निर्वाचनको पक्षमा लहर उर्लेको छ : मन्त्री रायमाझी « Nagarik Khabar

निर्वाचनको पक्षमा लहर उर्लेको छ : मन्त्री रायमाझी



काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री टोप बहादुर रायमाझीले परिवर्तनका मुुद्दा र उपलब्धि गुम्ने खतरा भएपछि प्रधानमन्त्रीले रहरले नभइ बाध्यात्मक परिस्थितिका कारण प्रतिनिधिसभा विघटन गरेर निर्वाचनमा जानु परेको स्पष्ट गरेका छन् । रिपोर्टस क्लब नेपालद्वारा बुधबार यहाँ आयोजित साक्षात्कारमा उनले आगामी चुनावबाट जसलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री बन्न इच्छा लाग्नेछ, उनीहरु खुशी भएर नयाँ जनादेशमा जानु पर्नेमा किन अप्ठेरो मानिरहेको भनी प्रश्न गरे ।

मन्त्री रायमाझीले भने, “तीन वर्षसम्म सरकारमा बस्ने अनि, आफू हिँडेपछि प्रधानमन्त्रीलाई पनि ढालेर सडकमा पुर्याउने १ ढुङ्गामुढा र विरोध प्रदर्शन गर्ने, सबैले त्यसो गर्ने भए यो देशको समृद्धि कहाँ जान्छ ? देश र प्रणाली कसले बचाउँछ ?”

निर्वाचन घोषण भएको सुरुवाती दिनमा जनतामा केही अलमल देखिए पनि पार्टीभित्रको विवादबारे स्पष्ट पारिएपछि प्रधानमन्त्रीलाई बाध्य पारिएको रहेछ भन्ने जनताले बुझेका र विस्तारै निर्वाचनको पक्षमा मुलुकभर जनमतको लहर उर्लिरहेको उनले बताए ।

प्रतिपक्ष र नेकपाकै केही नेताले चुनावमा जान हिम्मत नरहेको बताउँदै उनले भने,“केही समयमै सत्य उजागर हुनेछ, जनताले को हो देशको नायक भन्ने कुरा बुझ्नेछन् ।’’ उनले नाकाबन्दी र भूकम्पका बेला राष्ट्रियताको अडान राखेर सुखी नेपाली समृद्ध नेपालको अभियानमा अघि बढेको विषय जनताले हेरेको बताए ।

मुलुकमा विकास र समृद्धिको अभियान अघि बढिरहेका बेला कुनै विचार, राजनीति, योजना, विधि, मापदण्डका आधारमा होइन, पद र प्रतिष्ठासँग जोडेर अनेक विवाद सिर्जना गरी सरकारलाई अप्ठेरोमा पार्ने काम भएको बताउँदै उनले भने, “बेठीक किसिमबाट झगडा र अन्तरविरोध भयो । वैचारिक र देशलाई समृद्धि गर्ने विषयमा बहस भएन । अनि निर्वाचनको कदम चाल्नु पर्यो ।”

मन्त्री रायमाझीले सर्वसम्मत् चयन भएको प्रधानमन्त्रीलाई विनाकारण विशेष अधिवेशन बोलाएर अविश्वासको प्रस्ताव अघि बढाउने उद्देश्यले चालिएको कदम गम्भीर त्रुटी र भूल रहेको टिप्पणी गरे । एक प्रश्नको जवाफमा उनले भने, “कम्युनिष्ट पार्टीकै नेतामा नै पनि देखिएको तडकभडक र राज्यको ढुकुटी उडाउने जस्ता गलत प्रवृत्तिप्रति आफनो सहमति छैन, आफूले त्यसप्रति कहिल्यै रुचि राखिन ।”

परराष्ट्र मन्त्रीस्तरीय नेपाल–भारतबीचका बैठकमा छलफलका लागि रहने एजेण्डामा भैरहवा–गोरखपुर ४ सय केभी प्रसारणलाई पनि रहेको जानकारी दिँदै मन्त्री रायमाझीले भइरहेका संरचनालाई सुधार गर्ने तथा जमीनमुनि विद्युतीय लाइन बिच्छ्याउने कामलाई प्राथमिकता दिइरहेको बताए ।

अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन कम्प्याक्ट(एमसीसी सम्झौता) कार्यान्वयन गर्ने वा नगर्ने भन्नेमा प्रमुख राजनीतिक दलबीच छिट्टै निष्कर्षमा पुग्न आवश्यक रहेको उनको भनाइ थियो ।

यसैबीच नेपाली कांग्रेसका नेत्री सुजाता कोइरालाले संविधानमै प्रतिनिधिसभा एक कार्यकाल पाँच वर्ष तोकिएकाले उक्त अवधि अगावै हुने निर्वाचनको पक्षमा आफनो पार्टी नरहेको स्पष्ट पारेकी छन् । यहाँ आज आयोजित साक्षात्कारमा उनले संविधानको उल्लङ्घन गरी घोषणा भएको निर्वाचनलाई अदालतले खारेजी गर्दै संसद् पुनःस्थापनाको पक्षमा निर्णय सुनाउने विश्वास व्यक्त गरिन् । नेत्री कोइरालाले भनिन्, “हामी कुनै हालतमा पनि अहिले चुनावका पक्षमा छैनौँ, समय अगावै चुनाव गराउने कार्य प्रजातान्त्रिक होइन, संविधानको प्रावधानअनुसार संसद् पुनःस्थापना हुनुपर्छ, विकल्प छैन ।’’

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: