चहलपहल बढेसँगै स्थानीय सरकारको अपिल : 'कोरोनाबाट बच्न आफैँ सचेत बनौँ'



  • सञ्जय श्रेष्ठ

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट बाँच्नका लागि आफैँ सचेत हुनुपर्ने अवस्था आएको भन्दै स्थानीय सरकारले सर्वसाधरणमा अपिल गरेका छन् । स्थानीय सरकारले अब आउने परिस्थितिलाई नियन्त्रण गर्न व्यक्ति आफैको ठूलो भूमिका रहने नगरपालिका महासंघका अध्यक्ष तथा धुलिखेल नगरपालिकाका प्रमुख अशोक कुमार श्रेष्ठले बताए ।

उनले अबको परिस्थितिलाई सामना गर्दै अगाडि बढ्नको लागि सबै तयार हुनुपर्ने बताए । संघीय सरकारले आवतजावत खुल्ला गरेसँगै कोरोना संक्रमण जोखिम पनि बढेको छ । लामो दूरी र छोटो दूरीको यातायात खोल्ने निर्णयसँगै कोरोना संक्रमणको दायरा बढ्ने जानकारहरु बताउँछन् ।

सरकारले असोज १ गतेदेखि लामो दूरीको यातायात पनि खुल्ने निर्णय गरेको छ । गाउँ र सहरमा रहेका मानिस एक ठाउँबाट अर्को ठाउँमा सजिलै जाने हुँदा भाइरस सक्रमणको दायरा बढ्ने देखिएको छ ।

‘हामी ६ महिनादेखि घर भित्रै थुनियर बसेका छौं’ प्रमुख श्रेष्ठले भने, ‘अब आर्थिक पक्षलाई चलायमान बनाउन सकेनौँ भने हामी महामारीसँगै आर्थिक संकटमा पनि पर्छौं ।’ आर्थिक क्षेत्रलाई चलायमान बनाउनको लागि अब आवतजावत खुल्ला गर्नु परेको उनले बताए ।

त्यस्तै उपत्यका मेयर फोरमका सचिव तथा मध्यपुर थिमी नगरपालिका प्रमुख मदनसुन्दर श्रेष्ठले पनि अब स्थानीय सरकारले बढी सचेत र चनाखो हुनुपर्ने बताए । लामो बन्दको कारण अहिले आर्थिक समस्या प्रमुख बनिसकेको अवस्थामा त्यसलाई व्यवस्थापन गर्दै महामारी नियन्त्रण गर्न व्यक्ति स्वयं जिम्मेवार हुनुपर्ने उनले बताए ।

उनले महामारीको कारण देशमा पर्न थालेको आर्थिक मन्दी सामाना गर्नुपर्ने स्थितिबाट सरकार जोगिनको लागि उद्योग कारखाना तथा व्यवसायहरु सञ्चालन गरेको बताए । सबै नागरिक जिम्मेवार भएर कोरोनालाई परास्त गर्न लाग्नुको विकल्प नभएको उनले बताए ।

निरन्तर बढ्दै संक्रमितको संख्या

सरकारले ६ महिना लामो बन्द गरेर कोरोना नियन्त्रण गर्ने प्रयास गरे पनि नियन्त्रण गर्न सफल भएको छैन । कोरोना नियन्त्रण गर्न लकडाउन, निषेधाज्ञा गरेपनि कोरोना संक्रमणको दर दैनिक रुपमा बढिरहेको छ ।

लकडाउन तथा निषेधाज्ञा जारी गरेपनि स्वास्थ्य मन्त्रालयकाअनुसार दैनिक १३–१४ सयको हाराहारीमा संक्रमित भेटिइरहेका छन् । अहिले नेपालमा १५ हजारभन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।

कोरोनाबाट देशभर ५६ हजार ७ सय ८८ जना संक्रमित भइसकेका छन् । अहिलेसम्म कोरोना संक्रमित मृतकको संख्या ३ सय ७१ पुगिसकेको छ ।




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन १४ गते, बुधबार

menu LIVE TV