‘पञ्चेती’ बलत्कारीकै पक्षमाः पीडितद्वारा आत्महत्या



राजविराज । आफू सामूहिक बलात्कारमा परे पनि गाउँको ‘पञ्चेती’ले उजुरी दिन रोकेपछि पीडित १७ वर्षीया नन्की भनिने संगीता मण्डलले मंगलबार आत्महत्या गरेकी छन् ।

सप्तरीको डाकनेश्वरी नगरपालिका–७ ललितपुरकी संगीताको मृत्युलगत्तै चार आरोपित फरार भएका छन् । आरोपितमा ३० वर्षीय धर्म मण्डल, ३५ वर्षीय विष्णु मण्डल, १८ वर्षीय रञ्जित मण्डल र १९ वर्षीय बब्लु मण्डल छन् । पीडितलाई प्रहरी कार्यालय जान रोक लगाएको आरोपमा चार पञ्चलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्थानीय जयकान्त मण्डल, वासुदेव मण्डल, सत्यनारायण मण्डल रहेको सप्तरी जिल्ला प्रहरीले जनाएको छ । उनीहरूले पीडित संगीता र उनकी आमालाई प्रहरी कार्यालय जान रोक लगाउँदै आरोपितहरूबाट ५५ हजार रुपैयाँ क्षतिपूर्ति भराउने ‘फैसला’ सुनाएका थिए । उक्त निर्णयप्रति असन्तुष्ट पीडितले पीडा सहन नसकी आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

किशोरीकी आमाका अनुसार घटना सोमबार बिहानको हो । किशोरी हिलो लागेको रगतपच्छे अवस्थामा रुँदै घर आइन् । हातका चुरा फुटेका थिए । कपाल पूरै फुकेको थियो । धेरै बेरसम्म एकनास रोइरहिन् । चार जनाबाट आफू बलात्कृत भएको सुनाएर केहीबेर बेहोस भएको पीडितकी आमाले बताइन् ।

चार जनाले पछाडिबाट झ्याप्पझुप्प समातेर खेतमै लडाए । वरपर अरू कोही थिएनन् । लुगा फुकाल्न थालेपछि जोरजोरले चिच्याउन खोजे पनि उनको केही सीप लागेन । उनको मुख बन्द गरिएको थियो । आवाज नै बाहिर गएन । बलात्कारीहरू जबरजस्ती गरेर फर्किए । पीडित किशोरी एकछिन बेहोस भइन् । उठ्नै सकिनन् ।

जसोतसो घर फर्किएकी उनले आफ्नो पीडामा गाउँलेको सहयोग पाउने अपेक्षा गरेकी थिइन् । तर, त्यसो भएन। आमाले घटनाबारे जानकारी दिँदै न्यायको भिख माग्दै आफ्नै गाउँ र समुदायका मुख्य व्यक्तिहरूलाई बोलाइन् । भेला भएका १०–१२ जना पञ्चले आरोपितहरूबाट क्षतिपूर्ति भराई दिनुपर्ने र पीडितले कतै उजुरी गर्न नपाउने ‘फैसला’ सुनायो । आमाछोरी दुवैले त्यसको विरोध गरे ।

पञ्चले एक जनाको इज्जत ठूलो कि सिंगो गाउँको भन्दै धम्क्याए । प्रहरीमा उजुरी गरे साक्षी प्रमाण जुटाउन नसक्ने भएकाले चुपचाप रहन उनीहरूले चेतावनी दिएको छिमेकी बताउँछन् । बलात्कारको उजुरी गरे किशोरीकै बदनाम हुने, त्यसले बिहे पनि नहुने, आरोपितबाट पाउने क्षतिपूर्ति पनि छुट्ने भन्दै घटना बिर्सिन गाउँका ‘जान्ने–बुझ्ने’ले भनेपछि किशोरी तनावमा परेको छिमेकी पाचीलाल मण्डलले बताए ।

‘जबरजस्ती गरेर दबाउन खोज्नेले भोलि अरूलाई पनि यस्तै नगर्लान् र ? पीडितकी आमाले भनिन्, ‘यस्तो अवस्थामा पुर्‍याउनेहरूलाई कडा दण्ड सजाय होस् भन्ने चाहना छ । तर, म एक्लै के गरुँ ? के गर्नेुपर्ने हो ? त्यो पनि थाहा छैन ।’ गाउँलेबाट त्यस्तो होला भन्ने कल्पनासमेत नगरेको उनले बताइन् ।

किशोरीकी बुवा उमा मण्डलको चार वर्षअघि मृत्यु भएको थियो । दिदीको विवाह भइसकेको छ । त्यसैले उनी घर र खेतीको काममा एक वर्ष जेठा दाजुसँगै खटिन् । सोमबार बिहान पनि धानखेतमा पानी धेरै लागेको भएर त्यसलाई आली काटेर बगाउन उनी खेतमै गएकी थिइन् । आफ्नो खेत नभएकाले अरूको जग्गा किशोरीको परिवारले बटियामा लिएर उब्जनी बाँडफाँट गर्ने गरेको थियो ।

जिल्ला प्रहरीका इन्स्पेक्टर सन्तोष खड्काले घटनास्थलमा पीडितले जोगिन संघर्ष गर्दा धान मडारिएको, चुराहरू फुटेको पाइएको बताए । पीडित किशोरीको शव मंगलबार साँझ राजविराज ल्याइएको छ । बुधबार पोस्टमार्टम गर्न धरान लगिने इन्स्पेक्टर खड्काले बताए । जिल्ला प्रहरीबाट खड्का नेतृत्वको टोली अनुसन्धान गर्न घटनास्थल पुगेको थियो। अन्य तीन टोली पनि घटनास्थलमा खटिएका थिए । उक्त समाचार आजको अन्नपूर्ण पोस्टमा छापिएको छ ।




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन १२ गते, सोमबार

menu LIVE TV