कुलमानको पक्षमा प्रदर्शन गर्ने युवा कुटिएको भिडियो भाइरल, प्रहरीलाई कारवाही हुन्छ ?



काठमाडौं । कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणमा पुनर्नियुक्तिका लागि व्यापक जनदवाव छ । जनदवाव स्वरुप युवाहरु दैनिकजसो सडकमा उत्रिएका छन् ।

काठमाडौंको विभिन्न स्थानमा निस्किएका युवाहरुलाई प्रहरीले दैनिकजसो कुटपिट, लछारपछार पार्दै आएको भिडियो भाइरल बनिरहेका छन् ।

त्यस्तै आज माइतीघर मण्डलामा पनि एक युवलाई प्रहरीले ‘भाग–भाग’ भन्दै लछारपछार र कुटपिट गरेको दृश्य यतिखेर सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

एक युवालाई धेरै प्रहरीले लछारपछार पार्दै कुटपिट गरेको दृश्य अहिले भाइरल बनेको छ । प्रहरीले अनावश्यक बल प्रयोग गरेकोमा व्यापक आलोचना भएको छ ।

प्रदर्शनमा बब्लु गुप्तालाई प्रहरीले व्यापक रुपमा बल प्रयोग गरेको देखिएको छ । गुप्ता तिनै व्यक्ति हुन काठमाडौंका विभिन्न स्थानमा कपडा बैंकको अवधारणा अघि सारेर कपडा नहुनेका लागि कपडा लिन पाउने व्यवस्था मिलाए । लकडाउनपछि छ महिनायता रत्नपार्कमा नियमित खाना खुवाउने अभियान चलाए ।

आज तिनै अभियन्तामाथि प्रहरीको अभद्र व्यवहारले प्रहरीको व्यापक आलोचना भएको छ । एकादुई व्यक्तिलाई धेरै प्रहरीले गरेको बल प्रयोगले समाजमा नकारात्मक सन्देश गइरहेकोप्रति प्रहरी नेतृत्व भने मौन देखिएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्याम ज्ञवालीले भने प्रहरीले नियन्त्रणमा लिन खोज्न केही बल प्रयोग भएको जस्तो देखिएपनि त्यस्तो नभएको बताए । उनले कुनै कमी कमजोरी भए सुधारे अघि बढ्ने बताए ।

प्रहरी प्रधान कार्यालयले ट्वीटरमा रिप्लाई गर्दै ‘प्रहरी प्रधान कार्यालयले यस घटनालाई गम्भीरतापूर्वक लिएको छ र घटनाको छानबिन हुने व्यहोरा जानकारी गराउन चाहन्छौं’ भनेको छ ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: