बागमती सफाइ महाअभियान शनिबारदेखि ४००औँ हप्तामा « Nagarik Khabar

बागमती सफाइ महाअभियान शनिबारदेखि ४००औँ हप्तामा



काठमाडौं । सफाइ जागरणको प्रेरणाको स्रोत बन्न सफल बागमती सफाइ महाअभियान शनिबारदेखि ४ सयऔँ हप्तामा प्रवेश गर्दैछ ।

विसं २०७० जेठ ५ गते तत्कालीन मुख्यसचिव लीलामणी पौडेलको अग्रसरतामा सो अभियान सुरुवात भएको थियो । सुरु भएदेखि आजसम्म प्रत्येक हप्ताको शनिबार बिहान ७ बजेदेखि ९ बजेसम्म ‘दुई घन्टा राष्ट्रका लागि स्वयंसेवा’ भन्ने नाराका साथ अभियानकर्मीले नदीमा सफा गर्दै आएका छन् । यसबीचमा चिसो, गर्मी, भूकम्पको त्रास, कोरोना महामारी, चाडपर्वजस्ता दिन पनि महाअभियान रोकिएको छैन ।

सफाइबाट हालसम्म २० हजार मेट्रिकटन फोहर नदीबाट निकाली व्यवस्थापन गरिएको छ । काठमाडौं महानगरपालिकालगायत स्थानीय तहले फोहर व्यवस्थापन गर्ने गरेका छन् । फोहर व्यवस्थापन गर्ने क्रममा गाडीमा राख्दा नाप गरिएका आधारमा २० हजार मेट्रिकटन फोहर व्यवस्थापन गरिएको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले जनाएको छ ।

सफाइ महाअभियानमा १० लाख स्वयंसेवीले काम गरेका छन् । बागमती सफाइ महाअभियानको उत्प्रेरणाले उपत्यकामा रुद्रमती, विष्णुमती, इक्षुमती, मनोहरा, हनुमन्ते, कोड्कु, गोदावरी, बल्खुखोला, गुह्येश्वरीमाथिको बागमती, तिलगङ्गा, आलोकनगर, सुन्दरीघाट, चक्रपथको पश्चिम, उत्तर र दक्षिण भागलगायत स्थानमा सफाइ अभियान चलेको छ ।

यसैगरी, उपत्यका बाहिर पनौती, जनकपुर, सिराहा, लाहान, झापा, पोखरा, बुटवल, तिनाउ, दाङलगायत गरी देशभर १ सय ६ भन्दा बढी स्थानमा सफाइ अभियान भइरहेको छ । महाअभियान सुरु भएपछि यी सबै स्थानमा सफाइ अभियान सुरु गर्ने प्रेरणा मिलेको हो ।

अभियानले फोहरको स्रोतमै वर्गीकरण गर्न, कुहिने फोहरबाट बायो कम्पोष्ट मल र बायोग्याँस उत्पादन गर्न सहजीकरण गरेको छ । कुहिने फोहरलाई मल बनाएर कौशी खेती गर्न पनि अधिकार सम्पन्न वाग्मतीले उपत्यकावासीलाई प्रोत्साहन गरिरहेको छ । हालसम्म सामुदायिक संस्थाको सहयोगमा करिब पाँच हजार कम्पोष्ट विन कौशी खेतीलाई प्रोत्साहन गर्न वितरण गरिएको अधिकार सम्पन्न वाग्मती समितिका सूचना अधिकारी कमल अर्यालले बताए । उपत्यका बाहिर पनि फोहरको स्रोतमै वर्गीकरणलगायत विधि अपनाउन सुरु भएको छ ।

शनिबार बागमतीको मुहान क्षेत्र सुन्दरीजल र मध्यभाग मीनभवनमा विशेष कार्यक्रम आयोजना गरिँदै छ । सुन्दरीजलमा आयोजना हुने कार्यक्रममा शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर, बागमती प्रदेशसभा सदस्य छिरिङदोर्जे लामा, गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे, कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापा, शङ्खरापुर नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठ, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिक अध्यक्ष उद्धवप्रसाद तिमल्सिनालगायत अभियानकर्मी सहभागी हुनुहने कार्यक्रम संयोजक डा माला खरेलले जानकारी दिइन् ।

यसैगरी मीनभवनमा हुने कार्यक्रममा शहरी विकास मन्त्री प्रभु साह, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ, पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता प्रकाशनमान सिंह, बागमती प्रदेशसभा सदस्यद्वय दीपेन्द्र श्रेष्ठ र गणेश दुलाल, पूर्वमुख्यसचिव एवं अभियानकर्मी पौडेल, मन्त्रालयका सचिव डा रमेशप्रसाद सिंह, काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन, अधिकार सम्पन्न बागमती समितिका आयोजना प्रमुख लगायत अभियानकर्मीको सक्रियता रहने छ ।

सात स्थानमा जनचेतनामूलक अभियान
सोे अवसरमा ‘स्वच्छता हाम्रो पहिचान, सफाइमा मेरो योगदान’ नारा तय गरी विशेष कार्यक्रम आयोजना गर्न लागिएको हो । विशेष कार्यक्रमअघि राजधानीका साँगा भञ्ज्याङ, नागढुँगा, नयाँ बसपार्क, त्रिभुवन विश्वविद्यालय प्रवेशढोका, बालाजु बाइपास, नारायणगोपाल चोक, मीनभवन गरी सात स्थानमा जनचेतनामूलक अभियानसहित सफाइसम्बन्धी पर्चा वितरण र पम्प्लेट टाँसिने छ ।

यसका लागि सातै स्थानमा सफाइ अभियानकर्मीको नेतृत्वमा समूह परिचालन गरिएको छ । अभियानकर्मी क्रमशः नरेश रञ्जित, तारा बहादुर कुँवर, लोक बहादुर टण्डन, राम कुमार श्रेष्ठ, चित्र बहादुर सुनुवार र शोभाकान्त पाण्डेलाई संयोजन गर्ने जिम्मेवारी दिएको छ । ती स्थानमा चल्ने सार्वजनिक र निजी यातायातमा समेत चेतनामूलक पम्प्लेट टाँस गरिने जनाइएको छ ।

बागमती सफाइ महाअभियान विश्वकै लामो अभियान भएको दावीसमेत गरिएको छ । यसैकारण महाअभियानले अन्तर्राष्ट्रिय पुरस्कारसमेत प्राप्त गरेको छ ।

बागमती सफाइ महाअभियान सुरु भएपछि सोचेजस्तो सफाइ नभएको टिप्पणीसमेत हुने गरेको छ । सोचेजति सफाइ नभएपनि सफाइ जागरणमा महाअभियानले महत्वपूर्ण योगदान गरेको छ । नदी, सम्पदा र सार्वजनिकस्थल सफाइमा जनसहभागिता जुटाउन पनि महाअभियानले प्रेरणा दिएको छ ।

महाअभियानले मृतप्राय बागमती र यसका सहायक नदीलाई पुनःजीवन दिएको अभियानकर्मी पौडेल बताउँछन् । महाअभियानको मूल उद्देश्य विशुद्ध स्वयंसेवी भावना र स्वाभिमानको विकास गराउने रहेको छ ।

हामी हाम्रो काम आफैँ गर्न सक्छौँ भन्ने भावनाका साथ राष्ट्र निर्माणमा निस्वार्थ समर्पण हुने युवा जनशक्तिको विकास गर्न पनि महाअभियानले सहयोग गरेको छ । यसलाई सभ्य समाज निर्माण र राष्ट्रिय स्वाभिमानको महाअभियनका रुपमा लिइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: