बन्द भएका लामो तथा छोटो दुरीका सवारी साधन आजबाट सञ्चालन



काठमाडौं । विश्वभरि महामारीको रूप लिएको कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि सरकारले ६ महिनाअघि गरेको लकडाउनसँगै बन्द भएका लामो दुरी तथा अन्तरजिल्ला सञ्चालन हुने सार्वजनिक सवारी साधन आजदेखि खुल्ने भएका छन् ।

मन्त्रिपरिषद्ले १ असोजदेखि लामो दुरीका सवारी साधन सञ्चालन गर्न अनुमति दिएसँगै यातायात व्यवसायी र मजदुरहरू बिहीबारबाट सार्वजनिक सवारी साधन सञ्चालन गर्न तयार भएका हुन् । सरकारले बिहीबारबाट लामो दुरीका सवारी साधन सञ्चालन गर्न दिने निर्णय गरेपछि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र यातायात सम्बद्ध तीनवटै ट्रेड युनियनका प्रतिनिधिले बुधबार सिंहदरबारमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङसँगे भेट गरेका थिए ।

भेटपछि उनीहरूले सामूहिक विज्ञप्ति जारी गर्दै यातायात सञ्चालन गर्न दिने निर्णयप्रति सरकारलाई धन्यवाद ज्ञापन गरेका थिए ।
यसअघि पनि महासंघ र यातायातसम्बद्ध तीनवटै ट्रेड युनियनले मन्त्री नेम्वाङलाई भेटेर १ असोजदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने व्यवस्था गरिदिन आग्रह गरेका थिए । १ असोजदेखि सवारी साधन सञ्चालन गर्न नदिए एकलौटी रूपमा सञ्चालन गर्ने चेतावनी समेत उनीहरूले दिएका थिए ।

व्यवसायीहरूले बिहीबार बिहानसम्म बस सञ्चालनको कार्यविधि उपलब्ध गराउन पनि माग गरेका छन् । यसअघि मन्त्रिपरिषद्ले लामो दुरीका सवारी साधन खुला गर्दै कार्यविधि बनाउने जिम्मा भौतिक तथा यातायात मन्त्रालयलाई दिएको थियो । बसले सिट क्षमताको आधा मात्रै यात्रु बोक्न पाउने भएकाले तोकिएको भाडादरभन्दा ५० प्रतिशत अतिरिक्त भाडा लिन सक्ने निर्णय भएको छ । सिटबाहेक अन्यत्र यात्रु राख्न पाइनेछैन ।

यात्रुले अनिवार्य रूपमा मास्क प्रयोग गर्नुपर्नेछ । यात्रु चढ्ने समयमा सवारी साधनको ढोकामा र भित्र अनिवार्य रूपमा सेनिटाइजर राख्नुपर्नेछ । चालक र सहचालकले भाइजर, पन्जा र मास्क अनिवार्य लगाएको हुनुपर्नेछ । दैनिक रूपमा बस डिसइन्फेक्ट गर्नुपर्नेछ । उक्त समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन १५ गते, बिहीबार

menu LIVE TV