नागार्जुन आइसोलेसन सेन्टरलाई व्यवस्थित बनाउन नेता श्रेष्ठको पहल



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले नागार्जुन नगरपालिका वडा नम्बर १ रानीवनमा रहेको आइसोलेसन सेन्टरलाई थप व्यवस्थित बनाउन आफ्नोतर्फबाट पहल गर्ने बताएका छन् ।

शहरी विकास मन्त्रालयले सुकुम्बासीका लागि निर्माण गरेको भवनलाई सरकारले पछिल्लो दिनमा आइसोलेसन सेन्टरको रुपमा विकास गरेको छ । सो आइसोलेसन सेन्टरको फोहोर र ढल व्यवस्थापन नभएको भन्दै स्थानीयवासीको गुनासो सुनेपछि प्रवक्ता श्रेष्ठले आफूले सरकारलाई आवश्यक जानकारी गराउने र समस्या समाधानका लागि पहल गर्ने बताए ।

स्थानीयवासीले ढल तथा फोहोरको उचित व्यवस्थापन नहुँदा बस्तीमा समस्या परेको प्रवक्ता श्रेष्ठसमक्ष गुनासो गरेका थिए । स्थानीयको गुनासो सम्बोधनका लागि आफूले सरकारी विकास मन्त्रालयलाई आवश्यक ध्यानाकर्षण गराउने बताएका थिए । त्यस अवसरमा उपस्थित शहरी विकास तथा भवन निर्माण विभागका मणिराम गेलाललाई स्थानीयवासीको मागअनुसार समस्याको समाधान गर्न प्रवक्ता श्रेष्ठले आग्रह गरे ।

महानिर्देशक श्रेष्ठले समस्या समाधानका लागि विभागका तर्फबाट आजैदेखि काम सुरु हुने बताए । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले आइसोलेसन सेन्टरलाई स्वास्थ्य मापदण्डअनुसार नै सञ्चालन गरिएको र केही कमीकमजोरी भएको भए सुधार गर्दै थप व्यवस्थित गरिने बताए ।

सो आइसोलेसन सेन्टरमा ५ सय ८० शय्याका लागि स्वीकृति दिइएको भए पनि हाल ३ सय ५८ जना कोरोना संक्रमित रहेका छन् । राष्ट्रियसभाका सदस्यसमेत रहेका श्रेष्ठले पछिल्लो दिनमा कोरोनाबाट प्रभावित नागरिकलाई सहजरुपमा सेवा पु¥याउने लक्ष्यका साथ स्वयंसेवक अभियानसमेत सञ्चालन गर्दै आएका छन् । उनले पिसिआर परीक्षणमा सहजीकरण गर्ने, विदेशमा अलपत्र परेका नागरिकको उद्धार तथा स्वास्थ्योपचारका लागिसमेत सहजीकरण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: