एउटा मान्छे

कविता



  • कृष्णकुमार उप्रेती

गगनचुम्बी महलले भरिएको शहरभित्र
संघर्ष गरिरहेको छ, उ एक टुक्रा रोटीका लागि
गणतान्त्रिक राजा–रजौटाहरुसँग हात जोडिरहेको छ
न्युनतम आधारभूत आवश्यकताका लागि ।।

रमेका छन् हरमान्छ शहरको रमझमभित्र
कुदिरहेका छन् चिल्ला कारहरु शहरको वक्षस्थलमा
तर त्यही रमझमको बीचमा यात्रा गरिरहेको छ
एउटा मान्छे, जीवनमरणको दोसाँधमा

जीवन मरणको दोसाँधमा
साच्ची नै, युद्धभूमिमा लडेको योद्धाझैं
उस्को अनुहार पोतिएको छ
आधुनिकता र शहरी रमझमको प्रदूषणले ।।


हो, साँच्चै आधुनिक शहरभित्र
बेचिएको छ हर मान्छे कोरा आर्दभित्र
र, त्यही शहरको पेटीमा लडिरहेर
मानवताको भिख मागिरहेछ एउटा मान्छे
हो, साँच्चै मानवता खोजरहेछ एउटा मान्छे ।।

भुस्याहा कुकुरले झै खोजिरहेछ मानवता
फोहोरका कन्टेनरहरुमा कतै छ कि भनेर
तर पाएन केही, निराशा र विवशता बाहेक
तथापि उसको अनुहारमा जेलिएको छ
(आशा–भरोसाका किरणहरु)
तर, ऊ युद्धभूमिमा हारेका योद्धाझैं
थकित छ मावीय व्यभिचारको तिरस्कारले ।।

यिनै कथा र व्यथा बोक्दैगर्दा
एक्कासी ऊ थलिएको छ, कोरोना कहरले
मधुरा आँखा तानेर खोजिरहेछ एम्बुलेन्स
सडकमा गुडेका भीआइपी र भिभिआइपीहरुका
चिल्ला कारहरुको लाइनमा
झिनो जिउने आशमा अस्पताल पुग्न
तर, एम्बुलेन्स र उपचार आकाशको फल भयो
केवल पायो त धुलो, धुँवा र तिरस्कार मात्र ।।

हो, उसलाई उपचार त के, छुन पनि कोही तयार भएन
अन्ततः जिउने याचना बीच प्राण पखेरु उड्यो
न त दाहसंस्कार, न त आफन्त
सडकको पेटीमा बेवारिसे लास बन्यो एउटा मान्छे
हो, साँच्चै, बेवारिसे लास बन्यो एउटा मान्छे
भानुभक्तको (हाम्रो) अमरावती
कान्तिपुरी नगरीमा, कान्तिपुरी नगरीमा ।।




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन १४ गते, बुधबार

menu LIVE TV