सिन्धुलीको भगवती स्कुलले दियो पाँच महिनाको शुल्क मिनाहा



  • दिपेश थापा

सिन्धुली । सिन्धुलीको एउटा निजी विद्यालयले विद्यार्थी र अभिभावकका लागि सुखद निर्णय गरेको छ । निजी क्षेत्रबाट सञ्चालित जिल्लाकै अग्रणी विद्यालय भगवती माध्यामिक बिद्यालयले शैक्षिक सत्र २०७७ मा बिद्यार्थीबाट लिने पाँच महिनाको शुल्क मिनाहा गरेको जानकारी दिएको छ ।

अभिभावक र बिद्यार्थीलाई यसरी शुल्क मिनाहा गर्ने भगवती पहिलो स्कुल बन्न पुगेको छ । यो स्कुलले जिल्लामै सबैभन्दा पहिला गएको जेठ असार महिनाबाट नर्सरीदेखि अनलाइन कक्षा सञ्चालन गरेको थियो ।

भगवती संचालक समितिका सदस्य रमाकान्त सुबेदीले शुल्क मिनाहाबारे नागरिक खबरलाई भने, ‘ऋण लिएरै भएपनि हामीले शिक्षक कर्मचारीलाई तलब खुवाउने काम गर्यौ । अब पाँच महिनाको शुल्क मिनाहा गर्ने निर्णय गरेका छौ ।’ भगवती स्कुल शैक्षिक उपलब्धिका रुपमा हेर्दा नेपालकै १८ नम्बरमा पर्छ भने बागमती प्रदेशमा ७ नम्बरमा पर्ने सफल स्कुल हो ।

कोरोनाका कारण देशभर लकडाउन हुँदा गएको चैत महिनामा सरकारले निजी शैक्षिक संस्थाहरुलाई एक महिनाको शुल्क छुट दिन निर्देशन दिएको थियो । त्यतिबेला मन्त्रिपरिषद्ले घोषणा गरेको राहत प्याकेजमा माध्यमिक तहसम्मका निजी स्कुलहरुले एक महिनाको आवासबाहेक अरु शुल्क छुट दिनुपर्ने निर्णय गरेको थियो । कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावितहरुलाई राहत प्याकेज सार्वजनिक गर्दै सरकारका तत्कालीन प्रवक्ता समेत रहेका अर्थमन्त्री डा. युवराज खतिवडाले त्यस्तो आग्रह गरेका थिए ।

अन्य क्षेत्र जस्तै कोरोनाका कारण निजी स्कुलहरुले पनि ठूलो आर्थिक नोक्सानी ब्यहोर्नु परेको छ । नेपालमा लकडाउन भएयता अहिलेसम्म निजी स्कुलहरु खुल्न सकेका छैनन । कतिपय स्कुलहरुले शिक्षक कर्मचारीको तलब समेत दिन नसकेको गुनासो छ ।

लकडाउनका कारण बन्द रहेका निजी स्कुलहरुले विद्यार्थीहरुबाट शुल्क लिने नलिने अन्यौलताको स्थिति छ ।

………
विज्ञापन

 

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: