नेकपा (मसाल)मा विवाद : भ्रम र वास्तविकता



  • सागर कुँवर

नेकपा (मसाल)मा चलिरहेको वैचारिक बहस अहिले पनि साम्य भएको छैन । पार्टीको क्रान्तिकारीकरण गर्ने कि गैरक्रान्तिकारीकरण गर्ने ? यो नै मुख्य विवाद हो ।

पार्टी नेतृत्वको दक्षिणपन्थी कार्यदिशा, पार्टीको गैरक्रान्तिकरण, संसदीय व्यवस्थाको सुरक्षा, प्रतिक्रियावादी सत्ताको चौकीदारीमा भरमग्दुर प्रयत्न, फरक मत राख्ने नेता तथा कार्यकर्ताको कत्लेआम, हैकमवादी कार्यशैली, पार्टी सदस्यको जनवादी अधिकारलाई पुरै निस्तेज र केन्द्रीयताको नाममा नोकरशाही कार्यप्रणाली लगायतका कारण नेकपा(मसाल) करिब करिब बिसर्जनको सङ्घारमा उभिएको छ । विवादको मुख्य चुरो पनि त्यही हो ।

नेपाल कम्युनिष्ट पार्टी (मसाल) भित्र लामो समयदेखि चलिरहेको वैचारिक बहसलाई आठौँ महाधिवेशनले हल गर्न सकेन । पार्टी नेतृत्वले आफ्नो दक्षिणपन्थी सुधारवादी कार्यदिशालाई आठौँ महाधिवेशनबाट पारित गराउन र पुनः नेतृत्वमा आउनको लागि देशव्यापी रुपमा गरेको गुटबन्दी, फरक मत राख्ने कामरेडहरुप्रतिको व्यवहारले नै स्पष्ट गरिसकेको थियो ।

पार्टीमा आउने फरक विचारहरुलाई घृणा गर्ने, हुँदै नभएका कपोकल्पित आरोपहरु लगाउने, फरक मत राख्नेहरु पार्टी छाडेर जान्छन् भनेर कार्यकर्ताहरुको भावनामाथि खेलवाड गर्ने र त्यही आधारमा विचारधारात्मक दुई लाइनको संघर्षलाई कमजोर बनाउन खेल खेल्ने काम पार्टी नेतृत्वले आठौँ महाधिवेशनका दौरानमा गर्यो जुन प्रवृत्तिलाई अहिले पनि निरन्तरता दिएकै छ ।

आठौँ महाधिवेशनले पार्टी भित्रको विचारधारात्मक दुई लाइन सघर्षलाई कुनै निष्कर्षमा पुर्याउन सकेन । पार्टी भित्रको मतभेदलाई समाधान गर्न सकेन । पार्टी नेतृत्वले नै पार्टी अनुशासनलाई बारम्बार उलंघन गर्ने र महाधिवेशनमा प्राविधिक रुपमा बहुमत पुर्याउनको लागि गरेको गुटबन्दीको कारणले नै आठौँ महाधिवेशन महाधिवेशन जस्तो बनेन ।

आठौँ महाधिवेशनले कार्यकर्तामा कुनै उत्साह, जोस, जाँगर पैदा गरेन । वैचारिक हिसाबले आठौँ महाधिवेशनले प्रकारान्तले नेकपा (नेकपा) को लाइन अनुशरण गर्यो । कुनै बेला नेपाली माओ भनेर प्रचारित भएका मसाल महामन्त्री प्लेखानोभको दिशामा गए । आठौँ महाधिवेशनले त्यसलाई लालछाप लगायो । त्यो अवस्थामा आठौँ महाधिवेशनले नेकपा (मसाल)को इतिहासमा वैधानिक हिसाबले दक्षिणपन्थी विसर्जनको मार्ग लियो ।

महाधिवेशन पूर्व र पछि पार्टीमा विचारको आधारमा फरक मत राखेका कामरेडहरुलाई जिम्मेवारीविहिन बनाउने अभियान नै चल्यो । पार्टीमा इमान्दारपूर्वक लागेका, सक्रिय, जुझारु कामरेडहरु जसले पार्टी नेतृत्वको दक्षिणपन्थी लाइनलाई अस्विकार गरे, उनीहरुलाई महाधिवेशनमा सहभागी हुन बाट नै रोकियो ।

त्यो अवस्था सृजना गर्नको लागि पार्टीमा जहाँजहाँ फरक मत राख्नेहरु (अल्पमत) को पकड छ, त्यहाँ त्यहाँ अल्पमत पक्षधर कामरेडहरुलाई कृतिम आरोपहरु लगाएर कारबाही गरियो । अल्पमतले जित्ने स्थिति बनेका जिल्ला सम्मेलनहरु रातको १२ बजेसम्म लम्बाएर स्थगित गरियो । कतिपय जिल्लाहरुमा थोरै प्रतिनिधिको बीचमा जिल्ला सम्मेलन गर्ने नाममा पार्टी सदस्यहरुको जनावादी अधिकारलाई अस्विकार गरियो र नेतृत्व पक्षधर समूहलाई निर्वाचित गरियो ।

यो कुनै लुकेको कुरा होइन । पार्टीमा फरक मत राख्नेहरुलाई 'रअ' को एजेन्ट, घुसपैठीयालगायत तथानाम आरोपहरु लगाएर, पार्टी फुटको हल्ला बनाएर, विगतको मुल्यांकनको चर्चा चलाएर गोयबल्स शैलीमा आठौँ महाधिवेशनमा नेतृत्वको दक्षिणपन्थी विचारमा प्राविधिक बहुमत पुर्याइयो ।

आठौँ महाधिवेशन सकिएको झण्डै १ वर्षपछि पनि पार्टीमा विवाद त साम्य भएन । त्यो अवस्थामा पार्टीभित्र महाधिवेशनका दौरानमा अल्पमतमा विचार राखेका नेता तथा कार्यकर्ताहरुलाई पार्टीबाट हटाउन पर्ने भयो । त्यसको लागि उचित र भरपर्दो हतियार बन्यो पार्टी शुद्धीकरण अभियान ।

पार्टीको विधानविपरित शुद्धीकरण अभियानलाई भारत शाखाबाट सुरु गरियो र अल्पमत पक्षधर कामरेडहरुको सफाया अभियान चलाइयो र त्यो अझै जारी छ । के शुद्धीकरण अभियानले पार्टीमा अल्पमत पक्षमा विचार राखेका मात्रैलाई हटाउन मिल्छ ? मिल्दैन भने बहुमत पक्षमा देखिएका, पार्टी अनुशासनको उल्लंघन गरेका, निष्क्रिय रहेका कामरेडहरुलाई किन शुद्धीकरणले छोएन ?

यसको जवाफ दिने हैसियत छ नेतृत्व कामरेडसँग ? कुनै एकजना कामरेडको उदाहरण पनि छैन । त्यसकारण यो शुद्धीकरण अभियान होइन, फरक मत राखेका कामरेडहरुलाई पार्टीबाट हटाउने अभियान नै हो ।

मसालमा नेतृत्वले लगाएको आरोपमा कुनै सत्यता र तथ्य नै छैन । नव नेकपा (मसाल)मा गैरसर्वहारा प्रवृत्ति विचार मौलाउँदै गयो, त्यो अवस्थामा पार्टीको क्रान्तिकारीकरण गर्नु पार्टी भित्रका क्रान्तिकारीहरुको दायित्व हुन्छ । त्यस सिलसिलामा मसाल भित्रको विवाद के थियो, त्यो बुझ्न अनिवार्य छ ।

मसालभित्र मुख्य विवाद पार्टीको क्रान्तिकारीकरण गर्ने कि गैरक्रान्तिकारीकरणको निरन्तरता दिने भन्ने हो । अल्पमत पक्षले पार्टीको क्रान्तिकारीकरण हुनुपर्दछ र पार्टीले वर्गसंघर्षको नेतृत्व गर्नुपर्दछ भनिरहेको थियो र अहिले पनि भनिरहेको छ । त्यसको लागि निरन्तर लडिरहेको पनि छ ।

एउटा क्रान्तिकारी कम्युनिष्ट पार्टीले आधारभूत संरचनामा नै आमूल परिवर्तन गर्ने कार्यदिशा तय गर्नुपर्दछ । त्यसरी कार्यदिशा तयार गर्दा कार्यनीतिले रणनीतिको सेवा गर्नुपर्दछ । तर, मसालको आठौँ महाधिवेशनले आधारभूत संरचनामा परिवर्तन होइन, वर्तमान अवस्थामा नै रमाउने कार्यदिशा पारित गर्यो, त्यो नेकपा (नेकपा) को अन्धानुकरण नै हो ।

त्यो अवस्थामा, अर्को विवाद आधारभूत संरचनामा नै आमूल परिवर्तन गर्ने कि उपरी संरचनामा आएको परिवर्तनमा नै रमाउने भन्ने हो । अल्पमत पक्ष आधारभूत संरचनामा नै आमूल परिवर्तन चाहन्छ र त्यो प्रकारको राजनीतिक दस्तावेज आठौँ महाधिवेशनमा प्रस्तुत गरेको थियो ।

आधारभूत संरचनामा आमूल परिवर्तनबिना आधारभूत समस्याहरुको समाधान सम्भव नै छैन । उपरीसंरचनामा आएको परिवर्तनमा नै समाजवादउन्मुख नीति तथा कार्यक्रमको अपेक्षा, लागू वा त्योप्रतिको झुकाव सबै वैचारिक विचलनका भद्दा स्वरुपहरु हुन् । मसाल नेतृत्व त्यही वैचारिक विचलनको सिकार त भयो नै, अझ पार्टीलाई नै त्यसको वैधानिक सिकार बनायो ।

आधारभूत संरचनामा आमूल परिवर्तन गर्ने अल्पमत पक्षको विचारलाई ज–जसले विरोध र निषेध गरिरहेका छन्, तिनिहरु यही उपरीसंरचनामा आएको परिवर्तनमा सुधारको बाटो र सुविस्ताको राजनीति रोजेका छन् । सुधार र सुविस्ताको राजनीति रोजेकाहरुले अल्पमत पक्षलाई अनेकौँ आरोप लगाइरहेका छन् ।

वैचारिक विवादमा पराजय भइसकेपछि विभिन्न आरोपहरु (अप्रमाणित) लगाएर दक्षिणपन्थको झोला बोकिरहेका छन् । त्यसो गर्नु दक्षिणपन्थी संशोधनवादको नवीन विशेषता नै हो ।

वर्तमान व्यवस्थाको विरोध गर्नु र यसलाई खारेज गरेर नयाँ व्यवस्था स्थापना गर्नु दुई भिन्नाभिन्नै विचार हुन् । मसाल नेतृत्वले यो व्यवस्थाको विरोध पनि गर्ने र यो व्यवस्थालाई बचाउन पनि चाहनुले विरोधाभाष देखिएको छ । त्यसको मुल सार भनेको यो व्यवस्थामा नै रमाउने हो ।

अल्पमत पक्षधर यो व्यवस्थाको विरोध मात्र होइन, खारेज गर्न चाहन्छ । वर्तमान व्यवस्थाको खारेज गरेर नै नयाँ व्यवस्था जन्माउन सकिन्छ । त्यसको लागि नयाँ जनवादी क्रान्ति अनिवार्य सर्त हो । नयाँ जनवादी क्रान्ति किताबका पानामा (दस्तावेजमा) मात्र लेखेर हुँदैन । त्यसको लागि भौतिक तयारी आवश्यक हुन्छ ।

नयाँ जनवादी क्रान्तिको तयारी गर्ने अल्पमत पक्षको विचार र कार्यदिशालाई मसाल नेतृत्वले वामपन्थी संकीर्णता देख्यो । यो नै बहुमत मसालको दक्षिणपन्थी विचलन हो । आत्मगत अवस्थालाई बलियो बनाउन पनि नयाँ जनवादी क्रान्तिप्रतिको योजना, तयारी अनिवार्य हुन्छन् । आत्मगत अवस्था आफै तयार हुन्न ।

वस्तुगत अवस्था त प्रतिक्रियावादी व्यवस्थामा हरपल तयार छ । त्यो चिजलाई सापेक्षतामा बुझ्दै अगाडि बढ्नुको सट्टा वर्तमान प्रतिक्रियावादी व्यवस्थाको चौकिदारी गर्नको लागि महाधिवेशनबाट नै लालमोहर लगाउनु मसाल नेतृत्वको वैचारिक विचलनको भद्दा आयाम हो ।

अहिले बाहिर देखिएका हाँक, विवाद त रुप, पक्ष मात्र हो, सारमा पार्टीभित्र वैचारिक विवाद नै हो । ठोसमा भन्नुपर्दा नेकपा (मसाल)को क्रान्तिकारीकरण गर्ने कि मसाल नेतृत्वको दक्षिणपन्थी सुधारवादी कार्यदिशालाई कार्यान्वयन गर्ने भन्ने नै हो । नेकपा (मसाल) क्रान्तिकारीकरण गर्नु पार्टीका क्रान्तिकारीहरुको मुख्य दायित्व हो ।

अनुशासनको लागू वा पालना निरपेक्ष रुपमा सम्भव छैन । अनुशासनको पालना सापेक्षतामा नै सम्भव हुन्छ र त्यसले गति लिन्छ । आज अनुशासनको नाममा हैकमवाद चलाएर त्यसलाई सङ्गठनात्मक अनुशासनको कारबाही चलाउनु न त विधिसङ्गत छ, न त न्यायसङ्गत नै ।

एउटा क्रान्तिकारी पार्टीमा सिद्धान्त र राजनीति ठीक भएपछि मात्र सङ्गठनात्मक प्रणाली पनि ठीक हुने हो । तर, सङ्गठनात्मक नियमको नाममा सैद्धान्तिक राजनीतिक सच्चाइलाई छाडिन्छ भने त्यहाँ क्रान्ति भन्ने चिज नै हुन्न । पार्टी निर्णय मान्नुपर्ने नियमको आडमा जहाँ हैकमवाद लादिन्छ र क्रान्तिकारी विचारहरुलाई दमन गरिन्छ, त्यहाँ विद्रोह स्वभाविक हुन्छ, यो सत्यलाई मसाल नेतृत्वले राम्रोसँग बुझ्न जरुरी छ ।




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन १४ गते, बुधबार

menu LIVE TV