चेल्सीको विजयी सुरुवात, ब्राइटन तीन एक गोल अन्तरले पराजित



एजेन्सी । इङ्लिस प्रिमियर लिग फुटबलमा लण्डन क्लब चेल्सीले विजयी सुरुवात गरेको छ ।

लिगको पहिलो खेलमा चेल्सीले ब्राइटनमाथि सहज जित निकालेको हो ।

आज बिहान ब्राइटनको घरेलु मैदानमा भएको खेलमा चेल्सीले तीन एक गोल अन्तरले जित हाँसिल गर्यो ।

चेल्सीको जितमा जोर्गिन्हो, रिस जेम्स र कर्ट जुमाले एक एक गोल गरे । घरेलु टोलीका लियान्ड्रो ट्रोसार्डले एक गोल फर्काएका थिए ।

खेलमा अग्रता चेल्सीले २३औं मिनेटमा जोर्गिन्होको पेनाल्टी गोलबाट लिएको थियो ।

ब्राइटनका गोलकिपरले चेल्सीका फरवार्ड टिमो वार्नरलाई डिबक्स भित्र लडाएपछि लण्डन क्लबले पेनाल्टीको अवसर पाएको थियो ।

जसमा कप्तान जोर्गिन्होले गोल गरे ।

खेलको ५४औं मिनेटमा ट्रोसार्डको गोलमार्फत ब्राइटनले खेलमा एक गोलको खाता खोलेको थियो ।

ब्राइटनका युवा खेलाडी लाम्पार्टीबाट पाएको बललाई उनले डिबक्स बाहिरबाट गोल गरेका थिए ।

लाम्पार्टीले ब्राइटनबाट खेलमा राम्रो प्रभाव जमाएका थिए । उनले चेल्सीको डिफेन्स लाइनलाई दवाबमा राखेका थिए ।

ब्राइटनले बराबरी गोल फर्काएको दुई मिनेटमै चेल्सीले खेलमा पुन अग्रता बनायो ।

जेम्सले डिबक्स बाहिरबाट प्रहार गरेको बलले जाली चुमेको थियो । जोर्गिन्होले दिएको पासलाई जेम्सले गोलमा परिणत गरेका थिए ।

उनै जेम्सको पासमा चेल्सीका डिफेन्डर जुमाले कमजोर डिफेन्सको फाइदा उठाउँदै चेल्सीका लागि तेस्रो गोल गरेका थिए ।

यो खेलमा मुख्य प्रशिक्षक फ्राङ्क लाम्पार्डले दुई नयाँ खेलाडी टिमो वार्नर र काइ हाभर्ट्जलाई पहिलो रोजाईमा राख्दै मैदान उतारेका थिए ।

पहिलो हाफमा अग्रता लिएपनि चेल्सीको प्रर्दशन सुस्त थियो ।

दोस्रो हाफमा मात्र चेल्सीले लय समाउ भ्याएको थियो। प्रिमियर लिगको डेब्यु खेलमा वार्नरले प्रभाव जमाएपनि गोल गर्न भने सकेनन् ।

यो जितसंगै चेल्सीले पहिलो खेलबाट महत्वपूर्ण ३ अंक जोडेको छ ।




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन १२ गते, सोमबार

menu LIVE TV