सरकारसँग नागरिकको गुनासो, स्वेच्छाचारिता र अपारदर्शिता बढ्यो



  • सञ्जय श्रेष्ठ

काठमाडौं । सरकार सञ्चालनको सवालमा जनतामा असन्तुष्टि बढ्दै गएको छ । सरकारको नियमित काम र त्यसले जनतामा पारेको प्रभावको विषयमा जनता सन्तुष्ट रहेका छैनन् । सरकारका पछिल्लो गतिविधिको विरोधमा सडकमा प्रदर्शनसमेत भएका छन् ।

राष्ट्रिय सतर्कता केन्द्रमा सरकारको गतिविधिका विरुद्धमा आएको उजुरी वार्षिक रुपमा बढ्दै गएको केन्द्रका प्रवक्ता ज्ञानराज सुवेदीले बताए । उनले सरकार सञ्चालनदेखि सरकारले गर्ने विभिन्न गतिविधिहरुको विषयमा उजुरी आउने गरेको बताए ।

आर्थिक वर्ष २०७५/७६ मा १ हजार ५ सय ३५ वटा उजुरी केन्द्रमा आएका छन् । अघिल्लो आ.व. २०७४/७५ मा ७ सय २५ वटा उजुरी मात्रै आएका थिए । अघिल्लो वर्षको तुलनामा यो संख्या निकै बढी हो ।

तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भने पछिल्लो ३ वर्षदेखि उजुरीको रेसियो एउटै रहेको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए । उनकाअनुसार आयोगमा प्रत्येक वर्ष ५/६ सयको फरकमा मात्र उजुरी रहेका छन् ।

‘आयोगमा पछिल्लो समयमा एउटै रेसियोमा उजुरी आउने गरेको छ’, अधिकारीले भने, ‘४–५ सयदेखि ६ सयसम्मको फरकमा उजुरी रहेका छन् ।’ अधिकारीका अनुसार आयोगमा प्रत्येक वर्ष २४ हजारको हाराहारीमा उजुरी आउने गरेको छ । पछिल्लो ३ वर्षमा २४ हजारको असपासमा उजुरी रहेको उनले बताए ।

सबैभन्दा बढी उजुरी शिक्षामा

राष्ट्रिय सतर्कता केन्द्रमा सबैभन्दा बढी उजुरी शिक्षा क्षेत्रको आउने गरेको प्रवक्ता सुवेदीले बताए । केन्द्रमा आ.व. २०७५/७६ मा सबैभन्दा बढी शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, गृह मन्त्रालय, स्वास्थ तथा जनसंख्या मन्त्रालय र त्यस मातहतका कार्यलयको उजुरी दर्ता भएका छन् ।

जनताले प्रत्यक्ष रुपमा राजस्व संकल हुने कार्यलय र आर्थिक गतिविधि हुने कार्यलयको सबैभन्दा बढी उजुरी आउने गरेको प्रवक्ता सुवेदीले जानकारी दिए ।

त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि सबैभन्दा बढी शिक्षा क्षेत्रको उजुरी आउने गरेको आयोगका प्रवक्ता तारानाथ अधिकारीले बताए । उनले आयोगमा शिक्षाका अलवा गृह मन्त्रालय, मालपोत तथा नापी कार्यालय, यातायात तथा राजस्व संकलन क्षेत्रका बढी उजुरी आउने गरेको प्रवक्ता अधिकारीले बताए ।

आयोगमा स्थनीय तहदेखि नै शिक्षाको विषयमा सबैभन्दा बढी उजुरी आउने गरेको छ । स्थानीय तहमा शिक्षापछि विकास निर्माणको उजुरी आउने गरेको प्रवक्ता अधिकारी बताए ।

उजुरी बढ्नुको कारण सरकारको स्वेच्छाचारिता

अहिलेको सरकारप्रति जनताको बुझाई भनेको भ्रष्टाचार, अनियमितता गर्ने भन्ने छ । महामारीको समयमा भ्रष्टाचार, निश्चित कम्पनीहरुसंग मिलेर गर्ने भ्रष्टाचार, निश्चित विवादित व्यक्तिहरुसंगको सरकारको सम्बन्ध र नियुक्ति लगायतको विषयमा सरकारले अनियमितता गरेको जनताको बुझाई रहेको राजनीतिक विश्लेषक सोमत घिमिरेले बताए ।

सरकार पनि अहिले पारदर्शी छैन, जवाफदेही छैन, सरकार स्वेच्छाचारी रुपमा चलिरहेको छ, जनसरोकारको विषयमा सरकार गम्भीर नभएका कारण जनतामा असन्तुष्टि बढेको घिमिरेले बताए । त्यही भएर सरकारले गल्ती गरेपनि नगरे पनि शंका लागेको आधारमा पनि जनताले उजुरी दिने उनले बताए ।

घिमिरेले अहिलेको जनताको चेतना वृद्धि हुँदै गएको भएपनि पर्याप्त नरहेको बताए । तर, स्थानीय सरकार र केन्द्र सरकारको विषयमा पर्ने उजुरीलाई भने फरक रुपमा हेर्नुपर्ने उनले बताए । अहिले केन्द्र सरकार र स्थानीय सरकारको कार्यशैली र मनिटरिङको अवस्था पनि फरक भएको उनले बताए ।

 




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन १३ गते, मंगलवार

menu LIVE TV