काेराेना राेकथाम र नियन्त्रणका लागि उपत्यकाका जिल्लाहरूमा अनुगमन टोली



काठमाडाैं । गृह मन्त्रालयले कोभिड-19 को संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि उपत्यका जिल्लाहरूमा अनुगमन टोली परिचालन गरेकाे जनाएकाे छ । मन्त्रालयले बिहिवार साँझ एक विज्ञप्ति जारी गर्दै साे जानकारी दिएकाे हाे ।
मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाद्वारा जारी विज्ञप्तिमा भनिएकाे छ, 'काठमाण्डौं उपत्यका भित्र काठमाण्डौ जिल्लामा ५ वटा, ललितपुर र भक्तपुर जिल्लामा ४/४ वटा अनुगमन टोली परिचालन गरी अनुगमन तथा कारबाहीलाई तीव्र बनाइएको छ । '

उक्त अनुगमन टाेलीले सवारी साधन सञ्चालनमा जोर विजोर प्रणालीको पालना गर्ने गराउने, आवागमनको लागि तोकिएका सवारी साधनहरूमात्र चल्ने व्यवस्था मिलाउने, भौतिक दुरीको पालना गर्ने गराउने, अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने गराउने लगायतका निर्देशन पालना भए नभएकाे अनुगमन गर्दै कारबाहीकाे सिफारिस गर्ने विज्ञप्तिमा उल्लेख छ ।


प्रेस विज्ञप्ति

विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोभिड-19 को संक्रमण नेपालमा समेत बढ्दै गएको छ। कोभिड-19 को संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकार मन्त्रिपरिषदबाट विभिन्‍न मितिमा भएको निर्णयलाई प्रभावकारी कार्यान्वयनका लागि गृह मन्त्रालयबाट मातहत सुरक्षा निकाय तथा सबै जिल्ला प्रशासन कार्यालयहरूलाई आवश्यक निर्देशन तथा सो को निरन्तर ताकेता भईरहेको छ ।

कोभिड-19 को नियन्त्रण, रोकथाम तथा प्रतिकार्यका सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी जनस्वास्थ्य मापदण्ड र गृह मन्त्रालयद्वारा जारी सुरक्षा मापदण्ड तथा गृह मन्त्रालयद्वारा यस सम्बन्धमा जारी भएका निर्देशन अनुरूप सबै सुरक्षा निकाय तथा जिल्ला प्रशासन कार्यालयहरूबाट समन्वयात्मक रूपमा कार्यान्वयन भईरहेको छ ।

काठमाण्डौ उपत्यका भित्र र २०० भन्दा बढी सक्रीय संक्रमित रहेका जिल्लामा चल्ने सवारी साधन सञ्चालनमा जोर विजोर प्रणालीको पालना गर्ने गराउने, आवागमनको लागि तोकिएका सवारी साधनहरूमात्र चल्ने व्यवस्था मिलाउने, भौतिक दुरीको पालना गर्ने गराउने, अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने गराउने लगायतका निर्देशनलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न गराउन काठमाण्डौं उपत्यका भित्र काठमाण्डौ जिल्लामा ५ वटा, ललितपुर र भक्तपुर जिल्लामा ४/४ वटा अनुगमन टोली परिचालन गरी अनुगमन तथा कारबाहीलाई तीव्र बनाइएको छ । यसै प्रकारको अनुगमन टोली परिचालन गरी साप्ताहिक कार्य प्रगति पठाउन अन्य जिल्लाहरूलाई समेत निर्देशन दिइएको छ।

हालसम्म मास्क प्रयोग नगरी हिड्ने ४,१९,५३८ जना व्यक्तिहरुलाई नियन्त्रणमा लिई ३,५४,८२४ जनालाई सम्झाई बुझाई छाडिएको ३९,५०७ जनालाई मास्क वितरण गरी सम्झाई बुझाई पठाइएको र २५,२०७ जनालाई जरिवाना गरी छाडिएको छ । हालसम्म अनुमति विना काठमाडौं उपत्यका प्रवेश गर्न खोज्ने ७,६३५ वटा सवारी साधन तथा अनुमति विना उपत्यका प्रवेश गर्न खोज्ने १९,४८३ यात्रुहरुलाई प्रवेश नाकाबाटै फिर्ता गरिएको छ।

यस सम्बन्धमा नेपाल सरकार, मन्त्रिपरिषद्, गृह मन्त्रालय र सम्बद्ध निकायबाट विभिन्न मितिमा भएका निर्णय तथा निर्देशन तथा मापदण्डहरुको पूर्ण पालना गर्ने गराउने र कोभिड-१९ को रोकथाम तथा नियन्त्रण गर्ने कार्यमा आम नागरिकबाट भईरहेको सकारात्मक सहयोगका लागि धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि सवैबाट थप सकरात्मक सहयोगको लागि हार्दिक अनुरोध गरिन्छ ।
मितिः २०७७/०४/२९




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन ११ गते, आईतवार

menu LIVE TV