कोरोनाको कहर : कस्तो छ काठमाडौं प्रहरी प्रमुख ज्ञवालीको दैनिकी ?



काठमाडौं । यतिबेला विश्वभरका अधिकांश मुलुक कोरोना भाइरस (कोभिड–१९) लाई कसरी नियन्त्रण गर्ने भन्ने विषयमा केन्द्रित छन् । विश्व स्वास्थ्य संगठनले तयार पारेको मापदण्ड अनुसार आफ्नो क्षमता र सामर्थ्यले सकेजति प्रयास सबै मुलुकले गरिरहेका छन ।

स्वास्थ्यकर्मीपछि कोरोना नियन्त्रण तथा रोकथाममा सरकारको महत्वपूर्ण अंग सुरक्षाकर्मी बनेका छन् । नेपालको सन्दर्भमा संकटमा सुरक्षाकर्मीको भूमिका अझ महत्वपूर्ण रहेको छ ।

कोरोना सन्त्रासका बीच सेवामा समर्पित सुरक्षा निकायहरुको आ–आफ्नै भूमिका छन । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी सीमादेखि सडकसम्मका नागरिकको सुरक्षामा तल्लिन छन ।

कोरोना त्रासले सबैको दैनिकी अस्तव्यस्त बनाएको छ । दैनिक रुपमा नागरिकको समस्या समाधान तथा सचेतनाको समेत जिम्मा नेपाल प्रहरीसँग छ । यो अस्तव्यस्त माहोलमा मुलुकको मुटु राजधानी काठमाडौका प्रहरी प्रमुखको दैनिकी कस्तो छ त ?

कोरोना संकटमा अन्य आपराधिक गतिविधि कस्तो छ ? नागरिकलाई कसरी सेवा प्रदान गरिरहेको छ ? यी विषयमा आधारित भएर महानगरीय प्रहरी परिसर टेकुका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीको दैनिकी यहाँहरु माझ प्रस्तुत गर्दैछौं ।

२०५१ सालमा प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका ज्ञवालीले प्रहरी सेवामा प्रवेश गरेको २५ वर्ष पुरा गरिसकेका छन । महानगरीय प्रहरी परिसर टेकुको प्रमुख हुनुभन्दा पहिले उनी महानगरीय प्रहरी कार्यालय, रानीपोखरीको प्रवक्ताका रुपमा थिए । गत बैशाखबाट उनी महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुखको रुपमा कार्यरत छन ।

दैनिकी कसरी सुरु हुन्छ ? कसरी वित्छ ?

अहिले परिवार वा आफ्नो व्यक्तिगतभन्दा पनि काठमाडौको शान्ति सुरक्षा अमन चयन, अपराध नियन्त्रण र अनुसन्धानको विषय नै बढी प्राथमिकतामा पर्छ । हरेक दिन विहान ६ बजेबाट काम सुरु हुन्छ । बेलुका जति बजे सुते पनि विहान ६ बजेभित्र जसरी पनि उठ्नै पर्ने स्थिति छ ।

नियमित कामलाई सहज रुपमा सम्पन्न गर्न ६ बजेभित्र उठ्नै पर्छ । ढिला गरे आफैलाई समस्या हुन्छ । उठ्ने वित्तिकै पहिलो काम सुतेका अवधिमा कहीँ कतै केही भयो, कसैको फोन आयो, यी सबै विषयमा अपडेट गर्ने कार्य सुरु हुन्छ ।

७ बजेभन्दा अगाडि आउनु पर्देन । त्यसपछि जुन सुकै बेला आउनु पर्छ । अहिले प्राय विहान ८ देखि साढे ८ भित्र कार्यालय आइपुग्ने गरेको छु । घर जाने भनेको अधिकांश समय बेलुकाको ११ साढे ११ बजे हो । कतै केही घटना भएमा रातको १÷२ बजे मात्र घर पुगिन्छ ।

राती निदाएको बेलामा वा थाहा पाएन भने त्यस्तै हो, नभए जुनसुकै बेला फोन उठाउँछु । कार्यालयमा आउनु भनेकै आफ्नो निजी कामलाई कर्टल गरेर आउने हो । कार्यालयका काम नै व्यक्तिगत जस्तो लाग्छ ।

कार्यालयमा पुगेपछि हरेक दिन विहान अफिसरहरुसँग ब्रिफिङ हुन्छ । अघिल्लो दिनको कामको समिक्षा हुन्छ । आज के के गतिविधीहरु छन ? कहाँ कहाँ डिप्लोडमेन्ट छन भन्ने दैनिक छलफल गर्छौँ । अघिल्लो दिनको सबै गतिविधीहरुको बारेमा जानकारी र आजको गतिविधीका बारेमा छलफल र कार्य विभाजन गर्ने कार्य हुन्छ ।

त्यसपछि सबैभन्दा धेरै समय सर्वसाधरणसँग नै जान्छ । पीडितहरु भेटघाटका लागि धेरै पर्खेर बसेको हुन्छन् । त्यसैले धेरै समय उहाँहरुका लागि छुट्टाएको हुन्छ । बैठकहरु छन भने बैठकहरुमा गइन्छ । कुनै बेला फिल्डमा पनि जानुपर्ने हुन्छ । यसरी नै दैनिकी चलिरहेको छ ।

सबैभन्दा धेरै समय के मा जान्छ ?

सबैभन्दा धेरै सर्वसाधरणका समस्या समाधानमा नै जान्छ । लकडाउनको समयमा केही कम भएपनि लकडाउन खुलेपछि पुन नागरिकसँगको संवाद भेटघाट, उनीहरुको समस्या समाधान गर्ने विषयमा नै बढी समय जान्छ ।

नागरिकले आफ्नो समस्या सुनाउन मात्र पाएपनि हल्का महसुस गर्ने भएकाले पनि सकेसम्म धेरैसँग प्रत्यक्ष कुराकानी गर्ने गरेको छु । कानुन नै आकर्षित नहुने खालका विशेष गरी लेनदेन प्रकृतिका, धम्कीलगायतका कुराहरु जहाँ प्रमाण छैन, तर पीडितहरु हुनुहन्छ, उहाँहरु धेरै आउनुहुन्छ ।

त्यस्तै घरेलु हिंसा सम्बन्धि विषयमा बढी महिलाहरु आउने गर्छन् । दिउँसोको समयमा बैठकहरुमा पनि अलि बढी समय जाने गर्छ । यस्तै अपराध अनुसन्धानमा आफैले पनि चासो दिन्छु ।

बेलुकाका समय विशेष गरी अरु प्रहरी कार्यालयहरुको चेकजाँचमा पनि अलि समय खर्चिने गरेको छु । नहुनु पर्ने थियो यद्यपि यो बीचमा आन्दोलन व्यवस्थापनमा पनि बढी नै समय गईरहेको छ ।

कोरोना महामारीलाई परास्त गर्न सामाजिक दूरी, स्यानिटाइजेसन, मास्क प्रयोगमा जोड दिँदादिँदै पनि बाध्यात्मक गराउनु पर्ने भयो । कोरोनाबाट हाम्रा जवानहरु पनि संक्रमित भएका छन । यो हाम्रो लागि अहिलेको सबैभन्दा ठूलो चुनौती बनेको छ ।

यहाँ आउने सर्वसाधरण मेरो व्यक्तिगत भेटघाटको लागि नभई म यहाँ भएकाले आफ्नो समस्या सुनिदेला, केही उपाय खोजिदेला भनेर आएका हुन्छन् । त्यसैले सकेसम्म उहाँहरुको समस्या बुझ्ने र कानुनी बाटो के हुन सक्छ भनेर सुझाउने काम गरिरहेका हुन्छु । समग्रमा भन्नु पर्दा नागरिकको समस्या, दु.ख सुन्नेमा मेरो समय धेरै गएको छ ।

कोरोना संकटले थपिएका जिम्मेवारी ?

म यहाँ आउने बेला लकडाउन थियो । लकडाउन पालन गराउने, नागरिकलाई सचेत गराउने विषयमा समय जान्थ्यो । तर अहिले संक्रमित व्यक्ति तथा मानिसहरुको चहलपहल बढेको छ, त्यसकारण कोरोना नियन्त्रणका लागि नागरिकलाई स्वास्थ्य मन्त्रालयको मापदण्डअनुसार सचेत गराउने काममा पनि छौं ।

स्वास्थ्य सचेतनाको विषयमा निर्देशन कार्यन्वयन भए नभएको अनुगमन बाहेक आर्थिक अपराधमा पीडितका मुद्दामा अनुसन्धानहरु भइरहेको छ । अरु सामान्य खालका नियमित प्रकृतिका अपराधका घटनाहरुमा पनि निगरानी बढाउनु पर्ने अवस्था छ ।

अहिले सबैभन्दा बढी थपिएको चुनौती भनेको कोरोना संक्रमितको संख्या बढ्दै जाँदा हाम्रा अधिकृत जवानहरुलाई कसरी जोगाउने र नागरिकलाई कसरी यो संक्रमणबाट जोगाउने भन्ने चिन्ता छ ।

संकटमा अपराध बढ्छ भनिन्छ, काठमाडौको अवस्था के छ ?

अहिले अपराध बढेकै स्थिती चाहीँ होइन । तर, घरेलु हिंसा र आत्महत्याका कुराहरुमा वृद्धि भएको भन्ने कुराहरु आइरहेका छन । यद्यपि यो वृद्धि चाहीँ होइन । अन्य अपराध कम हुँदा कतिपय अपराध शून्य हुँदा यी अपराधहरु चाहीँ घटेन, रोकिएन त्यसैले धेरै देखिएको मात्र हो । समग्रमा आपराधिक घटनाहरु कम छन ।

काठमाडौको प्रहरी प्रमुखका चुनौती के के छन ?
प्रहरीमा नयाँ नेतृत्व पाएका छौं । उहाँहरुबाट एक खालको उर्जा थपिएको छ । लकडाउनपछि हुने गतिविधीलाई ध्यानमा राखेर योजनाहरु बनाई रहेका छौं । अहिले कोभिड महामारीको व्यवस्थापन पहिलो चुनौती बनेको छ ।

हामी ब्यारेकमा बस्ने भएकाले हामीलाई अझैपनि डर छ । आयस्रोत सुकेको अवस्था, के खाउँ भन्ने चिन्ता, कमाउन गएकाहरु पनि स्वदेश फर्किरहेका छन । त्यसैले आर्थिक मन्दी सृजना भइरहेका छ । यी विषयहरु शान्ति, सुुरक्षा र अपराध नियन्त्रणमा थपिएका चुनौतीहरु हुन ।

यी वास्तविकताबाट सृजना हुन सक्ने आपराधिक गतिविधी, शान्ति, सुरक्षामा खलल पुग्ने खालका गतिविधि बारे हामी सचेत छौं र यसै योजना अनुसारको प्रहरी परिचालित छन ।

हामी जोखिममा रहेर पनि नागरिकको सुरक्षाका लागि अहोरात्र खटिइरहेका छौं । काठमाडौं राजधानी भएको हकमा अन्तरदेशीय अपराधको अखडा पनि हुनसक्ने भएकोले हामीले हरेक दृष्टिकोणबाट हेरेर यी समस्याहरु आउन नदिन निरन्तर खटिरहेका छौं ।

अन्त्यमा, प्रहरीलाई सूचना अथवा कुनैपनि विषयमा सहयोग गर्नु भयो भने, यो सहयोग नागरिकलाई ब्याजसहित फिर्ता हुन्छ । तपाईहरुले दिएको सूचनाले तपाईहरुले नै सेवा प्राप्त गर्नुहुन्छ ।

प्रहरीलाई सहयोग गर्नु भनेको नागरिकले आफैलाई सहयोग गर्नु हो । नागरिक प्रहरी साझेदारीलाई प्राथमिकतामा राखेर हामीले काम गर्नेछौं । हामीलाई काम गर्ने मौका दिनुहोस्, हामीलाई विश्वास गर्नुहोस् भन्न चाहन्छु ।




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन ८ गते, बिहीबार

menu LIVE TV