वडाध्यक्ष कप भलिबलको उपाधि वडा नम्बर ११ लाई « Nagarik Khabar

वडाध्यक्ष कप भलिबलको उपाधि वडा नम्बर ११ लाई



दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ स्थित बराहडाँडामा भएको प्रथम वडाध्यक्ष कप भलिबलको उपाधि शुक्लागण्डकी नगरपालिका–११ राइपुरले जितेको छ । युवा तथा खेलकूद विकास समिति शुक्लागण्डकी–१२ फिरफिरेको आयोजना र वडा कार्यालयको आर्थिक सहयोगमा भएको प्रतियोगिताको फाइनल खेलमा मंगलबार वडा नम्बर १२ ढोर फिरफिरे (क) लाई ११ ले पराजित गरेको हो । २५–१८, २५–१९, २५–२३ को सोझो सेटमा हराउँदै वडा ११ लेउपाधि हात पारेको हो ।

उपाधिसँगै वडा नम्बर ११ ले नगद रु ६० हजारको साथमा कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दोस्रो स्थान हासिल गरेको वडा नम्बर १२ (क) ले रु ३० हजारमा चित्त बुझायो । यसअघि सोमबार भएको सेमिफाइनलमा वडा नम्बर १ थप्रेकलाई हराउँदै ११ फाइनल प्रवेश गरेको थियो । वडा नम्बर ५ बेलचौतारालाई हराउँदै १२ (क) फाइनल यात्रा सुरक्षित गरेको थियो ।

वडा नम्बर १ ले वडा नम्बर ५ लाई २५–१६, २५–१९, २३–२५ र २६–२४ को सेटमा हराउँदै तेस्रो स्थान प्राप्त गरेको छ । तेस्रो हुने वडा नम्बर १ ले नगद रु १५ हजारको साथमा कप, मेडल र प्रमाणपत्र पाएको छ । विजेतालाई वडाध्यक्ष मनराज गुरुङले पुरस्कार वितरण गरे । २८ बजार मेलाको अवसरमा आयोजित प्रतियोगिता आइतरबादेखि सुरु भएको थियो। वडा नम्बर १२ का दुईसहित १० समूह सहभागी भएका थिए । शुक्लागण्डकीका १२ वटै वडाका समूहलाई प्रतिस्पर्धा गराउने उद्देश्यले आयोजित प्रतियोगितामा वडा नम्बर २, ४ र ८ भने सहभागी नभएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: