‘बदला बरिलै’ : महिला हिंसाविरुद्ध कारुणिक व्यथा समेटिएको गीत



  • नारायण शर्मा

“बदला बरिलै” गीत झट्ट सुन्दा र हेर्दा बलात्कार गरी हत्या गरिएकी कन्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको वास्तविक कथा जस्तो लाग्छ । गीतको म्युजिक भिडियो हेर्ने दर्शकले सायद देवी घर्तिको आवाज र केकी अधिकारीको अभिनयमा निर्मला पन्तकै स्वरुप कल्पिने गर्छ्न ।

नारीलाई दासी र खेलौना सम्झने हाम्रो समाजभित्र जरा गाडेर बसेको गलत सोच र आपराधिक मानसिकतालाई उजागर गरेको छ यस गीतले । हाम्रो प्रशासन, न्याय प्रणाली र राजनैतिक नेतृत्व तह भित्रको भ्रष्ट तस्बिरलाइ छर्लङ्ग उतारिदिएको छ गीतले ।

“सम्हालेर राखेको फुल जस्तो जोवन, बरिलै चुड्यो बरै पापीले
खुलेन कहिल्यै न्यायको ढोका, बरिलै गरिबको चाबीले”

निकै यथार्थ बोलेको छ, यस गीतको यो टुक्काले । यो गीत रिलिज हुनुभन्दा दुई दिन अगाडि अर्थात २०७७ साउन १५ गते कंचनपुर जिल्ला अदालतले निर्मला पन्तको बलात्कार र हत्याको घटनामा प्रमाण नष्ट गरेको अभियोग लागेका आठ प्रहरी अधिकृतहरुर्लाइ सफाइ दियो ।

२०७५ साउन १० गते बिहान कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामस्थित आफ्नो घरबाट निस्किएकी १३ वर्षींय बालिका निर्मला पन्त अर्को दिन उखुबारीमा मृत अवस्थामा भेटिइन । मेडिकल रिपोर्टमा उनको बलात्कारपछि हत्या भएको प्रमाणित भयो ।

तर, घटनाको मुचुल्का उठाउने बेला देखिनै प्रहरी प्रशासनबाटै घटनाका प्रमाणहरु नष्ट गर्ने काम भएको भिडियोहरु सामाजिक सन्जालमा छाए । अनुसन्धानमा गएको प्रहरीको समूहसमेत प्रमाण नष्ट गर्ने काममा लागेको आरोप लाग्यो ।

बलात्कारी हत्यारालाई गिरफ्तार गरी कारबाहीको माग गर्दै देशभर आन्दोलन उठ्यो । आन्दोलनको राप बढ्दै गएपछि प्रहरीले मानसिक सन्तुलन ठिक नभएका दिलिप बिष्टलाई दोषी भन्दै गिरफ्तार गर्यो ।

उनलाइ यातना दिएर अपराध कबुल गर्न लगाइयो । तर, प्रहरीको त्यो झुठलाई जनताले पत्याएनन । आन्दोलन रोकिएन, झनै बढ्दै गयो । प्रहरी प्रशासनबाट नै घटनाका प्रमाणहरु नष्ट गरिएको भन्दै निर्मला की आमा दुर्गादेवीले २०७५ मङ्सिरमा कञ्चनपुरका तत्कालीन एसपी दिल्लीराज बिष्ट , सिआइबीका डिएसपी अंगुर जिसी, कञ्चनपुरका तत्कालीन डिएसपी ज्ञान बहादुर सेठी, इन्स्पेक्टरद्वय एकेन्द्र खड्का र जगदिशप्रसाद भट्ट, सइहरु रामसिंह धामी र हरिहरसिंह धामी तथा प्रहरी जवान चादनी साउदका विरुद्ध सार्वजनिक न्याय विरुद्धको कसुरमा जाहेरी दिइन् ।

यस्तै, प्रहरीले निर्मला पन्तको बलात्कार र हत्यामा दोषी भनेर सार्वजनिक गरेको दिलिप बिष्टका दाजु खडक बिष्टले तिनै प्रहरी अधिकृतहरुका विरुद्ध यातना सम्बन्धी कसुरमा जाहेरी दिएका थिए । घटनाको प्रमाण नष्ट गर्ने काममा दोषी देखिएको भनि जाहेरीमा उल्लेख गरिएका तीनै आठ जनालाइ दुई वर्षपछि आएर २०७७ साउन १५ गते कञ्चनपुर जिल्ला अदालतले सफाइ दियो ।

सवाल जिल्ला अदालतको मात्र होइन, यहाँ सर्बोच्च अदालतकै पनि हालत उस्तै देखियो । श्रीमती हत्या अभियोगमा सर्वस्वसहित आजीवन कारावासको सजाय भोगिरहेका शसस्त्रका पूर्व डिआइजी रन्जन कोइराला ८ वर्ष ६ महिनामै रिहा भए ।

प्रधानन्यायाधीश चोलेन्द्र राणा र न्यायाधीश तेज बहादुर केसीको इजलासबाट भएको फैसलाअनुसार रन्जन जेलमुक्त भएका थिए । यी त केही नमूना मात्र हुन्, सत्ता, शक्ति र पैसाका अगाडि न्यायमूर्ति भनिनेहरु र हाम्रो न्यायालय लम्पसार परेका यस्ता अन्य पनि कैयौँ उदाहरणहरु छन ।

यो व्यवस्थामा न्यायालयको ढोका गरिबको साँचोबाट होइन हुनेखानेहरुको पैसाको बिटोबाट मात्र खुल्छ भन्ने तथ्य घटनाक्रमहरुले प्रष्ट पार्दै लगिरहेका छन । यहाँ अदालतमा न्याय पनि पसलमा किनबेचका लागि राखिएको बस्तु जस्तै भएको छ ।

गीतमा प्रकाशले ठीकै भनेका छन्, न्यायको ढोका यहाँ गरिबको चाबीले खुल्ने गरेको छैन । भिडियोमा देखिने कथासार गाउँको सामान्य परिवारकी एक साधारण युवती, जसले गायिका बन्ने ठूलो सपना बोकेकी थिइन ।

ठाउँ–ठाउमा आफ्नो प्रतिभा प्रस्तुत गर्दै हिड्थिन । लोक गीतका प्रतियोगिताहरुमा भाग लिन्थिन्, यो सोचेर की यस्तै खुड्किलाहरु चढ्दै गएपछि आफू एक दिन देश विदेशले चिन्ने ठुलै गायिका बन्नेछु ।

तर, ती सरल स्वभाविक युवतीले समाजमा वरिष्ठताको खोल ओढेका कथित समाजसेवी भनाउदाहरु भित्र पनि दानवीय रुप लुकेर बसेको हुन्छ भन्ने कुराको सुइको पाउन सकिनन् । एउटा लोकगीत प्रतियोगितामा गीत गाएर पुरस्कार जित्छिन उनले ।

त्यही समारोहको प्रमुख अतिथि रहेको कथित समाजसेवीको हातबाट पुरस्कार ग्रहण गर्छिन उनले । त्यस दुष्टले समारोहमै उनीमाथि गिद्दे दृष्टि लगाइरहेको हुन्छ ।

पुरस्कार दिने बेला उसले गरेको व्यवहार उनलाई असामान्य त लाग्यो तर त्यसका विरुद्द बोल्न सकिनन् । पुरस्कर लिएर घर हिड्दै गरेकी ती युवतीलाई जोर जबरजस्ती गरेर त्यो कथित प्रमुख अतिथिले जङ्गलमा लग्यो ।

त्यो दुष्टले आफ्नो राक्षस रुप देखाउदै उनीमाथि झम्टिन थाल्यो । उनले हार गुहार र बिन्ती गरिन् । तर, त्यो दुष्टले उनको कुनै पुकार सुनेन । आफ्नो अस्मिताको रक्षा गर्न उनले सक्दो प्रयास त गरिन् तर उनको त्यो प्रयास सफल हुन सकेन ।

उनी गुहार माग्दै अलाप विलाप गरिरहिन् तर त्यो एकान्त अनकण्टार जङ्गलको ठाउँमा उनको वेदना सुन्ने कोही थिएनन् । त्यो मानवको खोल ओढेको दानवले उनको अस्मिता लुटिरह्यो ।

आफ्नो यौनप्यास मेटेपछि त्यो दुष्टले ती युवतीको हत्या गर्यो । आफ्नो कर्तुत अरुले थाहा नपाउन भनेर त्यो दुष्टले ती युवतीको शवलाई उनकै सलको पासो लगाएर रुखमा झुण्डाइदियो र आफू त्यहाँबाट सुइकुच्चा ठोक्यो ।

छिटो छिटो भाग्ने क्रममा त्यो अपराधीले आफुले समारोहमा लगाएको प्रमुख अतिथिको ब्याच र हातको घडी त्यही छोड्छ । तथ्य, प्रमाणहरु त हुन्छ्न ती युवतीको बलात्कारपछि हत्या भएको भन्ने, तर, प्रहरी प्रशासनले ती प्रमाणहरुको वास्ता गर्दैन । युवतीका बाबुआमा न्यायको भिख माग्दै पुलिस प्रशासन र न्यायालय धाउँछन् ।

तर, अह उनीहरुले न्याय पाउँदैनन् । पुलिस प्रशासन र न्यायालयलाई त त्यही दुष्टले खरिद गरिसकेको हुन्छ । गरिबको पुकार सुन्दैन त्यो प्रशासन र न्यायालयले ।

आफ्नी छोरीको बलात्कार गरी हत्या गरिएको थाहा पाएपछि कति रोयो होला ती बाबाआमाको मन ? मनमा पीरको भारी बोकेरै ती बाबुआमा छोरीको बलात्कारी हत्यारालाई सजाय दिलाउन निरन्तर लागिरहन्छन् ।

यता युवतीका बाबुआमा न्यायको खोजीमा भौतारिइरहेका हुन्छ्न, उता त्यो बलात्कारी हत्यारा त्यही समाजमा आनन्दले हिँडिरहेको हुन्छ । प्रहरी प्रशासन, न्यायालय कतैबाट पनि न्याय नपाएपछि बलात्कार गरी हत्या गरिएकी तीनै युवती प्रेत बनेर आउँछिन् ।

युवती देखेपछी र्याल काढ्दै गिद्देदृष्टी लगाइहाल्ने त्यो दुष्टलाई जालमा फसाउँछिन् र त्यही ठाउमा पुर्याउँछिन, जहाँ त्यो दुष्टले उनको बलात्कार गरी हत्या गरेको थियो । त्यही ठाउँमा उस्को पनि हत्या गरी रुखमा झुण्डाइदिएर युवतीले आफुमाथि भएको बलत्कार र हत्याको बदला लिन्छिन ।

गीतमा कलापक्ष उत्कृष्ट
लोकदोहोरी गायक तथा सर्जक प्रकाश सपूतको परिकल्पना, लेखन, सङ्गीत र निर्देशनसमेत रहेको यस गीतमा स्वर देवी घर्तिको रहेको छ । गीतको भिडियोमा नायिका केकी अधिकारीले बलात्कारपछि हत्या गरिएकी युवतीको र ध्रुव कोइरालाले मुख्य खलनायकको भूमिका निभाएका छन् ।

गीतको म्युजिक भिडियोमा कलाकारहरु हिउँवाला गौतम, अर्जुन आचार्य, भद्र कुँवर, सन्ध्या गौतम बराल, बाल कलाकार बिर्षा बराल र इजुलिया आचार्यको समेत अभिनय रहेको छ ।

गीतमा कोरस आवाज सुनितामी परियार र स्मृति शाहीले दिएका छन । हिमाल शर्मा, मिलन कटुवाल र सुजन राईले छायांकन गरेका दृष्यहरुलाई प्रविण भट्टले सम्पादन गरेका छन् । प्रकाश सपूतकै युट्युव च्यानलबाट १ अगष्ट २०२० अर्थात २०७७ साउन १७ गते यो म्युजिक भिडियो सार्वजनिक भएको छ ।

“बदला बरिलै” गीतमा कलापक्ष निकै शसक्त र राम्रो रहेको छ । गीतका प्रत्येक शब्दहरु मन छुने खालका छ्न । पुरानो तिजी भाकाको मेलोडीमा रहेको यो गीतको सङ्गीत पनि निकै कर्णप्रिय छ ।

वरिष्ठ लोक गायिका देवी घर्तिको स्वरले गीतका शब्द र सङ्गीतमाथि पूर्णरुपमा न्याय गरेको छ । देवीको त्यो स्वर सुनेपछि यस्तो लाग्छ की त्यो गीत गाउन अन्य गायिकालाई दिएको भए सायद त्यो गीतप्रति न्याय नहुन सक्थ्यो ।

गायिका मात्र होइन मुख्य नायिका र अन्य कलाकारहरुको छनौटमा पनि सर्जक सपूत सफल देखिएका छन । सबै कलाकारहरुले आआफ्नो भूमिका राम्रो निभाएका छन ।

नायिका केकी अधिकारी र खलनायक ध्रुव कोइराला दुबैको अभिनयमा जीवन्तता झल्कन्छ । यो गीतको भिडियोले प्रमाणित गरेको छ । प्रकाश लोकदोहोरी गाउन, गीतका शब्द, सङ्गीत गर्न र अभिनय गर्न मात्र होइन, निर्देशनमा पनि अब्बल रहेछन् ।

यो गीतको म्युजिक भिडियो हेर्ने जोकोहीका पनि आँखा नरसाइ रहन सक्दैन । भिडियोका प्रत्येक दृष्यहरुले दर्शकहरुको मन छुन्छन् । गीतको भिडियोमा लोक दोहोरी प्रतियोगितामा प्रमुख अतिथि बनेका व्यक्तीमा जुन नीच सोच र आपराधिक मानसिकता देखाइएको छ, त्यस्तो प्रवृत्ति बोकेका मान्छेहरु हाम्रो समाजमा प्रसस्त हुन सक्छन ।

त्यो त एउटा प्रतिनिधि पात्र मात्र हो । पाप–पुण्य र नैतिकता, अनुशासनका ठूला ठूला प्रवचन दिने धर्मभिरु बाबाहरु समेत यौन काण्डमा फसेका समाचारहरु हामीले देखिरहेकै छौ । राजनीति, कलाकारिता, समाजसेवा यी कुनैपनि क्षेत्र त्यस्तो छैन । जहाँ महिला हिंसा नभएको होस ।

“बदला बरिलै” गीतले प्रष्ट रुपमा सङ्केत गरेको छ की समाजमा बलात्कार, हिंसा र अपराधहरु समाजका ठूला भनाउँदाहरुको संरक्षणमै बढिरहेको छ । सबैभन्दा पहिला तीनै ठूलाबडा भनिनेहरुको सोचमा परिवर्तन ल्याउनु जरुरी छ ।

उनीहरुले बोली र व्यवहारमा समानता ल्याउनु आवस्यक छ । समाधानको मार्ग अस्पष्ट “बदला बरिलै” गीतले हाम्रो समाजमा व्याप्त गलत सोच, प्रवृत्ति र आपराधिक मनोवृत्तिको यथार्थ चित्रण त गरेको छ, तर समाधानको प्रष्ट मार्ग भने देखाउन सकेको छैन ।

भिडियोमा युवतीले प्रेत बनेर बदला लिइएको देखाइएको छ । तर, हामीलाई थाहा छ, भुत प्रेत भनेका अन्धविश्वास र काल्पनिक कथा भित्रका पात्र हुन । मानिसलाई डर, त्रासमा राख्न र आफ्नो स्वार्थ पुरागर्न इतिहासमा कुनै ठूलाबडाहरुले रचेको काल्पनिक ग्रन्थ भित्रका पात्र हुन्, भुत प्रेत ।

भुत–प्रेत बनेर आफूमाथि भएको अन्याय र अत्याचारको बदला लिने कुरा अहिलेको वैज्ञानिक युगमा पत्याउनै नसकिने कुरा हो । भन्न त भिडियोको अन्तिममा सर्जक प्रकाश आफैले भुत, प्रेत हुन्छ भन्ने कुराप्रति विश्वास नरहेको कुरा बताएका छन् ।

तर, भिडियोमा भुत, प्रेत बनेरै बदला लिइएको देखाइएको छ । आफ्नै विश्वासका विरुद्धमा भुत, प्रेत बनेर बदला लिइएको देखाउनु पर्ने बाध्यता के थियो त्यस्तो ? के त्यसको ठाउँमा अरु कुनै स्वभाविक विधिद्वारा बदला लिएको देखाउन सकिदैनथियो ?

भिडियो हेरेपछि स्वभाविक रुपमा प्रश्न उठ्छ । यो पनि सत्य हो की समाजमा आपराधिक मानसिकता बोकेका बलात्कारी हत्याराहरुले सजाय पाउनैपर्छ । यदि कानुन र प्रशासनले त्यस्ता अपराधीलाई सजाय दिन सकेन भने पीडितहरु मिलेर उसलाई जनस्तरबाट नै कारबाही गर्नुपर्छ ।

त्यस्ता आपराधिक मानसिकता बोकेका दुष्टहरु यो समाजमा रहुन्जेल यो समाज कहिल्यै पनि सभ्य बन्न सक्दैन, समुन्नत र समानतामुलक बन्न सक्दैन । त्यसैले त्यस्तो बलात्कार जस्तो आपराधिक सोच बोकेर समाजमा लुकेका गलत तत्वहरुलाइ कारबाही हुनै पर्दछ ।

“बदला बरिलै” गीतले दिन खोजेको मुल सन्देश त्यही हुनुपर्छ । सायद, त्यही कुरालाई बुझाउन भुत, प्रेतको विम्ब लिइएको हुन सक्छ । तर, राम्रो सोचाइ र नियतका साथ ल्याइएको भएपनि यो गीतको भिडियो हेरिसकेपछि त्यसले अन्धविश्वासलाई जिबित राख्न कतै मद्दत त पुर्याउँदैन ? भन्ने तथ्यतर्फ ध्यान नपुगेको देखिन्छ ।

त्यो कुरा सर्जकले ख्याल गर्नु पर्दथ्यो । जिउँदो छँदा नसके, मरेपछि पनि बदला लिन सकिन्छ है भन्ने सन्देस जानु पक्कै पनि राम्रो होइन । जब कुनै समस्याको उजागर गरिन्छ भने आफूले देखेको बुझेको त्यो समस्याको सामाधानको उपाय पनि गीतमा राख्दा राम्रो हुने थियो ।

तर, गीतमा समाधानको त्यो उपाय प्रष्ट रुपमा खुलाइएको छैन । एकछिन भिडियोलाइ एकातर्फ पन्छाएर गीतका शब्द मात्र सुन्ने हो भने त्यहाँ कारुणिक व्याथा र बेदना मात्र भेटिन्छ, बदला लिनुपर्छ है भन्ने भावना जागृत गराउने शब्द भेटिदैन ।

गीतको अन्तिम टुक्कामा भनिएको छ, “खेलौना जस्तै देख्दो रैछ हामीलाई बरिलै समाजको दृष्टिले, छोरी भएर जन्मिनु अभिसाप हो भने बरिलै नजन्माइदेउ सृष्टिले”

यहाँ आसा र गुनासो अलौकिक शक्तिप्रति गरिएको छ । छोरी भएर जन्मिनु कदापी अभिसाप होइन । पितृसत्तात्मक गलत सोचका कारण महिलाहरु पछि पारिएका हुन । हामी पुरुषभन्दा कमजोर हुन्छौ भन्ने भावना महिलामा विजारोपण गराएको हाम्रो पितृसत्तात्मक सोचले हो ।

वास्तविकतामा छोरीहरु पनि छोराभन्दा कुनै कुरामा कम हुदैनन् । अवसर पाएको खण्डमा उनीहरुले पनि गरेर देखाउन सक्छन् भन्ने उदाहरणहरु छन् । त्यही गलत पितृसत्तात्मक सोचका कारण महिलालाई समाजले खेलौना जस्तो देख्ने गरेको हो ।

गीतमा त्यो तथ्य उजागर त गरिएको छ, तर त्यो प्रवृत्तिका विरुद्ध जुध्न आव्हान गरिएको छैन । समाजमा महिलालाइ दास र खेलौना ठान्ने सोचको विकास गराएको भनेको सामन्ती पुरातनवादी विचार र संस्कारले हो ।

सामन्तवादी र साम्राज्यवादी संस्कार र सस्कृतिका विरुद्धमा नजुधे हामीले नारी पुरुषले बराबर हक र अधिकार पाउने स्थिती देशमा बसाल्न सक्दैनौँ । गीतले त्यो कुरा प्रष्ट रुपमा बोल्न सकेको भए अझ राम्रो हुन्थ्यो ।

समाजमा व्याप्त गलत सोच र प्रवृत्तिका विरुद्दमा सचेतजनहरुबाट निरन्तर अभियान चलाएर मात्र हामीले सभ्य र समानतामुलक समाज निर्माण गर्न सक्नेछौँ । महिलामाथि हुने गरेका यौनजन्य हिंसाका विरुद्दमा पनि हामीले लगातार रुपमा सचेतनाका अभियानहरु चलाइराख्नु पर्छ ।

निष्कर्षमा “बदला बरिलै” बलात्कार र महिला हिंसालाई मुख्य विषयवस्तु बनाएर एउटा यथार्थवादी गीतको रुपमा आएको छ । एक व्यवसायिक कलाकारबाट सामाजिक विकृती र विसङ्गतीको उजागर गर्दै ल्याइएको यो गीतलाइ सबैले सकारात्मक रुपमा लिनुपर्दछ ।

गीत निकै हृदयस्पर्शी खालको छ । सामाजिक विषयवस्तुलाई आधार बनाएर आगामी दिनमा अझ चेतनामुलक सृजनाहरु आइरहुन् । सर्जक प्रकाश सपूत र “ बदला बरिलै” गीत निर्माण टिमका सम्पुर्ण सदस्यहरुलाई हार्दिक बधाईका साथ यो गीतको अझ उच्च सफलताको शुभकामना पनि ।

लेखक : पत्रकार तथा रक्तिम सांस्कृतिक अभियानमा आवद्ध कलाकार हुन् ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: