वैकल्पिक शिक्षा प्रणालीलाई प्राथमिकता दिनुपर्छ : शिक्षामन्त्री पोख्रेल



काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोख्रेलले कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएकाले सबै तहका सरकारले वैकल्पिक शिक्षा प्रणालीलाई प्राथमिकता दिनुपर्ने बताएका छन् । संघीय संसद, प्रतिनिधिसभा अन्र्तगतको शिक्षा तथा स्वास्थ्य समितिको शुक्रबार बसेको बैठकमा मन्त्री पोख्रेलले संक्रमणको जोखिम बढ्दै गएकाले प्रत्यक्ष कक्षा कोठामा भेला भएर पठनपाठन गर्ने अवस्था नरहेकाले सबै तहका सरकारले वैकल्पिक सिकाईलाई जोड दिनुपर्ने बताएका हुन् ।

उनले वर्तमान अवस्था असामान्य रहेकाले असामान्य ढंगले नै सिकाई र बुझाईका मान्यताहरुलाई विकास गर्नुपर्ने आवश्यकता रहेको बताए । बन्दाबन्दीका समयमा विभिन्न वैकल्पिक माध्यमबाट गरिएको सिकाई शैक्षिक सत्रसंग जोडिने र शैक्षिक सत्रको गणना हुने जानकारी गराउदै मन्त्री पोख्रेलले सोही अनुसार वैकल्पिक सिकाईलाई स्थानीय सरकारले जोड दिनुपर्ने बताए ।

मन्त्री पोख्रेलले लामो समयदेखि स्कुलहरु बन्द रहेकाले पठनपाठन प्रभावित रहेको तर्फ सरकार सचेत र गम्भीर बन्दै दूरशिक्षाको पद्धतिको आधारमा सिकाई अगाडि बढाउन निर्देशिका जारी गरेको बताए । उनले शिक्षालयहरुलाई संक्रमण हुने केन्द्रको रुपमा अगाडि बढ्न नदिने तर्फ सरकार सचेत रहेको बताए ।

बैठकमा केही समिति सदस्यले निजी क्षेत्रबाट सञ्चालित विद्यालयले अनलाइन शिक्षा सुरु गरेको भएपनि तीनै स्कुलका शिक्षकले तलब नपाएको तर सामुदायिक स्कुलका शिक्षकले तलब पाईराखेको भन्दै उनीहरुको समस्याको सम्बोधन पनि सरकारले गर्नुपर्ने धारणा राखेका थिए । केही सदस्यले विगतमा मुनाफा कमाएका निजी स्कुलले शिक्षकलाई तलब दिन नसके ती स्कुलका विद्यार्थी र शिक्षकको जिम्मा सरकारले लिनुपर्ने धारणा राखेका थिए ।




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन १३ गते, मंगलवार

menu LIVE TV