हिमाल आरोहणका लागि बहराइनका राजकुमार नेपालमा : यी हुन् आरोहण गराउने शेर्पाहरू



काठमाडौं । सरकारले २० लाख पर्यटक भित्र्याउने उदेश्य सहित नेपाल भ्रमण वर्ष २०२० को घोषण गरेको थियो । तर, भ्रमण वर्ष सुरु हुनुअघि नै कोरोना भाइरस (कोभिड–१९) महामारीले सम्पूर्ण गतिविधि ठप्प भयो ।

पर्यटकीय गतिविधी शुन्यमा आयो । नेपालमा कोरोना संक्रमणको दर बढ्दो छ । यद्यपी सरकारले सबै स्वास्थ्य मापदण्ड अपनाएर लकडाउन खुकुलो बनाएको छ । क्रमशः सबै क्षेत्र खुला गर्ने क्रम सुरु गरेको छ ।

कार्तिक १ गतेदेखि नेपाल भ्रमणमा आउन चाहने पर्यटकहरु आउन सक्नेछन् । महामारीकै बीच झन्डै ९ महिना सुनसान रहेको नेपाली पर्यटन क्षेत्र सूचारु हुने संकेत देखिएको छ ।

सुरुवात बहराइनको राजपरिवारबाट भएको छ । बहराइनका राजकुमार शेख मोहम्मद हमाद मोहम्मद अल खलिफा हिमाल आरोहणका लागि आफ्नो १८ सदस्यीय टोलीसहित बुधबार नेपाल आएका छन् ।

उनीहरु सोलुखम्बुको खुम्बु क्षेत्रमा पर्ने लबुचे हिमाल र उत्तरी गोरखाको मनास्लु हिमाल आरोहण गर्नका लागि नेपाल आएका हुन् । उनीहरु सेभेन समिट ट्रेक्स प्रा.लि. मार्फत आरोहणका लागि नेपाल आएका हुन् ।

राजकुमारको टोलीलाई आरोहण गराउने शेर्पाहरु

सन् २०२१ मा सगरमाथा आरोहणको लक्ष्यसहित राजकुमार खलिफा पूर्वतयारीका लागि लबुचे र मनास्लु आरोहण गर्न लागेका हुन् । उनीहरुको आरोहण सफल गराउनका लागि ४५ बढी आरोहीहरु सहभागी हुनेछन् ।

जसमा विश्व कीर्तिमान गर्न सफल आरोहीहरु रहेका छन् । आरोहणको नेतृत्व दक्षिण एसियामा नै विश्वका ८ हजार मिटर अग्ला सम्पुर्ण हिमाल आरोहण गरेका विश्व कीर्तिमानी आरोही मिङ्मा शेर्पा, दोस्रो कीर्तिमानी छाङ दावा शेर्पा र सानो उमेरमा बिनाअक्सिजन विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरी विश्व कीर्तिमान गर्न सफल आरोही टाशी ल्हाक्पा शेर्पाले गर्ने सेभेट समिट ट्रेक्सका सञ्चालक पासाङ शेर्पाले जानकारी दिए ।

उनीहरु तीनै जना दाजुभाइ हुन् । त्यस्तै विश्वका ८ हजार मिटर अग्ला सम्पूर्ण हिमाल आरोहण गर्ने तेस्रो आरोही सानु शेर्पा, सर्वोच्च शिखर सगरमाथा २४ औं पटक आरोहण गर्न सफल कीर्तिमानी आरोही कामी रिता शेर्पासहित ४५ जना आरोहीहरु सहभागी हुनेछन् ।

४५ दिनको आरोहण अवधिमा २ सय बढीले रोजगारी पाउनेछन् । एक हप्ताको क्वारेन्टिनपछि राजकुमारको टोली लबुचे आरोहणका लागि लुक्ला जानेछ । त्यसपछि काठमाडौ फर्किएर मनास्लु आरोहणमा जाने उनीहरुको योजना छ ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: