प्रहरीको कुटाइ खाने गुप्ता भन्छन्, ‘ओलीको पक्षमा प्रदर्शन गर्न पाइने, कुलमानको पक्षमा किन नपाइने ?’



काठमाडौं । प्रहरीको निर्घात कुटाइ खाने सिराहाका बब्लु गुप्ताले राज्यले विभेद गरेको गम्भीर आरोप लगाएका छन् । लोकतान्त्रिक व्यवस्थामा कसैको पक्षमा प्रदर्शन गर्न पाइने र कसैको पक्षमा नपाइने भन्ने नहुने बताउँदै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पक्षमा गर्न लगाएको प्रदर्शनप्रति प्रश्न उठाएका छन् ।

नागरिकखबरसँग कुराकानी गर्दै उनले राज्यले विभेद गरेको आरोप लगाए । उनले भने, ‘ओलीको पक्षमा प्रदर्शन गर्न पाइने र राम्रो मान्छेको पक्षमा हामीले प्रदर्शन गर्न किन नपाइने ? हामीलाई राज्यले जवाफ दिनुपर्छ । विभेद गर्ने यो कस्तो लोकतन्त्र हो ?’

१०० ग्रुपका संस्थापक गुप्तालाई प्रहरीले हिजो निर्घात कुटपिट गरेपछि प्रहरीको आलोचना भएको छ । उनले भने, ‘भिडियो भाइरल भएका कारणले थप कुटपिटबाट जोगियौँ । हामीले प्रहरीलाई पनि त्यहीँ प्रश्न गरेका थियौँ । ओलीको शब्द सुन्दा नै कुटपिट भयो । एक्कासी प्रहरीले लाठी चार्ज गर्यो । बुट हाम्रो शरीरमा बजार्यो ।’

गुप्ताले नेपालमा राम्रो काम गरेकाले नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको पक्षमा प्रदर्शन गरेको बताए । उनले भने, ‘उहाँले राम्रो काम गर्नु भयो । त्यसैले उहाँको पक्षमा हामीले प्रदर्शन गरेका हौँ । प्रहरीले प्रदर्शन गर्दैमा अश्लील शब्द प्रयोग गरेर कुटपिट गर्यो ।’

गुप्तासहितका प्रदर्शनकारीलाई प्रहरीले भिडियो भाइरल भएपछि हिजो नै छाडेको थियो । उनले भने, ‘भिडियो भाइरल भएपछिमात्रै हामीलाई राम्रो व्यवहार भयो । खुट्टामा चोट लागेको छ । भित्रि चोट देखिएको छैन । प्रहरी कार्यालय भित्र भने राम्रो व्यवहार भयो । हामीलाई कुटपिट गर्नुको कारण राज्यले दिनुपर्छ ।’

गुप्ता संस्थापक भएको समूहले रत्नपार्कमा भोका श्रमिकलाई खाना खुवाउने, कपडा बैंक लगायतका सामाजिक काम गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: