लकडाउनले पोखरा खानेपानी आयोजनाको काम प्रभावित



पोखरा । चैत ११ मा लकडाउन सुरु भएसँगै पोखरा खानेपानी सुधार आयोजनाको काम पनि रोकियो । काम गत महिनादेखि पुनः सुरु भए पनि निकै धिमा गतिमा चलेको छ ।

लकडाउनअघि भएको कामको तुलनामा अहिले १० प्रतिशत मजदुरले मात्रै काम पाएको खानेपानी संस्थानले बताएको छ । त्यतिबेला दैनिक पाँच सय कामदार खटिन्थे । लकडाउन भएसँगै आयोजनाका मुख्य जिम्मेवार जापानी कन्सलटेन्ट टोली चार्टर्ड प्लेनमा जापान फर्किएका थिए ।

उनीहरू अझै काममा फर्किएका छैनन् । त्यसैले थोरै जनशक्तिबाट मात्र काम भइरहेको खानेपानी संस्थान पोखराका शाखाका सहायक इन्जिनियर सन्तोषकुमार दासले बताए । उनका अनुसार जापानमा रहेका कन्सलटेन्टलाई नेपाल फर्कन सहज हुने गरी भिसाका लागि सहजीकरण गर्न खानेपानी मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ ।

यो आयोजनालाई मेलम्चीपछिको दोस्रो ठूलो र नेपालकै सबैभन्दा स्वच्छ खानेपानी परियोजना रूपमा दाबी गरिन्छ । जुन जापान सरकारको ४ अर्ब ८१ करोड ३० लाख रुपैयाँ अनुदान दिने सम्झौतासँगै सुरु भएको थियो । यसमा मर्दी खोलाको पानीलाई प्रशोधन र शुद्धीकरण गरी पिउन योग्य बनाउने भएको छ । लकडाउनअघि पोखरा बजारमा गरेको पाइप विस्तारको कामलाई निकै व्यवस्थित भन्दै पोखरेलीले प्रशंसासमेत गरे । आयोजनाको काम समयमै सकिएमा पोखरेलीले २०७९ मंसिरसम्ममा शुद्ध पानी पिउन पाउने छन् ।

२० मे २०१९ मा शिलान्यास भएको उक्त आयोजना सन् २०२२ को डिसेम्बर १५ मा सक्नुपर्ने समय सीमा तोकेर काम सुरु भएको हो । आयोजना सुरु भएको एक वर्षको समयमा २२ प्रतिशत काम सकिएको र लक्ष्यभन्दा धेरै द्रुत गतिमा काम हुँदाहुँदै काम रोकिएको नेपाल खानेपानी संस्थान पोखरा शाखा प्रमुख कार्कीले बताए । पोखरा बजारमा १५ किलोमिटर क्षेत्रमा पाइप लाइन बिस्तार गरिसकिएको छ ।

त्यसैगरी फूलबारीमा २० लाख लिटर पानी अट्ने पानी ट्यांकी निर्माणको काम ८० प्रतिशत सम्पन्न भइसकेको, कोलपाटन, पस्र्याङमा निर्माण भइरहेको २०/२० लाख लिटरको रिजर्भवायर पानी ट्यांकी निर्माणको काम पनि भइरहेको थियो । पानी थिग्य्राउने (सेडिमेन्ट ट्यांक), फिल्टर, सफा पानी मात्र संकलन गर्ने ट्यांकी र क्लोरिनेसन प्लान निर्माणलगायतका काम भइरहेको अवस्थामा काम रोकिएको उनले बताए । उक्त समाचार आजको अन्नपूर्ण पाेस्टमा छापिएकाे छ । 




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन १२ गते, सोमबार

menu LIVE TV