । प्रदेशभरिको स्वाब पोखरामै परीक्षण हुने भएकाले पालो पाउनै मुस्किल थियो । स्वाबको रिपोर्ट आउनै १५–२० लाग्थ्यो । रिपोर्ट आउन ढिलाइ भएपछि केही क्वारेन्टिनमा बसेका आन्दोलित समेत बने ।

स्वाब सङ्कलन गर्दै परीक्षणका लागि पोखरा पठाउनुपर्ने र पालो पर्खिनुपर्ने बाध्यता रहेको त्यो बेला राम्रो निर्णय भन्दै प्रशंसा भयो । पिसिआर मेसिन खरिदका लागि रु एक करोड बजेट सबै स्थानीय तहले बेहार्ने निर्णय भएको थियो । सोही बमोजिम शुक्लागण्डकी नगरपालिकाले रु १४ लाख, ब्यास नगरपालिका, भीमाद नगरपालिका र भानु नगरपालिकाले रु १२/१२ लाख, म्याग्दे गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिका, ऋषिङ गाउँपालिकाका र घिरिङ गाउँपालिकाले रु ९/९ लाख र देवघाट गाउँपालिकाले रु ५ लाख बजेट सहयोग गर्ने निर्णय भएको थियो ।

तर निर्णय भएको डेढमहिना कटिसक्दा पनि उक्त निर्णय कागजमै सीमित भएको छ । बैठकको समन्वय गर्नुभएका म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले पिसिआर मेसिन खरिदको सम्पूर्ण जिम्मेवारी शुक्लागण्डकी नगरपालिकालाई दिइए पनि मेसिन राख्नका लागि ठाउँ अभाव भएकाले ढिलाइ भएको बताए ।

‘मेसिन किन्ने मात्रै भनेर भएन, उपकरण राख्ने ठाउँ नभएकाले पहिला ठाउँ तयार गरौं भन्ने सल्लाह भएको थियो,’ रानाले भने, ‘सबै व्यवस्थापन मिलाउनुपर्ने भएकाले समय लाग्यो ।’ अहिले कोरोना सङ्क्रमित दिनप्रतिदिन बढिरहेकाले पिसिआर मेसिनको अब आवश्यकता पर्न सक्ने रानाले बताए ।

तर शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङ भने अब जिल्लाका लागि पिसिआर मेसिनको आवश्यकता नरहेको बताउँछन् । पोखरास्थित प्रयोगशालाबाट तत्कालै रिपोर्ट आउन थालेकाले जिल्लामा मेसिन राख्न नपर्ने उनले बताए । ‘त्यो बेला मेसिनको आवश्यकता भएकाले निर्णय त भयो, तर अब तत्कालका लागि मेसिन आवश्यक छैन,’ गुरुङले भने, ‘अहिले त पोखराबाटै तत्कालै रिपोर्ट आइहाल्छ ।’

स्वाब सङ्कलन भएको १५–२० दिनमा पनि रिपोर्ट नआउँदा जिल्लामै मेसिन राखेर परीक्षणको व्यवस्था मिलाउन स्थानीय तहहरुले अग्रसरता लिए पनि अब उक्त निर्णयको आफूले औचित्य नदेखेको गुरुङ बताउँछन् । ‘अब बरु आइसोलेशन र क्वारेन्टिनको क्षमता वृद्धि गर्नेतर्फ सोच्नुपर्ने हुन्छ, विद्यालयमा क्वारेन्टिन नराख्ने निर्णय भएकाले सामुदायिक भवनलाई क्वारेन्टिनको रुपमा प्रयोग गर्नुपर्छ’, उनले भने । चाडपर्व नजिकिँदै आइरहेकाले विदेशबाट सर्वसाधारण फर्किने क्रम बढ्ने भएकाले उनीहरुलाई कहाँ राख्ने भन्ने विषयमा छलफल गर्न आवश्यक रहेको गुरुङले बताए ।

जिल्ला स्वास्थ्य कार्यालय तनहुँका अनुसार मङ्गलबारसम्म जिल्लाबाट पठाएका १८ जनाको स्वाब रिपोर्ट आउन बाँकी रहेको छ । प्रदेश परीक्षण प्रयोगशालामा मेसिन थप गरेकाले आजभोलि छिट्टै रिपोर्ट आउन थालेको स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए ।

जिल्लामा १८३ जनालाई कोरोना सङ्क्रमण भएकामा १६४ जना निको भएका छन् । स्थानीय तहका क्वारेन्टिनमा अब ८७ जना छन् ।




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन १० गते, शनिबार

menu LIVE TV