आगलागीबाट ३२ घर जलेर पूर्णरुपमा नष्ट, तीन करोडको क्षति « Nagarik Khabar

आगलागीबाट ३२ घर जलेर पूर्णरुपमा नष्ट, तीन करोडको क्षति



जुम्ला । तिला गाउँपालिका–७ स्थित गोठी गाउँमा भीषण आगलागी हुँदा करीब तीन करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ । आगलागीबाट ३२ घर जलेर पूर्णरुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी युवनकुमार चौधरीले बताए ।

आगलागी भएका घरहरुमा करीब ६४ वटा पशुचौपायाको जलेर मृत्यु भएको वडाअध्यक्ष हस्त बुढाले बताए । सुधारिएको चुलोेको माथिल्लो भागबाट एक घरको छानोमा रहेको घाँसमा आगो सल्किएपछि गाउँभरि फैलिएको वडाध्यक्ष बुढाले बताए ।

आगलागी भएको गाउँमा अहिले नेपाली सेना, नेपाली प्रहरी, सशस्त्र प्रहरी र स्थानीवासीले आगो नियन्त्रणमा लिएको छ । आगलागी भएको गाउँसम्म पुग्न जिल्ला सदरमुकामबाट करीब चार घण्टा लाग्छ ।

काठैकाठका घर बढी भएकाले आगलागी बढेको सो गाउँका स्थानीयवासी बताउँछन् । मानवीय क्षति भने भएको छैन । राहतको लागि कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीसँग समन्वय भएर प्रदेशबाट केही राहतका सामग्री ल्याउने तयारी रहेको गाउँपालिका अध्यक्ष रतनाथ योगीले बताए ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: