५० प्रतिशत यात्रु राखेर उडान गर्न नसक्ने हवाई व्यवसायीको भनाइ



काठमाडौं । सरकारले असोज १ बाट आन्तरिक उडान खोल्ने निर्णय गरे पनि वायुसेवा सञ्चालकहरूले ५० प्रतिशत मात्र यात्रु राखेर उडान गर्न नसकिने अडान राखेका छन् ।

सोमवारको मन्त्रिपरिषद् बैठकले असोज १ देखि शुरू हुने आन्तरिक हवाई उडानमा सीट क्षमताको आधा मात्र यात्रु राख्नुपर्ने निर्णय गरेको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बुधवार भएको छलफलमा असोज १ बिहीवारदेखि उडान खुला गर्ने निर्णय सार्वजनिक भए पनि ५० प्रतिशत यात्रु राखेर मात्र उडान गर्न नसकिने जानकारी हवाई व्यवसायीहरूले मन्त्रालयलाई दिएका छन् ।

५० प्रतिशत मात्र यात्रु राखेर उडान गर्ने विषय अव्यावहारिक भएकाले असहमति व्यक्त गरेको वायुसेवा सञ्चालक संघका महासचिव तथा समिट एयरका प्रबन्ध निर्देशक मनोज कार्की बताउँछन् ।

‘पहिलो कुरा उडानको मितिमै अन्योल देखिएको छ । अर्को कुरा विमान सेवा सञ्चालन गर्दा सबै स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरिने भएकाले आधा मात्र यात्रु राखेर उडाउनू भन्नु व्यावहारिक भएन । यसले दोब्बर भाडा बढ्छ । यस्तो अवस्थामा यात्रुले कसरी दोब्बर भाडा तिर्न सक्छन् ?’ उनले प्रश्न गरे ।

लामो समयदेखि बन्द उडान शुरू गर्ने सरकारको निर्णय स्वागतयोग्य भए पनि आधा यात्रु राखेर उडान गर्ने निर्णय असान्दर्भिक रहेकाले सच्याउनुपर्ने कार्की बताउँछन् । त्यसका लागि मन्त्रालयमा आग्रहसहितको पत्र दर्ता गरिएको उनले जानकारी दिए ।

मन्त्रालयले यसअघि तोकिएको भाडादर लिन पाउने गरी सहमति गर्न प्रस्ताव गरे पनि त्यसरी उडान सम्भव नभएकाले स्ट्रोल र ट्रंक रूटमा तत्काल उडान नभर्ने निर्णय भएको संघका प्रवक्ता तथा हेली एभरेस्टका सञ्चालक योगराज कँडेलले बताए । (आर्थिक अभियान)




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन १५ गते, बिहीबार

menu LIVE TV