चरा जस्तै कराउने अनौठो बाघ (भिडियोसहित)

एजेन्सी । रुसको एक चिडियाखानामा रहेको बाघ अहिले निकै चर्चामा आएको छ । चराको जस्तो आवाज निकाल्ने भएकाले यो बाघको चर्चा चुलिएको हो ।
आठ महिना उमेर पुगेको यो बाघ अमुर प्रजातिको हो । खासगरी यो बाघले आफ्नी आमाको ध्यान खिच्न चराको जस्तो मसिनो स्वर निकाल्छ ।
यो बाघ सर्भियाको बरनाल चिडियाखानामा रहेको छ । चिडियाखाना प्रशासनले जनाए अनुसार यो बाघलाई जब आमाको याद आउँछ, तब चराले जस्तै कराउन थाल्छ ।
अनौठो आवाज निकाल्ने यो बाघलाई हेर्न गएका केही मानिसहरुले यसको आवाज बाँदर हाँसेको जस्तो भन्ने प्रतिक्रिया पनि दिएका छन । अहिले यो बाघको भिडियो भाइरल बनेको छ ।
चिडियाखानाका कर्मचारीले बताए अनुसार यो बाघका थुप्रै भाई बहिनीहरु छन । त्यसैले सधैं आमाको ध्यान तान्न यसले चराको जस्तो आवाज निकाल्छ ।
आफ्नी आमा नजिक नआउन्जेल यो बाघ चरा जस्तो कराइरहन्छ । यो बाघ सधैं आफ्नी आमासंग मात्रै रहन चाहन्छ ।
अमुर प्रजातिको बाघ विश्वकै सबैभन्दा ठूलो नश्लको मानिन्छ । यो प्रजाति अहिले खतराको सूचीमा रहेको छ ।
पूर्वी रुसमा यो प्रजातिको बाघको संख्या ६०० मात्र रहेको छ । चोरी शिकारीका कारण अमुर प्रजातिको बाघ संकटमा परेको द साइबेरियन टाइम्सले जनाएको छ ।