अब चाहेजति सबैले सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन गर्न सक्ने « Nagarik Khabar

अब चाहेजति सबैले सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन गर्न सक्ने



काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परिक्षा दिंदा अनलाइन आवेदन गर्ने क्रममा हुने झन्झट हट्ने भएको छ । यातायात कार्यालयहरुले अनलाइन प्रणालीलाई अनलिमिटेड बनाउन लागेकाले लाइसेन्स लिन समस्या नहुने भएको हो ।

हालसम्म तोकिए अनुसार मात्रै आवेदन दिन मिल्ने र कोटा सकिएपछि बन्द हुने गरेकोमा अब परिक्षा दिन चाहने सबैले अनलाइन आवेदन दिने प्रकृया मिलाउन लागिएको यातायात व्यवस्था विभागले जनाएको छ।

‘अब इच्छुक सबैले अनलाइन आवेदन दिन सक्नेगरी हामी सिस्टममा केही मोडिफाइ गर्दैछौं’ विभागका महानिर्देशक गोगन बहादुर हमालले भने, ‘सिस्टमले सबै आवेदन लिन्छ, तर लिखित परीक्षा र ट्रायल भने कार्यालयहरुले क्षमता अनुसार विस्तारै लिंदै जान्छन्।’

आवेदन भर्नेहरुका लागि लिखित परीक्षाको मिति तोकिन्छ। लिखित परीक्षा उत्तिर्ण गर्नेहरुले ट्रायलका लागि समय पाउँछन्।

तर अब सबैबाट अनलाइन आवेदन लिने र पालो अनुसार सुरुका आवेदकबाट लिखित र ट्रायल परिक्षा संचालन गर्दै जाने विभागको योजना रहेको हमालले बताए ।

उपत्यकामा भक्तपुरको जगाती, काठमाडौंको ठूलो भर्‍याङ, सुकेधारा, ललितपुरको एकान्तकुना गरि चारवटा कार्यालयमा परीक्षा सञ्चालन हुन्छ। ती कार्यालयहरुमा मोटरसाकल र स्कुटरका लागि तीन सय तथा कार र जीपका लागि दुई सय जनाको कोटा छुट्याइएको थियो। सोही कारण धेरैले आवेदन दिन पाएका थिएनन् ।

विभागका अनुसार लकडाउन हुनुपूर्व लाइसेन्स लिन चाहनेहरुको दैनिक माग नै ७ हजार भन्दा धेरै थियो । गत चैत ११ बाट सरकारले लकडाउन जारी गरेदेखि लाइसेन्सको ट्रायल पनि रोकिएको थियो। बीचमा कर, नवीकरण र नामसारी लगायतको सेवा खुले पनि नयाँ लाइसेन्स लिन चाहनेका लागि सेवा बन्द थियो।

करिब ९ महिना आवेदन लिन नै बन्द भएका कारण धेरै मानिस लाइसेन्स लिनबाट बञ्चित भएका थिए। त्यसैले अब सबैको आवेदन लिने तर कार्यालयको क्षमता अनुसार परिक्षा लिँदै जाने हमालको भनाई छ ।

लाइसेन्सको परिक्षा सञ्चालन गर्न चौतर्फी दवाब आएपछि स्वास्थ्य मन्त्रालयले जारी गरेको मापदण्ड पूरा गरेर पुस १४ गतेदेखि खुलाउने निर्णय भएपनि क्षमताभन्दा आधा मात्रै कोटा तोकिएको कारण अधिकांशले आवेदन नै दिन पाएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: