महाशक्तिको बाटोमा छिमेकी मुलुक चीन : कोरोनाविरुद्धको भ्याक्सिन वितरण गरेर सम्बन्ध सुधारतर्फ



एजेन्सी । कोरोना भाइरसको महामारीले संसारभरका नागरिक त्रसित छन् । ९ लाख भन्दा धेरैले ज्यान गुमाएका छन् । झण्डै ३ करोड मानिस कोरोनाबाट प्रभावित भइसकेका छन् । चीनको वुहानबाट सुरु भएको महामारीको असर चीनमा भने लगभग सकिएको छ । विदेशबाट आउने दुई चार नागरिकमा संक्रमण देखिए पनि अन्यमा छैन । चीनले आफूलाई कोरोनाबाट मुक्त घोषणा नगरे पनि पहिले र अहिलेको तुलना गर्दा धेरै फरक छैन ।

संसारभरको घेरावन्दीबाट माथि उठेर चीनले आफूलाई कोरोनाविरुद्धको भ्याक्सिनमा सबैभन्दा अगाडि लगेको छ । त्यहीँ माध्यमबाट उसले आफ्नो देशसँग सम्बन्ध जोड्न खोजिरहेको छ । कोरोनाविरुद्धको भ्याक्सिन घोषणापूर्व नै चीनले विभिन्न देशमा कोरोनाविरुद्धको भ्याक्सिन दिने घोषणा गरेको छ ।

न्युयोर्क टाइम्सका अनुसार फिलिपिन्समा छिट्टै चीनले कोरोनाविरुद्धको भ्याक्सिन उपलब्ध गराउनेछ । ल्याटिन अमेरिकी र क्यारेबियन देशमा चीनले १ बिलियन डलरको सस्तो कर्जा औषधि खरिदका लागि दिएको छ । बंगलादेशमा चीनले कोरोनाविरुद्धको १ लाख डोज भ्याक्सिन सित्तैमा दिएको छ । भ्याक्सिन परीक्षणका लागि चीनले पाकिस्तानसँग पनि सम्झौता गरेको छ । पाकिस्तानमा चिनियाँ भ्याक्सिनको ट्रायल सुरु भएको छ । संयुक्त अरब इमिरेट्स युएईमा पनि भ्याक्सिन परीक्षणसँगै सहयोग आदानप्रदानको सम्झौता भएको छ । त्यहाँ पनि भ्याक्सिन परीक्षण चलिरहेको छ ।

चिनियाँ भ्याक्सिन अहिलेसम्मको परीक्षणमा प्रभावकारी सावित भएको छ । तर, भ्याक्सिन परीक्षण सकिएको छैन । चिनियाँ भ्याक्सिनका अन्तिम चरणका परीक्षण विभिन्न देशमा भइरहेका छन् । अन्तिम नतिजा नआउँदै चीनले विश्वका प्रभावशाली देशबाहेकमा आफ्नो उपस्थिति बलियो बनाउँदै लगेको छ ।

कोरोना भाइरसको संक्रमण सुरु भएपछि चीनविरुद्ध पश्चिमा देशहरु एक ठाउँमा उभिएका थिए । अमेरिका, अष्ट्रेलिया, बेलायतलगायतका देशले चीनविरुद्ध विश्वव्यापी मोर्चा उद्घोष गरेका थिए । अमेरिकाले छिमेकी देश भारतलाई चीनविरुद्ध प्रयोग गर्ने प्रयास गरिरहेको छ । तर, चीन आफ्नो पुरानो अवस्थाबाट धेरै माथि उठ्ने बाटोमा अगाडि बढेको छ । भ्याक्सिन ठूलो परिमाणमा उत्पादन गर्न र भ्याक्सिन सफलता प्राप्त गर्न अझै केही महिना लाग्न सक्छ ।

इण्डोनेसियाकाे बेइजिङसँग राम्रो सम्बन्धमा थिएन । तर, चिनियाँ राष्ट्रपति सी जिङ्गपिङले इण्डोनेसियाका राष्ट्रपति जोको भिडोडोलाई भ्याक्सिनलाई लिएर चिन्ता नलिनका लागि विश्वास दिलाएका छन् । इण्डोनेसिया अहिले चीनको पक्षमा खुलेर बोल्न थालेको छ । अमेरिकाले कोरोनाविरुद्धको भ्याक्सिनमा विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले तयार गरेको अन्तर्राष्ट्रिय गठनबन्धनको हिस्सा नबन्ने घोषणा गरेको छ । यसले चीनलाई राम्रो फाइदा हुन्छ । विभिन्न देशलाई सहयोग गरेरै महामारीपछि विश्वको महाशक्ति देश बन्न चीनलाई सजिलो देखिएको छ । चीन महाशक्ति बन्ने बाटोमा अग्रसर छ ।

(न्युयोर्क टाइम्सको रिपोर्टमा आधारित )




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन १४ गते, बुधबार

menu LIVE TV