समुद्री जनावरको ढाडमा ट्रम्पको नाम लेख्ने समाए ५ हजार डलर इनाम (भिडियाे) « Nagarik Khabar

समुद्री जनावरको ढाडमा ट्रम्पको नाम लेख्ने समाए ५ हजार डलर इनाम (भिडियाे)



एजेन्सी । अमेरिकाको फ्लोरिडा शहरमा एक समुद्री जनावरको ढाडमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम लेखिएको पाइएको छ । यो घटना सार्वजनिक भएपछि अमेरिकाको मत्स्य तथा वन्यजन्तु सेवाले यसबारे अनुसन्धान थालेको छ । अमेरिकामा वन्यजन्तु संरक्षण कानूनमा यो समुद्री जीव अत्यन्त दुर्लभ प्रजातिमा गनिन्छ ।

सिट्रस काउन्टी क्रनिकलमा यस विषयमा एक भिडियो अपलोड भएको थियो । भिडियोमा उक्त समुद्री जीव विस्तारै घुमिरहेको देखिएको छ । यस जीवको विशालकाय पिठ्यूमा ठूलो अक्षरमा ट्रम्प लेखिएको प्रष्ट देखिन्छ । यो भिडियो सामाजिक सञ्जालमा अहिले धेरै भाइरल भइरहेको छ ।

एरिजोना बेस्ड सेन्टर फर बायोलोजिकल डाइभर्सिटीले घटनाबारे यथेष्ट जानकारी दिनेलाई ५ हजार डलर इनामको व्यवस्था गरेको छ । यो जीव शाकाहारी जीव हो र आफ्नो विशाल शरीर र शान्त स्वभावका कारण यसलाई समुद्री गाईको उपमा दिइने गरिएको छ ।

अमेरिकाको मत्स्य तथा वन्यजन्तु सेवाका प्रवक्ताले यस घटनाबाट उक्त जीवमा कुनै चोटपटक नलागेको बताएका छन् । अमेरिकी सरकार यी जनावरहरुको सुरक्षाप्रति धेरै नै सचेत रहेको पाइएको छ । पछिल्ला केही वर्षहरुमा यी जनावरको संख्या पनि ह्वात्तै बढेको पाइएको छ । सन् १९९१ मा फ्लोरिडामा यी समुद्री जीवहरुको संख्या १२७६ थियो अहिले बढेर ६३०० पुगेको छ ।

हुनत यसप्रकारको घटना यो पहिलो भने होइन । यसअघि डोनाल्ड ट्रम्पको नाम कुनै जनावरको शरीरमा लेख्ने प्रयास भएको थियो । नर्थ क्यारोलिनामा गतसाल “ट्रम्प सन् २०२०” नामको स्टीकर एक भालुको शरीरमा टाँसिएको थियो । यो घटना सार्वजनिक भएपछि पर्यावरण विशेषज्ञहरुले चर्को विरोध गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: