कोरोनाविरुद्धको रुसी खोपप्रति अन्तराष्ट्रिय चिन्ता र शंका, सबै चिन्ता आधारहिन भएको रुसको जिकिर



एजेन्सी । रुसले कोरोनाभाइरस सङ्क्रमणविरूद्ध बनाएको खोपको सुरक्षालाई लिएर अन्तर्राष्ट्रिय रूपमा चिन्ताहरू व्यक्त भइरहेका बेला उसले ती सबै चिन्ताहरू आधारहीन भनेको छ।

रुसले मंगलबार देशको नियामक निकायले कोरोनाभाइरस सङ्क्रमणविरूद्ध रुसमै विकसित खोपलाई स्वीकृति प्रदान गरेको बताएको थियो।

उक्त खोप दुई महिनाभन्दा कम समय मात्रै मानिसहरूमा परीक्षण गरिएको थियो। विज्ञहरूले रुसले यति चाँडै खोप बनाएकोप्रति सन्देह व्यक्त गरेका छन्। त्यस्तो सन्देह व्यक्त गर्ने देशहरूको सङ्ख्या बढिरहेको छ। जर्मनी, फ्रान्स, स्पेन र अमेरिकालगायतका मुलुककले यो खोपलाई लिएर सतर्क रहन भनेका छन्। 

रुसका स्वास्थ्य मन्त्री मिखाइल मुराश्कोले रुसी समाचार एजेन्सी इन्टरफ्याक्ससँग भने, “हाम्रा विदेशी मित्रहरूलाई रुस कोरोनाविरुद्धको औषधि विकासको प्रतिस्पर्धामा अगाडि जाने र यसबाट हुने फाइदाका कारण शंका ब्यक्त गरिरहेका छन । जुन बिल्कुलै आधारहीन छन।” 

उनले खोप चाँडै नै उपलब्ध हुने बताए। उनले आउँदो दुई सातामा खोपको पहिलो खेप आउने र त्यो सुरुमा चिकित्सकहरूलाई दिइने जानकारी दिए। 

रुसी अधिकारीहरूले आगामी अक्टोबरदेखि ठूलो सङ्ख्यामा मानिसहरूमा खोप लगाउन सुरु गरिने योजना रहेको बताएका छन्। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मङ्गलवार खोप बनेको घोषणा गरेका थिए। उनले उक्त खोप प्रभावकारी भएको र त्यसले रोग प्रतिरोधी क्षमतालाई बलियो बनाएको दाबी गरेका थिए। उनले आफ्नी एउटी छोरीलाई पनि उक्त खोप दिइएको बताएका थिए।

विश्व स्वास्थ्य सङ्गठनले यो खोप बारे समीक्षा गर्न रुसी अधिकारीहरूसँग सम्पर्क गरिरहेको बताएको छ। उक्त खोप विश्व स्वास्थ्य सङ्गठनले तेस्रो चरणको परीक्षणमा पुगेका भनी सूचिकृत गरेका ६ वटा खोपहरूको सूचिमा राखेको छैन।

जर्मनीका स्वास्थ्य मन्त्री येन्स स्पानले भनेका छन्, “लाखौँ मानिसहरूलाई खोप लगाउन सुरु गर्नु एउटा खतरनाक कुरा हो, किनकी यदि त्यसमा केही खराबी भए मानिसहरूको खोपप्रतिको विश्वास नै समाप्त हुनेछ । हामीलाई जानकारी भए अनुसार, खोपको उचित परीक्षण भएको छैन । पहिला खोप बनाउनेको होइन, जरुरी त के छ भने एउटा सुरक्षित खोप विकास होस्।”

फ्रेन्च न्याशनल सेन्टर फर साइन्टिफिक रिसर्चकी अनुसन्धानकर्ता इसाबेल इम्बर्टले ला पेरिसियो अखबारलाई यति चाँडो उपचारको दाबी गर्नु निकै खतरनाक हुनसक्ने बताएकी छन्। अमेरिकाका वरिष्ठ भाइरस रोग विशेषज्ञ डा. एन्टोनी फाउचीले रुसी दाबीप्रति आशङ्का व्यक्त गरेका छन। 

तर केही देशले रुसको घोषणालाई सकारात्मक रूपमा लिएका छन्। फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले आफैले उक्त खोपको परीक्षण गर्ने बताएका छन्। उनले भने, “मलाई विश्वास छ रुसले बनाएको खोप वास्तवमै मानवताका लागि असल कुरा हो। म त्यसको परीक्षण गर्ने पहिलो व्यक्ति हुनेछु।”

इजरेलले यदि यो वास्तवमै उपयुक्त सावित भए किन्नका लागि सम्झौता गर्ने जनाएको छ। अहिले विश्वमा विभिन्न देशमा समानान्तर रूपमा दर्जनौँ खोपको निर्माण र केहीको मानवमा परीक्षण गर्ने काम चलिरहेको बिबिसीले जनाएको छ।




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन ११ गते, आईतवार

menu LIVE TV