५ मिनेटमा घर आइपुग्छु भन्दै श्रीमतीलाई फोन गरेका नेपाली सेफको लण्डनमा हत्या « Nagarik Khabar

५ मिनेटमा घर आइपुग्छु भन्दै श्रीमतीलाई फोन गरेका नेपाली सेफको लण्डनमा हत्या



लण्डन । लन्डनमा एक नेपाली सेफको हत्या भएको छ । आइतबार राती करिब साढे १० बजे लन्डन इस्टकोट स्टेशन अगाडि झगडा हुंदा ३५ वर्षीय विक्रम केसीको हत्या भएको नेपलिज सेफ एसोसिएसन यूकेका संस्थापक अध्यक्ष कृष्ण तिमल्सेनाले जानकारी दिए ।

सामान्य भनाभनमा एक २१ वर्षीय युवाले कुटपिट गरेपछि उनको घट्नास्थलमै निधन भएको तिमल्सेनाले बताए । ती युवक अहिले प्रहरी हिरासतमा छन् ।

सोसल ढाबा नामक रेष्टुरेन्टमा काम गरेर फर्किरहेका केसी र ती अपरिचित युवाबीच वादविवादपछि झडप भएको जनाइएको छ । झगडाको कारण भने खुल्न सकेको छैन् । प्रहरीले घट्नाबारे अनुसन्धान शुरु गरेको छ ।

‘आफ्नी श्रीमतीलाई फोन गरेर म ५ मिनेटमा घर आइपुग्छु भनेका रहेछन्’, एनआरएनए युरोप उपसंयोजक समेत रहेका तिमल्सेनाले भने, ‘आधा घण्टासम्म पनि श्रीमान नआएपछि श्रीमती स्टेशनतिर निस्कंदा प्रहरी र एम्बुलेन्स आइसकेका रहेछन् । प्रहरीसंग आफ्ना पतिबारे सोधखोज गर्दा प्रहरीले उनको हत्या भएको पुष्टि गरे ।’

स्टेशनबाट केसीको घर करिब दुई मिनेट दुरीमा अवस्थित छ ।

स्वर्गीय केसी भारत, कुवेत हुंदै सन् २००७ तिर तिमल्सेनाकै पहलमा लन्डन आएका थिए । ‘इण्डो चाइनिज’ खानाका सेफ केसीले भेन्यू ५, ब्लु अर्किड आदि रेष्टुरेन्टमा काम गरिसकेका थिए ।

काठमाडौं घर भएका केसी श्रीमती र भाइ बुहारीका साथ लन्डनमा बस्थे । एकजना निर्दोष साथीको हत्याको खबर सुनेपछि बेलायतका नेपाली सेफहरु स्तब्ध भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: