कोरोनाबाट विदेशमा दुई नेपालीको निधन, मृत्यु हुनेको संख्या ३३५ पुग्यो « Nagarik Khabar

कोरोनाबाट विदेशमा दुई नेपालीको निधन, मृत्यु हुनेको संख्या ३३५ पुग्यो



काठमाडौं । कोभिड–१९ को सङ्क्रमणबाट विदेशमा यो साता थप दुईजना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघकाअनुसार यो साता संयुक्त अधिराज्य बेलायतमा दुई जनाको सङ्क्रमणबाट निधन भएको हो । योसहित २१ देशमा कोरोना भाइरस सङ्क्रमणले निधन हुने नेपालीको सङ्ख्या ३ सय ३५ जना पुगेको छ ।

गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक सञ्जीव सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ६० हजार १ सय २१ जना नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये ५८ हजार ४ सय ३२ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुने दर ९७ प्रतिशत छ । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो साता अष्ट्रेलिया, स्पेन, बेलायत, युएई, साउदी अरबमा रहेका थप नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ ।

यस्तै कोरोना भाइरसका कारण नेपालमा दुई हजार ५७ जनाको निधन भएको छ । नेपालमा कोरोना भाइरसबाट सङ्क्रमण हुनेको सङ्ख्या दुई लाख ७२ हजार ६ सय १४ जना छ भने दुई लाख ६८ हजार ९ सय २९ जना अर्थात् ९८ प्रतिशत कोरोनाबाट मुक्त भएको कोभिड–१९ उच्चस्तरीय समिति, गैरआवासीय नेपाली संघका प्रेस संयोजक चिरन शर्माले जनाए ।

धमाधम खोप लगाइँदै
पछिल्लो समय अमेरिकामा पाँच हजारभन्दा बढी नेपाली मूलका समुदायले खोप लगाएका छन् । स्वास्थ्य क्षेत्रमा कार्यरत चिकित्सक, नर्स, ज्येष्ठ नागरिक र पहिले कोराना सङ्क्रमण भइसकेकाहरुले खोप लगाएका हुन् ।

यस्तै बेलायतमा रहेका नेपाली समुदायका एक हजारभन्दा बढीले खोप लगाइसकेका छन् । डा. बोधराज सुवेदीकाअनुसार युरोपमा दुई हजार ५ सय नेपालीले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् । यसैबीच विभिन्न चिकित्सकीय अध्ययनले कोरोनाको नयाँ भेरियन्टको सङ्क्रमणमा पनि हाल बजारमा आएका खोपहरु प्रभावकारी रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: