डेरी सञ्चालकको लापर्वाहीले एसिडले जलेका २ वर्षीय बालकको मृत्यु « Nagarik Khabar

डेरी सञ्चालकको लापर्वाहीले एसिडले जलेका २ वर्षीय बालकको मृत्यु



काठमाडौं । एक महिनाअघि एसिडले जलेका २ वर्षीय बालकको उपचारको क्रममा मृत्यु भएको छ ।

कीर्तिपुर अस्पतालमा उपचाररत २ वर्षीय बालक सम्पर्द तिमिल्सिनाको मृत्यु भएको हो ।

काभ्रेको बेथानचोक गाउँपालिका २ का सम्पर्द मंसिर १७ गते एसिडले जलेका थिए । डेरीका लागि दुध संकलनकर्ता नवराज तिमिल्सिना केसीले बियरको बोतलमा राखेको एसिडले बालक जलेका थिए ।

बियरको बोतल घरको सिंढीमा राखेको एसिड खेलाउने क्रममा २ वर्षीय बालक सम्पर्द जलेका थिए । २५ प्रतिशत भाग एसिडले जलेका बालकको आज बिहान निधन भएको अस्पतालले जनाएको छ ।

गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तिमिल्सिनाले मिलाउने भन्दै पीडित पक्षसित न्यायिक समितिमा छलफल भएको थियो । नवराज केसी २ नम्बर वडा सदस्य पनि हुन् । प्रेम र नवराज नातेदार पनि हुन् । त्यसैले पनि उनीहरुले यो घटना मिलाउने कोशिस गरेको देखिएको एसिड विरुद्धको अभियन्ता उज्वलविक्रम थापाले बताए ।

न्यायिक समितिमा छलफल भएको र उपचार खर्च गाउँपालिकाको तर्फबाट दिने भनिएपनि अहिलेसम्म नपाएको मृतक बालकका मामा दिपेश दाहालले बताए ।

बालकको मृत्यु भएपछि बालकका मामा अहिले न्यायिक उपचारका लागि प्रहरी कार्यालयमा पुगेका छन् । उनले भने, ‘भाञ्जालाई बचाउन सकिएन, अब हामीलाई न्याय चाहिन्छ ।’ यसअघि उजुरी लिएर काभ्रे प्रहरीमा पुगेका बालक परिवारको उजुरी नै नलिएको गुनासो छ ।

इलका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाले एसिडसम्वन्धी उजुरी दिनका लागि सुझाएको तर पीडित गाउँपालिका गएर औषधोपचार गर्ने सहमति गरेको जानकारी पाएको बताए ।

लापर्वाहीपूर्ण तरिकाले एसिड राखेको पाइएको भन्दै कारवाही हुनुपर्ने माग अभियन्ता थापाको छ । ‘जथाभावी रुपमा एसिड भण्डारण गर्न पाइँदैन’ उनले भने, ‘एसिड के प्रयोजनका लागि किनियो ? एसिड किन्न इजाजत छ कि छैन ? सबै छानविन हुनुपर्छ । नयाँ कानुनअनुसार कारवाही हुनुपर्छ ।’

अभियन्ता थापाले फेसबुकमा पनि लेखेका छन्, ‘नाबालक जिम्मेवार हुन सक्दैन।तेजाब जस्तो घातक पदार्थ कस्ले गाउँ लाग्यो ? कुन प्रयोजनको लागि लग्यो ? इजाजत प्राप्त छ कि छैन ? छानबिन होस् र लापरबाही गर्नेलाई कानुन बमोजिम कडा कार्वाही होस।’

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: