उपत्यकाकै अस्पतालमा लागू भएन मापदण्ड, सेवा 'सट डाउन'को अवस्था आउनसक्ने स्वास्थ्यकर्मीको चेतावनी



  • सञ्जय श्रेष्ठ

काठमाडौं । विश्वभर बढ्दो अवस्थामा रहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नेपालमा पनि बढिरहेको छ । सीमा क्षेत्र तथा तराईका जिल्ला र काठमाडौं उपत्यकामा त संक्रमणको जोखिम अझ बढेको छ । तर, काठमाडौं उपत्याकाका विभिन्न अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीले भने सरकारले जारी गरेको सुरक्षा मापदण्ड पालनामा हेलचेक्रयाइँ गर्ने गरेका छन् ।

कोरोना नियन्त्रण गर्न पहिलो लहरमा रहने डाक्टर र नर्सहरुले स्वास्थ्य मापदण्डको सामान्य नियमलाई समेत पालना गर्न छाडेका छन् । उनीहरु नियमितमा काममा जाने र सामान्य अवस्थामा जस्तै सुरक्षा सामाग्रीबिना काम गर्ने गरिरहेका छन् ।

महामारीको सुरक्षाको दृष्टिले हेर्दा स्वास्थ्यकर्मीसँगै अस्पताल जाने सेवाग्राही पनि जोखिममा रहेका छन् । यदि त्यहाँका स्वास्थ्यकर्मीमा संक्रमण भएको अवस्थामा उनीहरको सम्पर्कमा जाने सबै जनालाई संक्रमण हुने खतरा रहेको छ ।

पछिल्लो समय काठमाडौं उपत्यकामा स्वास्थ्यकर्मी तथा सरकारी कर्मचारीहरुमा संक्रमण पनि बढी देखिएको छ । काठमाडौं उपत्यकामा कोरोना संक्रमणको अवस्था जटिल बन्दै गएको जनस्वास्थ्य विज्ञहरुले बताएका छन् ।

तर, त्यही जटिलतासंग भिड्न पर्ने स्वास्थ्यकर्मीहरु भने सरकारले बनाएको मापदण्ड अनुसारको सुरक्षा सामाग्रीहरुको प्रयोगमा हेलचेक्रयाइँ गरिरहेका छन् । उनीहरु कार्यालय समयमा पहिलेको जस्तै विद्युतीय हाजिरीको समेत प्रयोग गरिरहेका छन् ।

यता अस्पताल संञ्चालकहरु भने उपलब्ध सबै स्रोत र साधनहरुको प्रयोग भइरहेको बताउँछन् । अत्यावश्यक सामान पिपिई, पञ्जा लगायतको सामान अहिले बजारमा नपाउने र अत्याधिक महङ्गो पर्नेगरेको उनीहरुको भनाई छ ।

वीर अस्पतालको निर्देशक डा.केदार सेञ्चुरीले अत्यावश्यक सामान पाउनै मुस्किल भएको बताए । उनले बजारबाट जसरी पनि त्यस्तो सामान ल्याएर स्वास्थ्यकर्मीहरुलाई उपलब्ध गराएको बताए ।

तर, सरकारी चिकित्सक संघ (गोदान) का अध्यक्ष डा. दीपेन्द्र पाण्डेले सरकारले स्वास्थ्यकर्मीलाई सिफ्टमा परिचालन गर्न दिएको निर्देशन अस्पतालहरुले पालन नगरेको बताए । उनले स्वास्थ्यकर्मीहरु नियमित रुपमा आएर हाजिर हुने र सामान्य अवस्थामा जस्तै काम गर्दा जोखिमको स्थिति भयावह हुनसक्ने बताए ।

वीर अस्पतालले सिफ्टमा स्वास्थ्यकर्मी परिचालन नगर्दा अहिले त्यहाँको २ जना चिकित्सकलाई कोरोना लागेको र उनीहरुसंग सम्पर्कमा आएका अन्य स्वास्थयकर्मीलाई आइसोलेसनमा राखिएको छ । अस्पतालहरुले सुरक्षा अवस्थामा ध्यान नदिए अस्पतालहरु सबै सट डाउन गर्नपर्ने अवस्थामा पुग्ने अध्यक्ष पाण्डेले बताए ।

अहिले अस्पतालहरुको अवस्था निकै नाजुक बन्दै गएको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका निमित्त प्रशासन प्रमुख माधवप्रसाद घिमिरेले जानकारी दिए । उनले ४ महिनादेखि कोरोनाको कारण भएको लकडाउनले अस्पतालहरुको आर्थिक अवस्था नाजुक भएको बताए ।

घिमिरेले माहामारीको बीचमा सरकारले अन्य क्षेत्रमा काम गर्ने कर्मचारीहरु र कार्यालयलाई आर्थिक सहयोग गरेपनि टिचिङ अस्पताललाई सरकारले कुनै किसिमको सहयोग नगरेको गुनासो गरे ।

‘सरकार अस्पताललाई व्यवस्थित रुपमा सञ्चालन गर्न परिपत्र गर्छ, सबै कर्मचारी र सेवा सुविधालाई सञ्चालन गर भन्छ,’ घिमिरेले भने,‘ हामीले स्रोत र साधनले भ्याएसम्म सबै प्रयोग गरेका छौं ।’

अस्पतालले मन्त्रालयलाई धेरै पटक अवस्था नाजुक भयो भनेर जानकारी गराउँदा पनि कुनै सुनुवाइ नभएको उनले बताए । अब केही महिना यस्तै अवस्था रहे अस्पतलले सेवा दिनसक्ने अवस्था पनि नरहने घिमिरेले बताए । घिमिरेका अनुसार टिचिङमा अहिले करिब ४ सय बिरामी उपचाररत छन् ।

वीर अस्पतालको निर्देशक डा. सेञ्चुरीले कर्मचारीले अनिवार्य रुपमा हाजिर गर्नु पर्ने नियम भएको बताए । उनले काम गर्न कर्मचारी आए नआएको अवस्था हाजिरबाट मात्र थाहा हुने भएकाले हाजिरलाई अनिवार्य गरिएको बताए ।

हाजिरीको विषयमा निर्देशक डा. सेञ्चुरीले भने, धेरै कर्मचारी छन्, काममा आए नआएको कसरी थाहा पाउने । तर, हाजिरीका लागि सबैले एउटै मेसिन प्रयोग गर्दा संक्रमणको खतारा भने बढिरहेको छ ।

 




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन ८ गते, बिहीबार

menu LIVE TV