लेबनान विष्फोटमा मृत्यु हुनेको संख्या १३५, तीन लाख मानिस विस्थापित



एजेन्सी । मंगलबार बेइरुतमा भएको भीषण विस्फोटनमा परि कम्तीमा १३५ पुगेको जनाले ज्यान गुमाएका छन् भने घाइतेको सङ्ख्या ४ हजार भन्दा बढी छ। विष्फोटनबाट झण्डै तीन लाख मानिस विस्थापित भएका छन्।

लेबनानको राजधानी बेरुतको प्रमुख बन्दरगाहमा मङ्गलबार अबेर विनाशकारी र शक्तिशाली विष्फोट भएको थियो। यो घटनाको अनुसन्धान सुरु गर्नुअघि राजधानी शहरको उक्त बन्दरगाहका केही अधिकारीहरूलाई उनीहरूकै निवासमा नजरबन्दमा राखिएको लेबनान सरकारले जनाएको छ।

अधिकारीहरूका अनुसार बेइरुतको एउटा गोदाममा ६ वर्षदेखि भण्डारण गरि राखिएको विस्फोटक पदार्थ विष्फोट भएको थियो । लेबनानी राष्ट्रपति मीसेल आउनका अनुसार असुरक्षित रूपमा राखिएको २ हजार ७५० टन अमोनियम नाइट्रेटका कारण विस्फोट भएको हो।

यस गोदाममा राखिएको यो रसायनिक पदार्थ सन् २०१४ मा एक कार्गो जहाजबाट बरामद गरिएको थियो। लेबनानका प्रधानमन्त्री हासान डीयाबले यस विष्फोटलाई देशको ठूलो विपत्तिको रुपमा लिइएको बताएका छन्।

भन्सार प्रमुख बद्रि दाहेरले आफ्नो निकायले उक्त रसायन हटाउन भनेको तर निर्देशनको कार्यान्वयन नभएको प्रतिकृया दिएका छन्। विस्फोट हुन सक्ने गुण भएको रसायन अमोनियम नाइट्रेट कृषि क्षेत्रमा मलका रूपमा समेत प्रयोग गरिन्छ।

बुधवार मन्त्रिपरिषद्को आपतकालिन बैठकमा राष्ट्रपति आउनले बेइरुतमा अघिल्लो रातको आतंक शब्दमा बयान गर्न नसकिने बताएको बिबिसीले जनाएको छ । 

ब्रिटेनको शेफिल्ड विश्वविद्यालयका विशेषज्ञहरूले बेइरुत विस्फोटनको शक्ति दोस्रो विश्व युद्धका बेला जापानको हिरोसिमा मा खसालिएको अणु बमको शक्तिसँग तुलना गर्दा, त्यो १० भागको एक भाग रहेको अनुमान गरेका छन्।

उनीहरूले पछिल्लो घटना आधुनिक इतिहासको सबैभन्दा ठूलो गैरआणविक विस्फोटन मध्येको एक भएको बताएका छन ।

 




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन ११ गते, आईतवार

menu LIVE TV