विदेशमा हन्डर, फर्किएर भट्टामा « Nagarik Khabar

विदेशमा हन्डर, फर्किएर भट्टामा



महोत्तरी । गौशाला–१० भरतपुरका ३९ वर्षीय जुलमी मुखिया धन कमाउन भनेर ६ वर्षअघि मलेसिया उडेका थिए। तर, वैदेशिक रोजगारीको कमाइले ‘गरिबको बिल्ला’ फेर्ने उनको सपना अधुरै रह्यो । त्यसमाथि विदेश जाँदा लागेको ऋणको बोझले थिचेको छ । उनले तीन लाख ऋण चुक्ता गर्नु त छँदै छ, साँझबिहान हातमुख पनि जोर्नु छ । त्यही भएर उनी अहिले गाउँकै बाबा इँटा उद्योगमाश्रम बेचिरहेका छन्।

‘महाजनबाट १ लाख ३० हजार ऋण लिएर एजेन्टलाई दिएँ । त्यसपछि उसले मलेसिया उडायो । तीन वर्षपछि काम गर्दैगर्दा दाहिने खुट्टा भाँचियो। ठूलो दशा लाग्यो’, उनले भने, ‘त्यहाँ काम गर्नै सकिनँ अनि फर्केर आएँ। खुट्टाको उपचारमै दुई लाख खर्च भयो। पछि आएर बूढीऔंलामा भित्रबाट घाउजस्तो देखापर्‍यो। खुट्टा फुलियो। जँचाउँदा कुष्ठरोग देखियो। एक वर्ष औषधि खाएँ। बल्ल ठीक भएको छु।’

विदेशमा कमाइ गर्दा उनले छोराछोरीलाई बोर्डिङमा पढाउँथे। आम्दानी गुमेपछि सरकारीमा पढाइरहनुपरेको छ। ‘महाजनको ऋण कहाँबाट चुक्ता गर्ने ? छोराछोरीलाई कापीकिताब केले किन्ने ? लत्ताकपडा कहाँबाट लिएर आउने ?’, उनले दुःखेसो पोखे, ‘त्यसका लागि काम त गर्नै पर्छ। दुःख जति खेप्नुपरे पनि इमानदारीमै बाँच्छु।’

इँटाभट्टामा उनी मात्र होइन, उनका नाबालक छोराहरू १० र १२ वर्षका सुजित र अमित पनि काम गर्छन्। ‘दुःखलाई जित्न विदेश गएँ। तर, त्यहाँबाट हारेरै फर्किनुपर्‍यो । अहिले इँटा बनाउने काम गर्दै छु’, उनले भने, ‘भनेअनुसार काम विदेशमा नदिएर एजेन्टले ठग्यो। खुट्टा टुटेपछि भाग्यले पनि छल्यो।’

जुलमी गाउँमा भाले बासेपछि ओछ्यानबाट उठ्छन् । छोराहरू सुजित र अमितलाई उठाउँछन् । टर्च बालेर छोराहरूलाई अगाडि लगाउँछन् । भुइँकुहिरो छिचोल्दै भोको पेटको जोहो गर्न उनीहरू इँटाभट्टामा छिर्छन् ।

सुजित र अमित अघिल्लो साँझ बुवाले मुछेर तयार गरेको गिलो माटो फर्मामा हाल्दै इँटा बनाउँछन् । बिहान साढे ९ बज्दा पाँच सय इँटा तयार पार्छन्। खाना खान हतारहतार घर जान्छन् । जुलमी इँटा उद्योग फर्किन्छन् भने सुजित र अमित पढ्न जनता आधारभूत विद्यालय विषसरपुर जान्छन् ।

जुलमी दिनभर माटो मुछ्न व्यस्त हुन्छन् । दिउँसो ४ बजे स्कुल छुट्टी भएपछि हतारिएर दाजुभाइ बुवालाई सघाउन भट्टामा आइपुग्छन् । उनीहरू साँझ ७ बजेसम्म थप पाँच सय इँटा तयार पारेर घर फर्किन्छन् । शनिबार र स्कुल छुट्टी भएको दिन सुजित र अमितको समय इँटा उद्योगमै बित्छ । ‘गरिबी जीवन छ, के गर्नेरु दिनमा नकमाए साँझ खान पुग्दैन’, उनले भने ।

उनी साक्षर छैनन् । दुई छोरा र छोरीलाई भने पढाउन बल गरिरहेका छन्। सुजित ७ र उनका भाइ ६ कक्षामा पढ्छन् । छोरी पार्वती गौशालास्थित त्रिभुवन माविको कक्षा १० मा पढ्दै छिन् । ‘पढ्न नपाएपछि जीवनमा धेरै दुःख भयो। त्यसैले पसिना बेचेर, पेट काटेर भए पनि छोराछोरीलाई पढाइरहेको छु’, उनले भने, ‘मैले त दुःख भोगें, भोगें, सन्तानले दुःख भोग्नु नपरोस् ।’

माघ—फागुन इँटा बनाउने, पकाउने र बिक्री गर्ने मुख्य सिजन हो । यो इँटा उद्योगमा १५ दिनअघि एक खेप इँटा पकाइ भइसकेको छ। भट्टाबाट पाकेको इँटा निकाल्न कामदार व्यस्त छन् । अरू कामदार पनि वैदेशिक रोजगारीको ‘चोट’ पाएकाहरू नै छन् । उनीहरू पनि नाबालक सन्तानसहित इँटा उद्योगमा कडा श्रम गरिरहेका छन् ।

भरतपुरकै अनितादेवी मुखिया पति सुखरुका लागि खाना लिएर बिहान १० बजे भट्टामा आइपुगिन् । उनले गाउँमा चामलवाला चामल बेच्न आएको सुनाइन्। चामलवालाले ‘बजारभन्दा सस्तो छ, लिइहाल्नुस्। फेरि लकडाउन हुन्छ’ भनेको उनको भनाइ थियो । तर, सुखरुले भने, ‘अब फेरि लकडाउन भयो भने मर्नुबाहेक अरू विकल्प रहँदैन । विदेशजाँदा लिएको ऋण बढेर १० लाख भयो । त्यही तिर्न अहिले इँटाभट्टामा काम गर्नुपरेको छ।’

उनी तीनपटक विदेश गए । ‘तीनपटक नै कम्पनी टुट्यो’, उनले भने, ‘अहिले दिनभर इँटा पथाई गर्दा पनि साहुले मागेको बेला कमाएको रकम दिँदैन। त्यतिखेर लास्टै मन दुख्छ।’

बिहानको १०ः४३ बज्दै थियो ।अर्का स्थानीय धड्कन मुखियाकी पत्नी सविताकुमारी खानासँगै साना छोराछोरी लिएर आइपुगिन् । धड्कन हात धोएर खाना खान लागे । उनीहरूका ५ देखि १० वर्षका चार सन्तानले सुकेका इँटा ओसारेर थाक लगाउन थाले ।

धड्कन पनि विदेशबाट हन्डर खाएर तीन वर्षअघि घर फर्किएका हुन्। कतार गएको १९ महिनामै उनी नेपाल फर्किनुपर्‍यो । ‘कम्पनी नै बन्द भयो । यहाँजस्तो अर्कोमा गएर काम गर्न विदेशमा पाइँदैन’, उनले भने, ‘कर्जा लिएर कमाउन विदेश गएँ, त्यहाँ कमाइ के हुनु ऋण बोकेरै फर्किएँ।’

कम्पनीले काम नदिएपछि खान, बस्न त के पानी पाउन पनि मुस्किल भएपछि घर फर्किनुपरेको उनले सुनाए । ‘हामी गरिबलाई एजेन्टले ठग्यो। राम्रो कम्पनी भनेर पठायो। त्यहाँ पुग्दा भनेजस्तो हुँदै भएन’, उनले भने ।

उनले गत चैतमा भारतको पन्जाब जाने योजना बनाएका थिए । तर, कोरोना भाइरसको महामारीका कारण लकडाउन भएपछि उनी जान पाएनन् । यहाँका स्थानीय प्रायः रोजगारी गर्न ६ महिना भारत पस्छन् र ६ महिना गाउँकै इँटा उद्योगमा काम गर्छन् ।

‘७–८ महिनाको लकडाउनले मर्नु न बाँच्नुको अवस्थामा पुर्‍यायो’, उनले भने, ‘अहिले दिनरात इँटाभट्टामा काम गर्नुपरिरहेको छ।’ दुःख गरेर भए पनि उनले चारै बच्चालाई स्कुल पठाइरहेका छन् ।

धड्कन बोलिरहेकै बेला घुम्टो ओढेर २५ वर्षीया मधु मुखिया इँटा उद्योगमा आइपुगिन् । उनले डेढ वर्षकी छोरी नेहालाई बोकेकी थिइन् । टाउकोमा खाना बोकेकी थिइन्, इँटा पथाई गरिरहेका पति जितेन्द्रका लागि। उनीसँगै पछि थिए, तीन वर्षीय छोरा रामजी ।

जितेन्द्र खाना खाएपछि इँटा बनाउन माटो मुछ्न थाले । मुछेर राखेको माटोमा फर्मा लगाएर उनकी पत्नीले इँटा बनाउन थालिन् । तीन वर्षका रामजी घरी सुकेको इँटा ओसार्थे त घरी पानी जमेको खाल्टो किनारमा पुग्थे । छोरी नेहा आमाछेउ भुइँमा खेलिरहेकी थिइन् ।

कतिपय सुत्केरी महिला नवजात शिशुसहित इँटाभट्टामै रात काट्न बाध्य छन् । नजिकै घर भएकाहरू भने साँझ फर्किने गरेको इँटा उद्योगका मुन्सी अनिल श्रेष्ठले बताए । श्रेष्ठका अनुसार केही परिवार उद्योगमै बस्ने गरेका छन् । ‘ठूलो मान्छे’लाई मात्र काममा लगाउने गरेको उनको दाबी छ। कानुनी रूपमा बालश्रमिक राख्न पाइँदैन ।

‘इँटा उद्योगमा त बालबालिका लानु नै जोखिमपूर्ण हुन्छ । त्यहाँ धूलो, धुवाँको प्रदूषण हुन्छ। त्यसको नकारात्मक असर बच्चाहरूमा पर्छ’, मानवअधिकारकर्मी अजयकुमार साहले भने, ‘राज्यले गरिब बालबालिका र उनीहरूको परिवारका लागि सहयोगका कार्यक्रम ल्याउनुपर्छ।’

गौशालाका मेयर शिवनाथ महतोले बाल संरक्षणमा क्रियाशील संस्थासँग मिलेर तुरुन्त उद्योगमा काम गरिरहेका बालबालिकालाई उद्धार गरिने। ‘इँटा उद्योगमा मैले तीनपटक निरीक्षण गरेको छु’, मेयर महताले भने, ‘म जाँदा कुनै बच्चा काम गरेको भेटिँदैन।’

प्रदेश २ को नीति आयोगको एक प्रतिवेदनअनुसार यहाँ गरिबीको दर उच्च छ। मानव विकास सूचकांक खस्किएको छ। प्रदेश २ मा बहुआयामिक गरिबीको दर ४८ प्रतिशत रहेको नीति आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झाले बताए । ‘गाँस, बास, कपासको समस्या र बिरामी हुँदा उपचार गराउन नसक्ने नागरिक बहुआयामिक गरिबीको सूचीमा पर्छन्’, उपाध्यक्ष डा. झाले भने।

२०६८ को जनगणनाअनुसार प्रदेश २ को जनसंख्या ५४ लाख ४ हजार १ सय ४५ छ। यसमध्ये २५ लाख ९ हजार ३ सय ९८ जना गरिबीको रेखामुनि छन् । अन्नपूर्ण पोष्टमा छापिएको छ

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: