नेकपा अध्यक्षद्वय ओली-प्रचण्डबीच बालुवाटारमा भेटवार्ता सुरु



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीच भेटवार्ता सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भेटवार्तामा पार्टीमा देखिएको विवाद अन्त्यको प्रयास हुने बालुवाटार स्रोतले जनाएको छ ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले पाँच दिनमै नेकपाभित्रको विवाद अन्त्य हुने बताएको भोलि पल्ट नै भएको भेटवार्तालाई अर्थपूर्णरुपमा हेरिएको छ । आजको भेटवार्तामा निकासका लागि ओलीले महाधिवेशन आयोजक समिति बनाएर अगाडि बढ्ने नयाँ प्रस्ताव गर्ने स्रोतको दावी छ ।

पटक पटकका भेटवार्ता निष्कर्षमा नपुगेपछि पछिल्लो एकहप्तादेखि अध्यक्षद्वय ओली-प्रचण्डबीच संवादहीनताको अवस्था थियो । स्थायी कमिटी बैठकमा ओलीले दुबैपदबाट राजीनामा दिनुपर्ने आवाज उठेपछि प्रधानमन्त्रीले बैठक टारिरहेका छन् ।

विवाद बढ्दै गएपछि दुबैपक्षले एकअर्कालाई दबाब बढाउँदै गएका छन् । एक सचिवालय सदस्यका अनुसार तत्काल विवाद समाधानको सम्भावना छैन । आजको छलफल पनि एकअर्काविरुद्ध दबाब बढाउने उद्देश्यले हुन लागेको ती नेताको दावी छ ।




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन ११ गते, आईतवार

menu LIVE TV