सिन्धुलीमा युवाहरूले थाले व्यावसायिक रुपमा जैविक मल उत्पादन



  • दिपेश थापा

सिन्धुली । देशमा जब खेतीपाती लाग्ने बेला भयो, सधैजसो मलको हाहाकार हुने गर्छ । हरेक वर्ष नेपालका कृषकका लागि टाउको दुखाइ हुने गरेको छ । देशमा मलको अभाव एकातिर छँदैछ, कतिपयले मल पाई हाले पनि आशा गरे जस्तो उत्पादन नहुने दुखेसो गरेको छ ।

बिदेशबाट आउने मलले माटोको उत्पादन शक्ति बिनास गरेका गुनासो नेपाली कृषकमाझ नौलो भने होइन । मल नपाइने समस्यालाई सदुपयोग गर्दै जैविक मल उत्पादन गर्ने भनेर सिन्धुलीका उद्यमी युवाहरू यतिबेला कम्मर कसेर लागिरहेका छन ।

होटल व्यवसायमा नाम कमाएका सिन्धुलीका सिताराम पहाडी र उनका एक सहकर्मी यतिबेला आफुहरुले तयार गरेको जैविक मलको नतिजा कुरिरहेका छन् । पहाडीले भने, ‘हामीले बनाएको मल काठमाडौंको नार्क लगायतका ल्याबमा पठाएका छौं । उताको रिजल्ट कुरिरहेका छौ ।’

कमलामाइ ५ स्थित सिलामेमा युवा उद्यमी पहाडीले एउटा होल्डिङ सेन्टर बनाएका छन । जहाँ जिल्लाभरीका खसीबाख्रा किनबेचका लागि होल्डिङ गरेर राखिने पहाडी बताउँछन । कृषक र ग्राहकबीच खसी किनबेचमा सहजीकरण गर्ने उद्देश्यले होल्डिङ सेन्टर बनाइएको हो ।

खसीको मूल्यमा एकरुपता ल्याउन आफुहरुको कन्सेप्ट बर्दान साबित हुने पहाडीको दाबी छ । नगरको सोही ठाँउमा जैबिक मल बनाउने खाल्डा अहिले तयारी अबस्थामा छ । त्यहाँ देशभरबाट ल्याइएको गोबर र बाख्राका बडकुलाबाट जैविक मल बनाउने उनीहरूको तयारी छ ।

तराईका चार–पाँच जिल्लामा गोबर खोज्न एजेन्ट तयार गरिसकेको पहाडीले बताए । जिल्ला भित्रैबाट कसैले प्लास्टिकमा गोबर बोकेर आएमा तुरुन्तै पैसा दिने पहाडीले नागरिकखबरलाई जानकारी दिए ।

करिब पचास लाख लगानीमा बन्दै गरेको जैविक मल योजना ल्याब परीक्षणमा सफल भए दशैपछिबाट बिक्रीमा आउने पहाडी बताउँछन ।

माटोलाई खुकुलो र उर्बर बनाउन तथा बिरुवालाई उम्रन, हुर्कन, बढ्न र फल लाग्न विभिन्न किसिमका तत्त्वहरुको आबश्यकता पर्छ । त्यसलार्इ अनुकूल हुने गरी जैबिक जिबाणु बनाएर गाइभैसीको मल तथा बोकाबाख्राको बड्कुलालाई जैबिक विधि जैबिक जिबाणु बनाएर १५ दिन एउटा खाल्टोमा घाम पानी हावा केहीले नभेट्ने गरी राखिन्छ । अनि १५ दिनपछि अर्को खाल्डोमा पल्टी गरिन्छ ।

पहाडीका अनुसार, ३० दिनमा उक्त मल पाकिसकेको हुन्छ । उक्त जैबिक मलले माटोको संरचना सुधार गरी बालीनालीलार्इ चाहिने आवश्यक तत्वहरुलार्इ परिपूर्ति गर्दछ । यसका साथै बोटबिरुवाहरु हुर्कन बढ्न फल लाग्न अति आवश्यकीय तत्वहरुको परिपूतिसमेत गर्दछ ।

युवा उद्यमी पहाडीको टोलीले फरक–फरक ग्रेडको मल बनाउने तयारी गरेको सुनाए । पहाडीले भने, ‘हामीले बनाउने जैबिक मलले माटोको संरचना सुधार गरी बालीनालीलाइ चाहिने आवश्यकीय तत्वहरुलार्इ परिपूर्ति गर्दछ । यसका साथै बोटबिरुवाहरु हुर्कन, बढ्न, फल लाग्न अति आवश्यकीय तत्वहरुको परिपूर्ति समेत गर्दछ ।’

यस्तो मल उत्पादनका लागि सरकारबाट प्रोत्साहन हुँदै जाने हो भने हजारौले देशमै रोजगारी पाउने पहाडीको तर्क छ । उनले थपे, ‘किसानहरुमा आर्थिक समृद्धि ल्याउन पनि यो जैविक मल अभियानले सहयोग पुर्याउनेछ ।’

पहाडीको टोलीले जैविक मलसँगै पिसाब संकलन गरेर झोल मल समेत बनाउने योजना राखेको छ । सिन्धुलीका स्थानीय जडिबुटीको प्रयोग गरी बोट बिरुवाको लागि औषधि समेत बनाउने योजना पहाडीले सुनाए ।

पहाडीको टोलीले तयार गरेको मल २ किलो र ५ किलोको प्याकेट बनाएर डिपार्टमेन्ट स्टोरहरुमा समेत बिक्रीको लागि राखिने योजनामा उनीहरु छन् ।

मल यसरी सुपरमार्केटमा बेच्न राख्दा घरको छतमा खेती गर्ने परिवार र करेसाबारीको बगैँचा खेती गर्ने नागरिक समेतलार्इ राहत मिल्ने पहाडीको दाबी छ ।

पहाडीका सहकर्मी मोहन प्रसाद पौडेल हुन । उनी ११ बर्ष ब्राजिलमा बसेर आएका हुन । पौडेल स्पेसल बाख्राबिज्ञ भएका पहाडीले जानकारी दिए । आफ्ना सहकर्मीबारे युवा उद्यमी पहाडीले भने, ‘पौडेलजले त बाख्राको आबाज सुन्दा उसले भन्न खोजेको कुरा पनि बुझ्नुहुन्छ । बोका बाख्रा हेरेरै उसको उमेर समेत पत्ता लगाउनुहुन्छ ।’




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन १२ गते, सोमबार

menu LIVE TV