वैज्ञानिकले पत्ता लगाए कोरोनाका असामान्य लक्षण : के के हुन्छ नयाँ लक्षणमा ?



एजेन्सी । कोरोना भाइरसको संक्रमण बढ्दो क्रममा रहेको समयमा यसको लक्षण पनि नयाँ नयाँ आउन थालेको छ । कोरोना भाइरसको संक्रमणले शरीरका विभिन्न अंगमा असर पर्ने गरेको वैज्ञानिकहरुले पत्ता लगाएका छन् । स्वाससँग सम्बन्धित बिरामीलाई यसले छिटो संक्रमण गर्ने भन्ने भनाइमा वैज्ञानिकहरुले शंका व्यक्त गरेका छन् ।

कोरोना भाइरसको संक्रमणपछि मानिसमा ज्वरो, सुख्खा खोकी र स्वास लिन समस्या हुनेबाहेक पनि अन्य लक्षणहरु देखिने गरेका छन् । लक्षण नभएका बिरामीमा पनि असामान्य लक्षण देखिने गरेको बेलायतको राष्ट्रिय स्वास्थ्य सेवाले जनाएको छ ।

कोरोना भाइरसका लक्षण देखिनका लागि २ देखि १४ दिनसम्मको समय लाग्छ । बेलायतले गरेको अध्ययन अनुसार असामान्य खालका लक्षणहरु एक पटक वा पटक पटक वा संक्रमण निको भएपछि पनि देखिन सक्ने देखिएको छ । ती लक्षणहरुलाई सामान्यरुपमा लिन नहुनेमा वैज्ञानिकहरुले जोड दिएका छन् ।

आँखामा समस्या : बेलायतले जारी गरेको एडभाइजरीमा आँखा चिलाउने, रातो हुने वा सुन्निने जस्ता लक्षणहरु देखिन सक्छन् । यो लक्षण कोरोना संक्रमितमा कम मात्र देखिएको छ । अध्ययनमा आँखाको आसपासका नसाहरुमा ठूलो समस्या पाइएको छ । त्यस्तै आँखामा धेरै पानी आउने लक्षण पनि देखिन्छ । यो लक्षण गम्भीर खालका बिरामीमा देखिने गरेको विशेषज्ञहरुले बताएका छन् ।

मस्तिष्कमा असर: कोरोना भाइरसको लक्षण मनोवैज्ञानिकरुपमा पनि देखिने गरेको छ । जसको सिधै असर मस्तिष्कमा पर्ने गरेको वैज्ञानिकहरुले बताएका छन् । यो लक्षण ठिक भएका कोरोना संक्रमितमा पनि देखिने गरेको छ । अध्ययन रिपोर्टमा टाउको दुख्ने र थकानको समस्याले मानिसमा अन्य विभिन्न समस्याहरु देखिएका हुन्छन् ।

लगातार खोकी आउनु : कोरोना भाइरसमा सामान्यतया सुख्खा खोकी लाग्छ । तर, चिकित्सकहरुले लगातार खोकी लाग्यो भने पनि कोरोनाको गम्भीर संक्रमण भएको हुनसक्ने जनाएका छन् । बेलायतको एक सर्भे अनुसार कोरोना भाइरसका बिरामीमा एकदेखि ४ घन्टासम्म पनि खोकी लाग्न सक्ने देखिएको छ ।

छालामा परिवर्तन आउनु: कोरोना भाइरसको असर मानिसको छालामा पनि पर्ने गरेको छ । केही भागमा सुन्निनु र केहीमा रातो हुने खालको लक्षण पनि देखिएको एड्भाइजरीमा देखिएको छ । यस्तो लक्षण खासगरीकन युवा पुस्तामा देखिएको छ । खुट्टामा घाउ देखिनु र रातो डाबर आउने खालका लक्षण पनि देखिन थालेका छन् ।

के गर्ने त ?

कोरोनाको गम्भीर खालका लक्षण देखिएमा पहिल्यैदेखि सतर्कता अप्नाउनु पर्छ । असामान्य खालका लक्षण देखिएमा चिकित्सकलाई सम्पर्क गर्ने र चिकित्सकको सल्लाह अनुसार विभिन्न खालका परीक्षणहरु गर्नुपर्छ ।

सुरुवाती लक्षण भएमा घरमै पनि क्वारेन्टाइन बसेर निको हुनसक्छ । इम्युनिटी पावर बढाउने खालका उपाय अवलम्वन गर्नुपर्छ । यस्तो अवस्थामा चिकित्सकको सल्लाहबाहेक कुनै पनि खालको औषधि सेवन गर्नु हुँदैन । कोरोना संक्रमणले शरीरका विभिन्न अंगमा असर गर्ने भएकाले अन्य अंगमा कुनै समस्या भएका व्यक्तिलाई यो अवस्थामा जटिल स्थितिको सामना गर्नुपर्ने हुनसक्छ ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: