नरेन्द्र मोदी भारतको चौथो सबैभन्दा लामो सेवा गर्ने प्रधानमन्त्री



नयाँदिल्ली । जवाहरलाल नेहरू, इन्दिरा गान्धी र मनमोहन सिंह पछि प्रधानमन्त्री नरेन्द्र मोदी बिहीबार (अगस्ट १३) देखि भारतीय इतिहासमा चौथो सबैभन्दा लामो अवधि सेवा गर्ने प्रधानमन्त्री बनेका छन् ।

प्रधानमन्त्री मोदी काङ्ग्रेस इतर दलबाट सबैभन्दा बढी समय भारतको सरकार प्रमुखका हैसियतमा सेवा गर्ने पहिलो राजनेता भएका छन् । उनले उनकै दल भारतीय जनता पार्टीका नेता तथा पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीलाई पछाडि पार्दै गैर–काङ्ग्रेस दलबाट सबैभन्दा बढी प्रधानमन्त्री बन्ने इतिहास बनाउन सफल भएका हुन् ।

नरेन्द्र मोदीले सन् २०१४ को मे २६ मा भारतीय १४औं प्रधानमन्त्रीका रुपमा आफ्नो पहिलो कार्यकाल सुरु गरेका थिए । उनको दोस्रो कार्यकाल ३० मे २०१९ मा सुरु भएको हो ।

भारतको इतिहासमा जवाहरलाल नेहरू अहिलेसम्म सबैभन्दा लामो अवधि प्रधानमन्त्री बनेका नेता हुन् । उनको कार्यकाल झण्डै १७ वर्ष रहेको थियो । उनकी छोरी तथा भारतीय पूर्व प्रधानमन्त्री इन्दिरा गान्धील क्रमशः ११ वर्ष र करिब पाँच वर्ष गरी दुई कार्यकालमा १६ वर्ष पूरा गरेका थिए ।

त्यस्तै काङ्ग्रेस नेता डा मनमोहन सिंह लगातार दुई पटक पाँच वर्षको सेवा गरी भारतीय इतिहासमा तेस्रो लामो समय प्रधानमन्त्रीका रूपमा सेवा गर्न सफल व्यक्तित्व हुन् ।

मोरारजी देसाई (मार्च २४ १९७७-जुलाई २८, १९७९), चरण सिंह (जुलाई २८,१९७९-जनवरी १४, १९८०), विश्वनाथ प्रताप सिंह (डिसेम्बर २, १९८९-नोभेम्बर १०, १९९०), चन्द्रशेखर (नोभेम्बर १०,१९९०-जुन २१, १९९१), एचडी देवेगौडा (जुन १, १९९६-अप्रिल २१, १९९७) र इन्दर कुमार गुजराल (अप्रिल २१, १९९७-मार्च १९, १९९८) आफ्नो कार्यकाल पूरा नगरेका काङ्ग्रेस इतरका अन्य प्रधानमन्त्रीहरू हुन् ।

नरेन्द्र मोदी भारतको ७४औं स्वतन्त्रता दिवसको दुई दिन अगाडि सबैभन्दा लामो सेवा गर्ने चौथो प्रधानमन्त्री बनेका छन् । यही अगस्ट १५ मा उनले भारतीय प्रधानमन्त्रीका रूपमा स्वतन्त्रता दिवसका अवसरमा लालकिल्ला (रेड फोर्ट)परिसरबाट सातौं सम्वोधन गर्नेछन् ।




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन १० गते, शनिबार

menu LIVE TV