खाद्यान्न समस्या समाधानमा विश्वको विचार 'हल्ट प्रतिस्पर्धा'



  • प्रतिभा शर्मा

एउटा विचारले लाखौँ मानिसहरुलाई प्रभावित (सकारात्मक) बनाउन सकोस्, जसले मानिसले प्रत्यक्ष भोगेका समस्याहरुको समाधान पनि गरोस्, त्यस्तो विचारको विश्वव्यापी प्रतिस्पर्धा हो 'हल्ट प्राइज प्रतिस्पर्धा' ।

“लिडिङ द जेनेरेसन टु चेन्ज द वर्ल्ड“ यसको मुख्य नारा हो । हल्ट प्राइज प्रतिस्पर्धाले प्रत्येक वर्ष विश्वव्यापी देखिएका समस्याहरुको समाधानको लागि एउटा विषय निर्धारण गर्दछ । त्यो समस्याको बहुआयमिक समाधानको विकल्पसहित प्रतिस्पर्धीहरु प्रतिस्पर्धामा उत्रनुपर्दछ ।

सन् २००९ देखि सुरु भएको र पहिलो वर्षमा नै २५ देशका एक हजार विद्यार्थीहरु सहभागी भएको हल्ट प्राइज प्रतिस्पर्धामा अहिले आएर विश्वका १ सय ५० भन्दा बढी देशका २ हजारभन्दा बढी क्याम्पसहरुका विद्यार्थीहरु सहभागी भएका छन् । अन क्याम्पस कार्यक्रमको माध्यमबाट प्रत्येक विश्वविद्यालयका सम्बन्धप्राप्त क्याम्पसहरुमा विविध माध्यमबाट हल्ट प्राइज प्रतिस्पर्धाको तयारी अहिले विश्वभरी चलिरहेको छ ।

दूरगामी महत्वको नविनतम् विचार जसले लाखौँ मानिसहरुको जिवनमा सकारात्मक भूमिका खेल्दै उनीहरुले भोगिरहेका समस्याको समाधानका लागि नै हल्ट प्राइज प्रतिस्पर्धीहरुले आफ्नो समूहलाई तयार गर्नुपर्दछ । हल्ट प्राइज प्रतिस्पर्धाको लागि सन् २०२०,२१ को लागि “गुड फर फुड” मुख्य विषय छनोट गरिएको छ ।

प्रतिस्पर्धीहरुले मुख्य विषयका अतिरिक्त त्यसका बहुआयमिक पक्षहरुमा आफ्नो विचारलाई प्रस्तुत गर्दै प्रतिस्पर्धामा उत्रनुपर्दछ । दिगो विकासको लक्ष्य राखेर र दिगो विकासका सूचकहरुलाई आधार बनाएर आफ्ना विचारहरुको सृजना गर्ने काम प्रतिस्पर्धीहरुले गर्नुपर्दछ ।

अहिलेसम्म पनि भोकमरीको समस्या रहेको र खाद्यान्नमा गुणस्तरीयताको अभाव रहेको परिदृश्यमा त्यसको समाधानको विकल्प प्रस्तुत गर्न कम चूनौतीपूर्ण त छैन, तर असम्भव पनि छैन ।

अहिलेको समयलाई विज्ञान प्रविधिको युग भनेर चिनिन्छ । विज्ञान र प्रविधिमा आएको अभूतपूर्व परिवर्तनले विश्वलाई भूमण्डलीकृत गर्दै एउटा गाउँको रुपमा स्थापित गरिदिएको परिस्थितिमा अहिले पनि वर्षेनी लाखौँ मानिसहरु भोकमरीको कारणले ज्यान गुमाइरहेका छन् भने खाद्यान्न प्राप्त गरिरहेका मानिसहरुले पनि गुणस्तरीय खाद्यान्न प्राप्त गर्न सकिरहेका छैनन् ।

यस्तो संख्या विश्वमा लाखौँ होइन, करोडौँ छ । यो समस्यामाथि केन्द्रित रहेर २०२०,२१ को प्रतिस्पर्धामा उत्रनु अहिलेका प्रतिस्पर्धीहरुले आफ्ना विचारहरुको सृजना गर्नुपर्दछ ।

आजको युग जहाँ विश्व विकासको द्रूत गतिमा अगाडि बढिरहेको छ, यो विश्वमा मानिसहरु भोकमरीको कारणले ज्यान गुमाउनु विश्वभरका मानिसहरुको लागि लज्जाको विषय पनि हो । गुणस्तरीय खाद्यान्न वर्तमान विश्वमा नै मानव जातिको लागि प्रधान सवाल बनिरहेको छ ।

स्वस्थ र गुणस्तरीय खाद्यान्नको अभावमा मानिसहरूले आफ्नो जीवनमा कैयौँ रोगहरुको सामना गर्नुपरेको छ । त्यो विषयलाई पनि अहिलेको २०२०,२१ को प्रतिस्पर्धाको थिमले छोएको छ ।

नेपालमा सन् २०२०,२१ को हल्ट प्राइज प्रतिस्पर्धामा प्रायः सबै विश्वविद्यालयहरु सहभागी हुँदैछन् । त्यहीअनुरुप क्याम्पसहरुमा हल्ट प्राइज प्रतिस्पर्धाका कार्यक्रमहरु (अनलाइन) भइरहेका छन् । पूर्वाञ्चल विश्वविद्यालय पनि यो प्रतिस्पर्धामा सहभागी हुँदैछ र त्यहीअनुसारका कार्यक्रमहरु निरन्तर गरिरहेको छ ।

पूर्वाञ्चल विश्वविद्यालय, काठमाडौंले काठमाडौंमा रहेका ४० वटा सम्बन्धनप्राप्त क्याम्पसहरुलाई यो कार्यक्रममार्फत समेट्ने लक्ष्य राखेकोमा हालसम्म २२ ओटा क्याम्पसमा क्याम्पस एम्बासडरहरु बनाउने, हल्ट प्राइज सम्बन्धमा सूचनामुलक जानकारी दिने कार्यक्रमहरु गरिसकेको छ ।

पूर्वाञ्चल विश्वविद्यालयले हल्ट प्राइज प्रतिस्पर्धाका लागि विभिन्न क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई समेटेर आयोजक समिति, निर्देशक, सहनिर्देशकलगायत विभिन्न आवश्यकताअनुसारका टिमहरु पनि बनाइसकेको छ ।

विगतको वर्षहरुमा पनि पूर्वाञ्चल विश्वविद्यालयले हल्ट प्राइज प्रतिस्पर्धामा सामेल भएर रिजनल लेभलमा पुगेको थियो । त्यो अनुभव र नविनतम ज्ञानसहितका विद्यार्थीहरुको विचार, सक्रियता र प्रतिस्पर्धाको उपाधी चुम्ने उद्देश्यसहित विद्यार्थीहरु उत्साहपूर्ण रुपमा यो प्रतिस्पर्धामा सहभागी हुनुपर्दछ ।

हामीले मुख्य गरेर हल्ट प्राइजको नियमानुसार नै प्रतिस्पर्धामा उत्रनुपर्दछ । त्यसरी प्रतिस्पर्धाको लागि तयार हुँदा “गुड फर फुड”को थिमलाई नै मुख्य आधार बनाएर त्यसको बहुआयमिक पक्षमा नै आफ्नो समूहको प्रतिस्पर्धात्मक विचारहरु राख्नुपर्नेछ ।

प्रतिस्पर्धामा सामेल भइसकेपछि त्यो प्रतिस्पर्धाको उपाधी हात पार्ने उद्देश्य राखेर नै अगाडि बढ्नुपर्दछ । पूर्वाञ्चल विश्वविद्यालयका सबै क्याम्पसमा अध्यनरत विद्यार्थीहरु क्याम्पस एम्बासडरको सहकार्यमा समूहहरु निर्माण गर्दै यो प्रतिस्पर्धामा प्रतिस्पर्धी बन्न सक्नेछन् ।

यो प्रतिस्पर्धा विश्वव्यापीका साथै दूरगामी महत्वको पनि भएकाले सबै विद्यार्थीहरुको ध्यान केन्द्रित हुनुपर्दछ । जहाँबाट हामीले हाम्रो विचार प्रस्तुत गरेर लाखौँ मानिसहरुको जीवनमा सकारात्मक परिवर्तन दिन सक्छौ । त्यसले हाम्रो विश्वविद्यालयको गरिमालाई र स्वयं विद्यार्थीको भविष्यलाई पनि माथी उठाउनेछ ।

(शर्मा हल्ट प्राइज प्रतिस्पर्धा २०२०,२१ को लागि क्याफोडेट कलेज, काठमाडौंको लागि पूर्वाञ्चल विश्वविद्यालयको कलेज एम्बास्डर हुन् ।)




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन १५ गते, बिहीबार

menu LIVE TV