भाबाङलाई पर्यटकीय केन्द्र बनाउन युवाहरुको अभियान सुरु « Nagarik Khabar

भाबाङलाई पर्यटकीय केन्द्र बनाउन युवाहरुको अभियान सुरु



घोराही । रोल्पा जिल्लाको माडी गाउँपालिका ५ भाबाङचौरलाई पर्यटनको केन्द्र बनाउन युवाहरु सक्रिय भएका छन् । भाबाङ चौरमा परापूर्वकालदेखि वर्षेनी ऐतिहासिक मेला लाग्दै आएको छ ।

उक्त मेलामा आसपाका क्षेत्रबाट हजारौँ पर्यटकहरु आउने गरेका छन् । तर, त्यहाँ भौतिक पूर्वाधारको काम राम्रो हुन नसक्दा अपेक्षाकृतरुपमा पर्यटकीय गन्तव्यको रुपमा स्थापित गर्न नसकिएको स्थानीयहरु बताउँछन् ।

अहिले भने युवाहरु आफै सक्रिय भएर भाबाङलाई लुम्बिनी प्रदेशकै पर्यटकीय गन्तव्यहरु मध्य एक गन्तव्य बनाउन तम्सिएका छन् । सिद्धपुजे परोपकारी समाजमार्फत युवाहरु सिद्ध बराह तथा महादेव मन्दिरको निर्माणमा जुटेका छन् ।

‘हामीले भाबाङलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउन खोजेका छौँ’, समाजका अध्यक्ष ताराप्रसाद खत्रीले भने, ‘यहाको ऐतिहासिक पक्षको बारेमा हामीले थप अध्ययन गर्न खोजेका छौँ ।’

भाबाङ धार्मिक पर्यटकीय क्षेत्र मात्र नभएर युद्ध पर्यटनको क्षेत्र पनि हो । तत्कालिन माओवादीले भाबाङचौरबाट नै जनसरकार घोषणा गरेको थियो ।

यसलाई धार्मिक साथै युद्ध पर्यटनको रुपमा स्थापित गर्ने आधारहरु प्रशस्त रहेको युवाहरु बताउँछन् । युद्धको समयमा त्यहाँ सरकारी सेना र जनमुक्ति सेनाबीच ठूलो भिडन्त भएको थियो ।

पहिलो चरणमा २६ लाख रुपैयाँ लागतमा विभिन्न काम सुरु गरिने छ । त्यहाँ ६ फिट अग्लो शिवजीको मूर्ति, पुराना मन्दिरहरुको पुनर्निर्माण र शिवजीको नयाँ मन्दिर स्थापना गरिने अध्यक्ष खत्रीले जानकारी दिए ।

चौरदेखि मन्दिर स्थलसम्म सिढी पनि बनाउन लागिएको छ । स्थानीय सरकारले पर्यटकीय केन्द्र बनाउनका लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

स्थानीय भीमलाल डाँगीले मन्दिर बनाउन आवश्यक पर्ने सम्पूर्ण काठ सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । त्यसैगरी अध्यक्ष खत्रीले ६ फिटको शिवजीको मुर्ति प्रदान गर्ने घोषणा गरेक छन् ।

नेपाल प्रहरीमा कार्यरत कुम्भकर्ण डाँगी र नेपाली सेनामा कार्यरत वमकली खत्रीले आफ्नो एक महिनाको सम्पूर्ण तलब उपलब्ध गराउने घोषणा गरेका छन् । अन्य दाताहरुलाई समेत सक्दो सहयोग गर्न समाजले अपिल गरेको छ ।

समाजले १० हजारभन्दा माथि सहयोग गर्ने दाताहरुको शिलालेखमा नाम लेख्ने घोषणा गरेको छ । त्यसैगरी ५ हजारभन्दा माथि सहयोग गर्नेहरुको नाम डिजिटल बोर्ड स्थापना गरेर मन्दिर सचिवालयमा राख्ने र ५ हजार भन्दा कम आर्थिक सहयोग गर्नेहरुको नाम अभिलेखमा राखिने अध्यक्ष खत्रिले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: