रुसी कोरोना भ्याक्सिन : जम्मा ३८ जनामा परीक्षण, साइड इफेक्ट ज्यादा भएको दावी



एजेन्सी । कोरोना महामारीमा विश्व रुमल्लिइरहेको अवस्थामा रुसले विश्वको पहिलो कोरोना भ्याक्सिन तयार गरेको मंगलबार घोषणा गर्यो । रुसले भ्याक्सिन बनाएको र प्रयोगका लागि स्वीकृत गरेको घोषणा गरेसँगै विश्वभरका वैज्ञानिकले उक्त घोषणामा शंकासहित आफ्नो धारणा राखेका छन् ।

यसैबीच रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले सफल भएको घोषणा गरेको कोरोना खोप केवल ३८ व्यक्तिमा मात्र अनुसन्धान गरिएको रिपोर्ट सार्वजनिक भएको छ । डेली मेलले रुसको आधिकारिक कागजातको हवाला दिँदै उक्त रिपोर्ट सार्वजनिक गरेको हो ।

भ्याक्सिनका धेरै साइड इफेक्ट भएको पनि रिपोर्टमा उल्लेख गरिएको छ । रिपोर्टमा दावी गरिएअनुसार केवल ३८ व्यक्तिमा परीक्षणपछि यो खोप स्वीकृत भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यममा सार्वजनिक भएका समाचारअनुसार उक्त भ्याक्सिनमा शरीर दुख्नु, सुन्निनु, उच्च ज्वरोलगायत साइड इफेक्टरूपमा देखिएको छ । साथै, परीक्षणका क्रममा कमजोरी महसुस, उर्जाको अभाव, भोक कम हुनु, टाउको दुख्ने, पखाला, नाकको थुनिनु, घाँटी दुखाइ जस्ता गुनासोहरू पनि रिपोर्ट गरिएको छ ।

छोटो अनुसन्धानपछि रुसले कोरोना विरुद्धको खोपलाई अनुमोदन गरेकाले यसको प्रभावकारीताका विषयमा थप खुल्न नसकेको बताइएको छ । यद्यपि, राष्ट्रपति पुटिनले रुसमा उत्पादन भएको खोपले सबै आवश्यक परिक्षणहरु पार गरिसकेको ठोकुवा गरेका छन् ।

रुसले आफ्रनो भ्याक्सिनलाई स्पुटनिक भि नामाकरण गरेको छ । यस खोपलाई रुसले विभिन्न देशमा पठाउने तयारीसमेत गरेको छ । अहिलेसम्म विश्वका २० राष्ट्रले खोपको माग गरेको रुसले बताएको छ ।

तर, विश्वभरका धेरै वैज्ञानिकहरूले रूसले हतारमा भ्याक्सिनलाई स्वीकृत गरेको भन्दे उसको यस कदमको कडा आलोचना गरेका छन् । वैज्ञानिकहरूले खोप गलत वा खतरनाक साबित भएमा महामारीले ठूलो रूप लिन सक्ने चेतावनी पनि दिएका छन् ।

भ्याक्सिन सार्वजनिक गर्दै पुटिनले भनेका थिए कि परीक्षणको क्रममा उनकी छोरीलाई मात्र थोरै समयको लागी ज्वरो आएको थियो । तर, मिडिया रिपोर्टहरुमा भ्याक्सिनको साइड इफेक्टको रूपमा धेरै समस्या रहेको बताएको छ ।

यसैबीच १८ वर्षभन्दा कम र ६० वर्षभन्दा माथिका मानिसहरूलाई भने भ्याक्सिन प्रयोगका लागि अनुमति अझै मिलेको छैन । त्यो उमेर समूहमा भ्याक्सिनको असरका विषयमा थप अध्ययन आवश्यक देखिएको बताइएको छ ।

यस्तै, गर्भवती र बच्चाहरूलाई स्तनपान गराउने महिलालाई पनि खोप लगाइने छैन । गम्भीर बिरामीमा परेका मानिसहरूलाई पनि थप सतर्कताका साथ खोप लागू गर्न भनिएको छ ।




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन ८ गते, बिहीबार

menu LIVE TV